Skip to content

‘पार्वती ?’ प्रेमपूर्ण बोलाहटको भाषामा यसरी नै सम्बोधन गरें मैले उनलाई । पार्वतीले बोकेको वजनदार सुटकेसलाई भुईंमा राख्ने क्रममा निहुरिँदा भुईंमा खसेको चुन्नीलाई सम्हाल्दै आफ्नो वक्षस्थलको आवरण ढाक्न अर्धचन्द्राकारमा ढाल्दै छातीमा लपक्क मिलाएर प्रतिप्रश्न गरिन् । ‘अझ अरू केही भन्नु बाँकी रहेको छ ?’ २ वर्षको लामो अन्तरालपछिको मेरो उपस्थितिले उनको मुखमुद्रामा खुसी बहाल हुनेछ भन्ने आशा सञ्चित गरेको थिएँ । मेरा मनभित्र संग्रहित रहर र चाहनालाई उनको प्रतीक्षित दिव्य रहर उनकै पोल्टामा विसर्जित गरिदिने आशा लिएको थिएँ । उनमा आएको स्वभावगत परिवर्तनले गर्दा म छाँगाबाट खसेको जस्तो भएँ ।

उनले मेरो सबै अनुरोधलाई लत्याएर घर छोडेर जानलाई लिंडेढिपी गरिरहिन् । मैले धेरै नै नम्र भावमा उनलाई सम्झाउने प्रयत्न गर्दै अनुरोध गरें , म कतारबाट घर आएको भर्खर ३ दिन भएको छ आखिर तिमीलाई अहिले नै किन माइत जानुपर्यो ? केही दिनपछि म पनि तिमीसँगै जानेछु, आखिर मैले पनि त भेट्नु छँदैछ तिम्रो बुबा मम्मीलाई । के यो घरमा मेरो उपस्थिति तिमीलाई असजिलो महसुस भएकै हो ? किन यस्तो निन्दनीय व्यवहार गर्छ््यौ पार्वती ? २ वर्षको यो अन्तरालमा तिमीमा यति धेरै अप्रत्यासित आकस्मिक परिवर्तन किन र कसरी आए ? तिमीले भक्कानो छोड्दै आँसुका ढिक्का परेलीका डिलबाट गुडाउँदै मेरो छातीमा लपक्क टाँसिदै रोएको ती बिदाइका अन्तिम घडी बिर्सिएकै हौ त ? के त्यो तिम्रो देखावटी विछोडानुभूतिको नाटकीय प्रदर्शन मात्र थियो ? विदेशगमनको सुरुवाती दिनहरूमा फोनमा रुन्चे स्वरमा निरसिलो र बिरसिलो आवाज बनाउँदै छिट्टो आउनु न है भनेका तिम्रा करुणभावयुक्त अनुनय कहाँ विसर्जित भए ? तिम्रो लोग्ने भएको नाताले यतिका २ वर्षसम्म मैले कमाएर पठाएको पैसा कुन शीर्षकमा खर्च गरियो भनेर मैले यो पनि सोध्न हुँदैनथियो ? मेरा यी प्रश्नले उनलाई कुनै असर नै गरिरहेको थिएन । मानौं कि उनी जडवत् प्रस्तरस्तम्भ हो ।

घर प्रवेश गरेको पहिलो दिन पार्वतीलाई किनेर ल्याइदिएको किमती साडी उनको हातमा थमाइदिँदा उनले साडी लिन गरेको अस्वीकार्य र उपहासजनक कटाक्ष व्यवहारले नै प्रस्ट पारेको थियो कि मेरा प्रेममय मृदु व्यवहार पार्वतीलाई रत्तिभर रुचेको छैन भनेर । ‘यस्तो जाबो साडी बेरेर फाले लगाएको भैंसीले झैं हिँड्नुपर्या छैन मलाई’ भन्दै मठारेको आँखीभौंलाई ४ अम्मल निधारमाथि उचाल्दै कर्के नजरले हेर्दै मुन्टो अन्तै बटारेकी थिइन् । 

घर आएको दिन नै पार्वती रजवती भएको बहाना बनाउँदै अर्को कोठामा सुत्न गएकी थिइन् । उनमा हावी भएको अस्वाभाविक व्यवहारउपर शंका लागेर उनको मोबाइलमा सेभ भएको रिसिभ्ड मेसेज हेरेर उनको व्यभिचारी स्वभावको बारेमा थाहा पाइसकेको थिएँ । अर्थात् मेरो अनुपस्थितिको फाइदा उठाउँदै उनले आफ्नो जीवनसाथी पहिल्यै रोजिसकेकी रहिछन् ।

‘अनि तपाईंको शुभनाम ? अनि के पेसा गर्नुहुन्छ ? पार्वतीलाई तपाईंले वासनाका लागि मात्र प्रेम गर्नुभएको हो कि दीर्घजीवन बिताउने लक्ष्य लिएर उसलाई मन पराउनुभएको हो ? के तपाईं पार्वतीलाई सुखका साथ पाल्न सक्छु भन्ने प्रतिज्ञा गर्न सक्नुहुन्छ ? मेरो अन्तिम प्रश्नले पार्वतीको प्रेमी गम्भीर बन्दै घोसेमुन्टो लगाइरहेको थियो भने पार्वतीको चेहरामा पूर्ण देदीप्यमान कान्ति आवाद भएको स्पष्टता पाएँ । मलाई धोखा दिएर मेरो जीवनलाई खण्डहरमा परिणत गरेर गए पनि तिम्रो नयाँ प्रेमीसँगको बाँकी जीवन सहजसँग बितोस् पार्वती, मेरो यही शुभकामना तिमीलाई ।’

त्यसपछि पार्वतीले आफ्नो गलाको मंगलसूत्र खोलेर मेरो हातमा थमाइदिएर मसँग छुट्कारा पाएको स्वघोषणा गरिन् भने मैले पनि पार्वतीको हात उनको प्रेमीको हातमा थमाइदिएर पत्नीदान गरेको स्वघोषणा गरिदिएर आशीर्वाद दिँदै बिदाइ गरें । पार्वती हर्षको आँसु झार्दै ढोकाको संघारबाट बाहिरिइन् भने म पनि पीडामिश्रति हाँसो पस्किँदै बिदाइका हात हल्लाउँदै आाखाले निखन्न सकुञ्जेल टाढाटाढासम्म ती नवदम्पतीलाई नियालिरहें ।

– दोहा, कतार

कान्तिपुर (कतार संस्करण)
भाद्र २५, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *