Skip to content


भाषा साहित्यमा कला छ रसिलो धारा बगायौ तिमी
नेपाली दिलमा बस्यौ मनमनै आशा जगायौ तिमी

बग्ने ती सरिता सुधा-रस दिने आनन्द आल्हादका
छन् राम्रा कविता मुनामदनमा बान्की मिलेका कथा ।

बग्ने झर्झर काव्यका घनघटा बाढी हुँदै उर्लिए
छैनन् काँट र छाँटका पदहरू ती भावमा कुर्लिए

एकै रात कुँद्यौ कतै हृदयमा त्यो कुञ्जिनी जन्मियो
‘चिल्ला पातहरू’ कलात्मक बने राष्ट्रियता अन्मियो ।

छायाँवाद कतै रहस्य पथमा स्वच्छन्द यात्रा गर्‍यौ
सिङ्गो साहित्यमा महाकवि तिमी ‘भूतो न भावी’ बन्यौ

शेली हौ गुणकाव्यका लहरमा रुसो र टैगोर हौ
हिन्दी साहित्यका ‘प्रसाद’ पनि हौ त्रिरत्नका सार हौ ।

नौलो मानवता उदार दिलका ज्योत्स्ना बनी चम्कियौ
लेख्यौ काव्य ‘सुलोचना’, कुसुमका पूर्वीय धारा बन्यौ

शैलीमा प्रतिभा विचार खँदिलो उत्कृष्ट छायाँ छवि
हे लक्ष्मी कविता र छन्द रसले मेरो श्रद्धाञ्जलि ।

-गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *