तीन वर्ष भएछ ।
हजुर ठ्याक्कै तीन वर्ष भएछ, हामी यस संसारमा आएको । कतिपयहरू यसलाई नयाँ संसार भन्छन् । नरिसाउनु होला, म चाहिँ यसलाई पुरानो संसार भन्न मन पराउँछु । यसैलाई फेर्न त हो हामी त्यति लामो यात्रामा हिँडेको । कतिपयका लागि साँच्चिकै रमाइलो छ यो संसार, झिलिमिली छ-दन्त्यकथामा वणिर्त कुनै सहरजस्तै । कता भोको पेट, कता सुकेको रोटी र नून-खोर्सानी, कता खाली भुइँको बास र कतिबेर जीवन गुम्नुको त्रास !
तर यथार्थ यस्तो पनि छ । अहिले पनि एउटा संसार अँध्यारै छ र मुक्तिका लागि सङ्घर्षरत छ ।
यो पनि फेर्नु र फेरिनुको एउटा क्रमभङ्गता हो । समाज, मानवजीवन र क्रान्ति सबै अन्तर्विरोधका उपज रहेछन् । पुरानो र नयाँबीचको द्वन्द्वकै उपज रहेछौँ हामी पनि । क्रान्ति भन्नु पनि यही नयाँ र पुरानोबीचको द्वन्द्वको हल रहेछ । मूल कुरा पक्षधरता हो । कसको पक्षमा ? गुदी कुरा यसैमा छ । बाँकी कुराहरू यसैसित गाँसिएर आउँछन् । इतिहासको गति र विकास यसैको सेरोफेरोमा केन्दि्रत छ । परिवर्तनका सम्पूर्ण नियमसङ्गतिहरू निश्चित पद्धति र गतिमा क्रियाशील छन् । सबै कुराको तारतम्य मिलेपछि गुलाफ फुलेरै छाड्छ । प्रकृतिका झैँ द्वन्द्वात्मक छ मानवजीवन पनि । यहाँ आकस्मिकता र नियमितता, स्वाभाविकता र नाटकीयता, आवश्यकता र स्वन्त्रताको कलामय द्वन्द्वात्मकता छ र पनि केही कुरा फरक छ । समाज रूपान्तरणको कार्यमा सचेतन र सङ्गठित प्रयास, योजना र दृढ इच्छाशक्तिको अहं भूमिका रहने गर्दछ ।
आवश्यकता र स्वतन्त्रताको महान्, अँ महान् द्वन्द्वात्मकतामा नै दर्शन, विचार, राजनीति र संस्कृतिले ठोस रूप लिएको हो । श्रम-चेतना र व्यवहारबाट राजनीतिका रूपहरूको निर्माण भयो र विकसित भयो पक्षधरताको मूल्य-सिद्धान्त । यसैअनुरूप विश्वलाई हेर्ने, बुझ्ने र ठम्याउने काम भयो । सबै कुराको आधार विश्वदृष्टिकोण नै हो । जीवन र जगत्का परिभाषाहरू यसैअनुरूप बने र विकसित भए । हामीले घोषणा गर्यौँ- ‘दार्शनिकहरूले यस विश्वको व्याख्या मात्र गरेका छन् । प्रमुख कुरा यसलाई फेर्नु हो ।’ विश्वलाई हेर्ने र बुझ्ने सीमा र सन्धिलाई हामीले यहीँनेर भत्कायौँ । हामीले फेर्ने र फेरिने कुरामा जोड दियौँ । हामीले विश्लेषण र संश्लेषण, आवश्यकता र स्वतन्त्रताको महत्त्व र मूल्यलाई थप समृद्ध पार्यौँ ।
हाम्रो सोचाइ, बुझाइ र व्यवहारको केन्द्र फेर्नु रह्यो । अर्थात् भत्काउनु मात्र रहेन, नयाँ निर्माण पनि रह्यो । फेर्नुको अर्थ थियो सुन्दरको निर्माण, नयाँ मूल्यको निर्माण । एउटा प्रेरक शक्तिविना यो सम्भव थिएन । हामीले थप घोषणा गर्यौँ-‘विचार जब मान्छेको मन-मस्तिष्कमा पुग्छ त्यो भौतिक शक्तिमा फेरिन्छ ।’ यो सारै महत्त्वपूर्ण उद्घोष थियो । यहीँबाट सुरु हुन्छ-फेर्नुको सचेतन प्रयास । पदार्थबाट चेतना, चेतनाबाट पदार्थ, आधारबाट अधिरचना, अधिरचनाबाट आधार अर्थात् सिद्धान्तबाट व्यवहार र व्यवहारबाट सिद्धान्त । यही थियो विचार र व्यवहारको विकास र गति । यही थियो र हो सम्पूर्ण समस्या हलको वैज्ञानिक र सशक्त हतियार । फेर्नु र फेरिनुको हतियारलाई हामीले समयअनुसार थप समृद्ध पार्दै लग्यौँ । एकको दुईमा विभाजन, विपरीतहरूको एकत्व र एकता-सङ्घर्ष र रूपान्तरण, यी हाम्रा सशक्त हतियार बने- फेर्नु र फेरिनुको ।
