अहिले आएर पुराना कुराहरू सम्झँदा रमाइलो मात्र होइन, उत्सुकता र कौतूहल पनि जाग्छ । यी कुरा हाम्रो पुस्तालाई आफैँ भोगेकाले सामान्य लाग्न सक्छन् । तर, त्यसपछि र अहिलेको पुस्तालाई पुराना कुराहरू रमाइलै लाग्नुपर्छ । त्यति मात्र होइन, कतिपय सन्दर्भ र प्रसंग त उनीहरूका लागि शिक्षाप्रद र मार्गनिर्देशक पनि बन्न सक्छन् ।
विसं २००७ को प्रजातन्त्र त्यत्तिकै आएको होइन, त्यसका पछाडि अनेक कुर्वानी र योगदानहरूका पिरामिडहरू खडा छन् । खास गरी प्रजा परिषदको योगदान त्यस क्रममा उल्लेख्य रह्यो । विसं १९९७ कात्तिक महिनामा प्रजा परिषद्का सम्पूर्णजसो (दुई जनाबाहेक) सदस्य गिरफ्तारीमा परे । म पनि त्यही आन्दोलनका क्रममा पक्राउ परेर ००७ सालको प्रजातन्त्र स्थापनापश्चात् मात्र रहिा भएको हुँ ।
संसार नै नवविचार र नवयुगको चेतनाले आप्लावित भइरहेका बेला नेपालको जहानियाँ शासनले गर्दा नेपाली जनता अन्धकारबाट प्रकाशको खोजीमा आतुर थिए । त्यसैबेला नेपाल प्रजा परिषदका क्रान्तिकारी युवाहरूले मातृभूमिको उत्थानका निम्ति प्राणोत्सर्ग गरेर भए पनि नेपाली जनतालाई ब्यूँझाउन कम्मर कसेर लाग्ने निधो गरे । त्यसै क्रममा हामीजस्ता केही उत्साही युवाहरूले पर्चा छर्दा वा अरू कुनै अवस्थामा कुनै कार्यकर्तामाथि राणाशाहीका आँखा परे भने त्यसबाट बच्ने जुक्ति निकाल्यौँ । अपर्झट जोरजुलुम आइलाग्यो भने आफ्ना अरू साथीहरूलाई बचाउन र आफ्नो उद्देश्यको निरन्तरताका निम्ति आत्महत्या गर्न परे पनि पछि नहट्ने कसम खायौँ । त्यसै क्रममा हामीले आफ्ना साथमा साइनाइडको पुरयिा राखेर हिँड्न थाल्यौँ । त्यसबेला हाम्रानिम्ति साइनाइड भन्नु मुसा मार्ने औषधि थियो ।
१९९७ कात्तिक महिनाको एउटा घटना म जहिले पनि झलझली सम्झिन्छु । त्यस वर्षको आमपक्राउका सिलसिलामा सिंहदरबारको स्कुलघर र पुतली बगैँचामा राखेर हामीलाई कोर्रा, कटक, बिजुलीको करेन्ट लगाउँदै बयान र बकपत्र लिइयो । त्यहाँ त्यस्तो कुनै समस्या आइपरे त्यो औषधि खानुपर्छ भनेर हामी केही युवाहरूले त्यो औषधि बोकेका थियौँ । सिंहदरबार स्कुलघरको एउटा कोठामा ध्रुवप्रसाद दुवाडी, कुलदीपदेव पाठक ‘गोरेल’ र मलाई थुनिएको थियो । त्यस्तै अरू कोठामा अरू साथीहरू थिए । कात्तिक १२ गते रातीको कुरा हो । एकाएक खलबलीका साथ कप्तान-मेजरहरू कोठाभित्र पसे र एक्कासि मलाई उठाएर ‘विषको पुरयिा कहाँ छ ?’ भनी कड्किन थाले । त्यसपछि मेरो बिछ्यौना र शरीरको खानतलासी लिन थाले । केहीबेरको खोतलखातलपछि मेरो सुरुवालको इँजार-घरबाट त्यो पुरयिा निस्कियो र ठूलो खैलाबैला गर्दै हप्काउन थाले । अरू साथीहरूबाट पनि उनीहरूले त्यस्तै पुुरयिा बरामद गरेका रहेछन् । तसर्थ, उनीहरूको मनमा ब्रह्महत्या हुन जाला भन्ने ठूलो डर उब्जेको रहेछ ।
