तिमी र मेरो बीचका सम्भावनाहरू अनन्त थिए। हामी सँगै हुन सक्थ्यौं, वा टाढा हुन सक्थ्यौं या सायद हामी सँगै नहुन सक्थ्यौ तर यसरी सधैंका लागि अपरिचित पनि बन्ने थिएनौं।
यस्तो पनि हुन सक्थ्यो कि कहिल्यै मन लाग्यो भने म तिम्रो हालखबर सोध्थें, वा तिमी मेरो खबर लिने थियौ वा हामी वर्षको कुनै एउटा दिन भेट्थ्यौं, वर्षभरिका कुरा गर्थ्यौं अनि फेरि आफ्नो-आफ्नो जीवनमा फर्किन्थ्यौं। यस्तो पनि हुन सक्थ्यो कि हामी हरेक हप्ता भेट्थ्यौं, वा कहिल्यै भेट्दैनथ्यौं, तर यसरी छुट्टिने थिएनौं कि जीवनभर एक अर्काको कुनै खबर नै नपाओस्।
यति धेरै अनन्त सम्भावनाहरूको बीचमा हामीले एउटा मात्र सम्भावना रोजेर एकअर्कामाथि जुन अन्याय गरेका छौं, के तिमीलाई त्यो सही लाग्छ? मलाई त लाग्छ, हामीले केवल अलग हुने सम्भावनालाई सत्य बनाउनका लागि बाँकी रहेका सबै सम्भावनाहरूलाई निर्ममतापूर्वक मारिदियौं।
कम्तीमा पनि हाम्रो बीच यति त सम्बन्ध बाँकी राख्नुपर्थ्यो कि यदि कुनै संयोगले कुनै बाटोमा हाम्रो भेट भयो भने, हामी एक अर्कालाई देखेर मुस्कुराउन सक्थ्यौं तर हामीले त मानौं यस्तो संयोग कहिल्यै हुने छैन भन्ने पूर्व निर्णय नै गरिसकेका थियौं। यहाँसम्म कि हामीले “संयोग” भन्ने सम्भावना कै पनि घाँटी निमोठिदियौं।
हामीले सबै कुरा असम्भव ठानेर अलग हुने बाटो रोज्यौं। अलग हुनु आफैंमा ठूलो कुरा होइन, तर यसरी एकअर्काका लागि पूर्ण रूपमा अपरिचित बन्नु कि कहिल्यै यो समेत थाहा नहोस् कि हामी जीवित छौं कि मरिसक्यौं, यो हाम्रो प्रेम माथिको गम्भीर अन्याय थियो।
कुनै दिन मैले तिम्रो लागि सबै सीमाहरु नाघेको थिएँ अनि तिमीले पनि आफ्नो जीवन नै दाउमा राखेर मलाई प्रेम गरेकी थियौ। के हाम्रो प्रेम यत्तिकै मूल्यको थियो? यस्तो अन्त्य कति पीडादायी छ, विशेष गरी त्यतिबेला जब हाम्रो अगाडि अनन्त सम्भावनाहरू थिए। तर ती सबै हुँदाहुँदै पनि हामीले एकअर्काका लागि पूर्ण रूपमा अपरिचित हुने निर्णय गर्यौं र त्यससँगै बाँकी रहेका सबै सम्भावनाहरूको घाँटी निमोठिदियौं….