फेर्ने र फेरिने कुरा सरल र सहज छैनन् र थिएनन् । यो प्रक्रिया असाध्यै जटिल र घुमाउरो हुने रहेछ । कहिले त यो चमत्कारी प्रकृतिको पनि हुँदोरहेछ । अझ फेर्ने कुराभन्दा आफैँ फेरिने कुरा झन् जटिल हुने रहेछ । ध्वंस त सजिलो रहेछ, गाह्रो त निर्माण पो हुँदोरहेछ । माओले यसै भएर ‘गोली, सखरको लड्डु र एक खिल्ली सिगरेट’को भनाइ अघि सारेका रहेछन् । साँच्चै हो, दुश्मनको गोलीले नसिद्धिएको कमरेड विष मिलाइएको लड्डु, एक खिल्ली सिगरेट र एउटी केटीको कर्के हेराइले सिद्धिने रहेछ । शान्तिपूर्ण सङ्क्रमणको लडाइँ त झन् पो खतरनाक हुँदोरहेछ । अर्थात् स्वयं आफैँभित्रका विकारहरूलाई समाप्त नपारी, आफैँभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम लडाइँ लडेर तिनलाई परास्त नगरी समाज फेर्ने कुरा पनि गफ मात्रै हुने रहेछ । त्यसैले त गोर्कीले भनेका रहेछन्- “हातलाई सशस्त्र बनाउनुअघि दिमागलाई सशस्त्र बनाउनु पर्दछ ।” हामीले यो पनि भन्यौंँ- “क्रान्तिकारीहरूले सपना देख्नु पर्दछ ।” साँच्चै हो, क्रान्तिको सपना नदेखी फेर्नु र फेरिनुको थालनी हुँदैन । यही सपना देख्नुबाट नै आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा हामफाल्ने क्रम सुरु हुन्छ र सही कुरा के हो भने फोहोरमैलाले भरिएको दिमागले सुन्दर सपना देख्न सक्तैन । यो हाम्रै वरिपरिको यथार्थ हो ।
रूपान्तरण आफैँमा महान् लडाइँ हो- यो हामीले विचार र व्यवहारबाट निकालेको निष्कर्ष हो । सिद्धान्त र व्यवहारलाई बुझ्ने यो एउटा महान् कडी हो । ठीक हो, फोहोर पानीमा राम्रो अनुहार पनि राम्रो देखिँदैन । धमिलो पानीमा कहिलेकाहीँ त कुरूप अनुहार पनि सुन्दर देखिँदो रहेछ । जमेको पानीमा झारपात-पतिङ्गर हुन्छ र जमेको दिमागमा विकृतिहरूको थुप्रो हुन्छ । त्यसैले माओले भनेझैँ जमेको पोखरी ठीक होइन, निरन्तर गतिवान् याङ्त्-से नै ठीक हो । ठीकै हो, छङ्छङ्गी बग्ने प्रवाहमय कणर्ाली नै ठीक हो । आफ्नै दिमागमा रहेको विकृतिका विरुद्ध नलडी आफैँभित्रको शत्रुविरुद्ध विजय प्राप्त गर्न सम्भव छैन । यसैलाई हामीले शुद्धीकरण अभियान भन्ने गरेका हौँ । यसको केन्द्रीयता निरन्तर क्रान्तिको सिद्धान्तसित सम्बद्ध छ । फेर्ने-फेरिने र रूपान्तरणको प्रश्न पनि यसैसित जोडिएको छ । हामीले यसलाई आफ्नो टाउकोमा आफैँले आगो लगाउने अभियान भन्यौँ । अझ हाम्रै सन्दर्भमा हामीले यसलाई क्रान्तिभित्र क्रान्ति गर्ने अभियान पनि भन्यौँ । थाहा छ हामीलाई यो कार्य असाध्यै कठिन र चुनौतीपूर्ण छ । साँच्चै हो, आफैँले आफैँलाई ध्वस्त पारेर नयाँ बनाउने कुरा चानचुने कुरा होइन । त्यसैले होला हाम्रा कतिपय आदर्शनायकका बिम्बहरू हल्लिएको पानीमा प्रतिबिम्बित अनुहारहरूझैँ भएका छन् । अनुहार त उही छ तर अर्कैअर्कै चिज प्रस्टिन्छ ।