त्यो अति गोप्य कुरा हाम्रै साथीबाटै राणाहरूले थाहा पाए होलान् भन्ने मेरो अनुमान छ । रामजी जोशी (वाक्पतिराज शास्त्री), द्वारकिाभक्त माथेमा (गुण्डाकाजी) र टेकबहादुर मल्लले पोल लगाएको हुनुपर्छ । ती पुरयिाहरू सबै हात लागेपछि उनी (राणा)हरूले एउटा पुरयिा खानेकुरामा मिलाई कुकुरलाई दिएछन्, कुकुर त्यहीँ ठहरै भएछ । त्यसपछि भोलिपल्ट त्यो विष कहाँबाट आयो भन्ने खोजीमा कम्पाउन्डर चन्द्रमान सैंजूलाई शंका गरियो र श्री ५ त्रिभुवनबाट प्राप्त भएको हो कि भनी सैँजूलाई केरकार, पिटपाट, कोर्रा, कटक, बिजुलीको करेन्ट लगाई यातनासमेत दिइयो ।
प्रजा परिषदका तर्फबाट तीनवटा पर्चा छरसिकेपछि काठमाडौँमा ठूलै त्रास मच्चिएको थियो । फेर िकतिखेर पर्चा छर्छन् भन्ने डर राणाहरूमा व्याप्त थियो । यसै क्रममा प्रजा परिषदका कार्यकर्तामाथि चर्को धरपकड चल्यो । सामान्य समर्थकहरू पनि चर्को यातनाको कहर सहन बाध्य भए । कसैलाई बाँकी राखिएन ।
म डिल्लीबजारस्थित आफ्नो घरबाट ज्ञानेश्वर कालोपुलमा रहेको मामाघर गएँ । रामहर िशर्मा पनि त्यहीँ थिए । कात्तिक २ गते चूडाप्रसाद शर्मा पनि हामीलाई भेट्न त्यहीँ आइपुगे । चौथो ‘३ बी’ नम्बरको पर्चा छरेपछिको प्रतिक्रियापछि हामीले सानो गौचरनमा जम्मा भई अरू पनि पर्चा बनाएर छर्ने सल्लाह गर्यौँ । तर, कात्तिक २ गते असनबाट रामहर िशर्मालाई गिरफ्तार गरयिो भने ३ गते राति म र चूडाप्रसादलाई गिरफ्तार गरयिो ।
प्रजा परिषदका तर्फबाट राजधानीमा त्यसअघि नै तीनवटा पर्चा छरसिकेका थियौँ । भदौ २४ गते चौथो पर्चा छर्ने क्रममा हामीले साइनाइड बोक्ने निर्णय गरेका थियौँ । चौथो पर्चामा भनिएको थियो, ‘दाजुभाइहरू, तपाईंहरूमा हिम्मत र सम्मानको अभाव हुनुको मुख्य कारण राणाहरूको दबाब नीतिले गर्दा नै हो । राणाहरूले तपाईंहरूलाई तीन पुस्तादेखि दबाएर राखेका छन् र त्यस्तै प्रभाव पारेका छन्, जसले गर्दा उनीहरूका विरुद्ध तपाईंहरूले कुनै आवाज निकाल्नै सक्नुहुन्न । …राणाहरूका छोराहरू जन्मिँदा नै कर्णेल र जर्नेल हुन्छन् तर बीए पास गरी ४० रुपियाँको जागिरका लागि जनताका सन्तानले प्रत्येक राणाहरूको ढोकाढोका चहार्नुपर्छ, जहाँ चौकीदारले तपाईंहरूलाई धकेलेर राख्छ ।’
प्रजा परिषदले यस किसिमको बेहोराको चौथो पर्चा छरेको दुई-तीन दिनपछि कसैले जुद्धसडक र नयाँसडकको बीचमा रहेको जुद्धशमशेरको सालिकको श्रीपेचमा हिलो मुछिएको फोहोर कागज र रगत लागेका टालाहरू जम्मा गरएिको एक पोका झुन्ड्याइदिएछ । यस घटनापछि राणाहरू झन् छट्पटाउन थाले ।
चौथो पर्चा अलि कडा नै थियो । त्यस पर्चामा अन्त्यमा भनिएको थियो, ‘…बाघको राज्यमा स्यालको रजाइँ ? त्यसैले दाजुभाइहरू हो, सेवाका निम्ति आत्मबलिदान र बहादुरीको आवश्यकता पर्छ । तपाईंले आफू स्वयंलाई त्यसतर्फ अग्रसर तुल्याउनोस् ।’ चौथो पर्चा छरेको चार-पाँच दिनपछि कसैले टुँडिखेलस्थित खरीको बोटमा जहाँ राणाकालीन समयमा परेड हुँदा सबै अफिसरहरू जम्मा हुन्थे, चौथो पर्चा र जुद्धशमशेरको एउटा ठूलो तस्बिरमा मुखमा पुरूष जननेन्द्रीय हालेको तस्बिर टाँसिदिएछ । त्यसपछि त के थियो ! राणाहरू विक्षिप्त नै हुन पुगे ।
नेपाल साप्ताहिक ३५०