त्यो जुनेली रात निलाधरको छातीभित्र एउटा अगोचर पीडाको नदी निःशब्द बगिरहेको थियो। शिखर चुरोटको धुवाँ बार्दलीको कुनामा बिस्तारै विलाउँदै थियो र ब्लाक लेबलको त्यो अरुलाइ लठ्याउने चिसो सँगै ऊ आफैंभित्र अझ गहिरो डुबिरहेको थियो। ताराहरू निर्दयी थिए। तिनीहरू आफ्नो उज्यालोले आकाशलाई सजाइरहेका थिए, तर निलाधरको अन्धकारलाई झन् बाक्लो बनाइरहेका थिए।
टाढा कतै कुकुरको भुकाइ रातको सन्नाटालाई दाउरा चिर्ने आरावाल ले झै बिस्तारै चिर्दै थियो। उसले टाउको उठाएर आकाशतिर हेर्यो प्रत्येक ताराहरु एउटा सम्भावना थिए अनि प्रत्येक चमक एउटा हुन सक्ने जीवन। कुनै तारा उनीहरू सँगै थिए, कुनै तारा छुट्टिएर पनि एकअर्काको खबर राखिरहेका थिए, कुनै तारा वर्षको एउटा दिन मात्र भेटेर मुस्कुराइरहेका थिए। तर यो आकाशमा आइपुग्दा ती सबै ताराहरू निभिसकेका थिए अनि बाँकी थियो त केवल एउटा चिसो, निर्जीव उज्यालो।
उसले सिगरेटको अन्तिम सर्को तान्यो र खरानीलाई हावामा सिमलको भुवा उडाए जस्तो गरि छोडिदियो। खरानी केहीबेर चन्द्रमाको उज्यालोसँग लुकामारी खेल्यो र खेल्दै खेल्दै अन्धकारमा विलिन भयो। त्यही क्षण उसलाई लाग्यो, मानिसहरू कहिलेकाहीँ सम्बन्धहरू तोड्दैनन्, उनीहरू सम्भावनाहरूको हत्या गर्छन्। अनि ती सम्भावनाहरू कहिल्यै मर्दैनन्, बरु जीवनभर छातीभित्र भूतझैँ डुलिरहन्छन्, मानसपटलमा हरदम मडारिरहन्छ्न।
उसले कराउन खोज्यो, तर आवाज ..मोहि र भात मुसेर पहिलो गाँस खादा अड्किए झै घाँटी कटक्कै अड्कियो। किनकि केही पीडाहरू यस्ता हुन्छन्, जसलाई आँसुले पनि बोक्न सक्दैन। तिनीहरू रगतसँग मिसिन्छन्, साससँग बग्छन् र मुटुको प्रत्येक धड्कनमा आफूलाई दोहोर्याइरहन्छन्।
रात झन् झन गहिरिँदै गइरहेको थियो । बार्दली उस्तै थियो, चिसो उस्तै थियो, कुकुरहरूको भुकाइ उस्तै थियो। तर निलाधर भित्र केही शान्त भएको थियो। उसले फेरि एकपटक आकाशतिर हेर्यो त्यहाँ एउटा तारा अचानक टुट्यो र अन्धकारमा विलिन भयो।
ऊ हल्का मुस्कुरायो।
सायद सबै सम्भावनाहरू मरेका थिएनन्। केही सम्भावनाहरू मानिससँग बाँच्दैनन्, स्मृतिसँग बाँचिरहन्छन्। केही प्रेमहरू साथमा पुग्नका लागि होइन, मानिसलाई जीवनभर मान्छे बनाइराख्नका लागि जन्मिएका हुन्छन्।
चन्द्रमाले उसलाई निःशब्द हेरिरह्यो। हावाले उसको अनुहार स्पर्श गर्दै शरीरको तापक्रम नापे झै गर्यो अनि निलाधरले बुझ्यो, केही कथाहरूको अन्त्य मिलनमा हुँदैन, केही कथाहरूको अन्त्य स्वीकृतिमा हुन्छ।
उसले खाली गिलास उठायो, एकपटक आकाशलाई निहाल्यो र बिस्तारै भित्र पस्यो।
बार्दलीमा धुवाँ अब थिएन। केवल जुनेली रात बाँकी थियो, जसले एउटा मानिसको अधुरो प्रेमलाई आफ्नो उज्यालोमा सधैंका लागि सुरक्षित राखिदिएको थियो।
