कागजका सादा पानामा
आशाका रंगीन चित्रहरू कोर्दै
असंख्य उपेक्षित आँखा र प्रतिबद्ध मनहरूबाट
उद्देश्यको उकालो उक्लन
शब्दयात्रा आरम्भ हुने गर्छ
भावहरूको पवित्र यात्रामा
शब्दले
भत्केको जीवनलाई छुने गर्छ र
आशाको भरिलो इन्द्रेणी सञ्चार गर्छ
एक्लै एक्लै खुल्न नसकिरहेका
पातला स्वर भएका
बिचरा सुन्दर र समुज्ज्वल अक्ष्ारहरू
शब्दहरूको लहरमा मिलेपछि
भावहरूमा महकिने गर्छन् र
अक्ष्ारको बस्तीभित्र जहिले पनि
शब्दहरूको संयोजन असाध्यै सुहाउने गर्छ
अक्ष्ारहरू शब्द र वाक्य बनेर
उद्देश्यको पवित्र यात्रामा एकोहोरिएपछि
उज्यालोले उज्यालिन नसकेको उज्यालो
उजेलिँदै जाँदो रहेछ ।
नेपाल साप्ताहिक ३५०