इतिहासका परिघटनाहरूलाई जेजे नाम दिए पनि पेरिस कम्युनदेखि यताका महान् विद्रोहहरूसहित नेपाली महान् जनयुद्धको केन्द्रमा सत्ताको प्रश्न नै आधारभूत प्रश्न रह्यो र यो प्रश्न सदैव केन्द्रमा रहिरहने प्रश्न हो । पेरिस कम्युनको असफलताले मार्क्स-एङ्गेल्सको आँखा खोलिदियो । चौतर्फी अधिनायकत्वको सिद्धान्त त्यसै आएको थिएन । इतिहासले प्रस्ट पार्यो-बन्दुकको आडमा टिकेको राज्यसत्ता ध्वस्त पारी जनताको सत्ता स्थापित गर्न जनताले पनि बन्दुक नै उठाउनुपर्छ । सेना नभएको जनतासित केही पनि हुँदैन । यसको सर्वोपरि महत्त्वलाई हामीले पनि सिद्धान्त र व्यवहार दुवै क्षेत्रमा बुझ्यौं । हामीले रूस भोग्यौं, चीन भोग्यौँ र इतिहासबाट शिक्षा लिने कुरा पनि गर्यौ । ‘क्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी’ भन्ने कुरालाई पनि राम्ररी अनुभूत गर्यौँ । क्रान्ति सम्पन्न गर्नुभन्दा जटिल र चुनौतीपूर्ण छ क्रान्तिको सुरक्षा गर्नु र प्रतिक्रान्ति रोक्नु-यो हाम्रो संश्लेषण हो । त्यसैले हामीले एक्काइसौँ शताब्दीको जनवादको अवधारणालाई अघि सार्यौँ ।
ठीक यतिबेर यही कुरा सम्झेर हामी लामो सास फेरिरहेका छौँ-स्वाँ स्वाँ।
महान् जनयुद्धमार्फत हामीले महान् यात्रा आरम्भ गरेकै हौँ । गुमे थुप्रै कुराहरू र प्राप्त पनि भए थुप्रै कुराहरू । घर-परिवार, व्यक्तिगत स्वार्थ र जीवन, आफ्नो भन्नु सबै कुरा गुमाए मान्छेले । ‘जिते संसार, मरे सहिद’ भन्दै सम्पूर्णरूपमा ती होमिए । रिमालको कविताले भनेझैँ हिजोका जनसाधारणहरू महान् वीरहरूमा रूपान्तरित भए । हिमालको काखको सानो देशले दुनियाँलाई आश्चर्यचकित तुल्यायो । सगरमाथाको काखबाट फैलिएको सन्देशले विश्वलाई एकदमै नयाँ ऊर्जा दियो र हामीले सगर्व घोषणा गर्यौँ- हामीले विश्वलाई नयाँ कुरा दियौँ ।अनि यो पनि घोषणा गर्यौँ- हामीले विचार विकासमा नयाँ इँटा थप्यौँ ।
मान्छेले बिर्सिए सबै पीडा र दुःखहरू । कति पीडा हुन्छ पि्रयजनहरू गुमाउँदा र पनि हामीले गर्वका साथ भन्यौँ- महान् जनयुद्ध-जिन्दावाद !π नयाँ सत्ता जिन्दावाद !π नयाँ संस्कृति जिन्दावाद !π तर विडम्बना यो इतिहास भन्ने कुरा त अचम्मको हुँदोरहेछ । माप्पाको हुँदोरहेछ मान्छेको जात पनि । फेर्ने र फेरिने कुरा सुल्टो मात्र हुँदोरहेनछ, उल्टो पनि हुँदोरहेछ । हामीले ‘म’ बाट ‘हामी’ को कुरा गरेका थियौँ । यो त ‘म’ को नाघ्नै नसक्ने पहाड बनेर उभिँदोरहेछ । हामीले वर्गीयताको कुरा बुझेका थियौँ । यहाँ त जातीय, क्षेत्रीय र लिङ्गीयताको डरलाग्दो पर्खाल पो ठडिँदोरहेछ । हामीले सामूहिकता र सर्वहारावादी मानवतावादको कुरा बुझेका थियौँ, यहाँ त व्यक्तिवाद र परिवारवादको डङ्गुर पो थुप्रिँदो रहेछ । सबै कुरा भिन्नभिन्न र अनौठाअनौठा लाग्छ हामी सबै अपरिचित मुलुकबाट आएका मान्छेहरू हौँ र कुनै रेल्वे स्टेसनको प्लेटर्फममा छौँ । किन यसरी भयो मूल्यहरूको स्खलन ? गम्छु, केका विरुद्ध हामी लड्यौँ ? कसका विरुद्ध हामी लड्यौँ र कुन मूल्य-निर्माणका लागि हामी लड्यौँ ?
लड्न त हामी लडेकै हौँ । चौकी, गाउँ, जिल्ला, ठूलाठूला बङ्करहरू कब्जा गर्यौँ । थुप्रै हातहतियारहरू कब्जा गर्यौँ । सामन्त र फटाहाहरूलाई गाउँबाट लखेट्यौँ । जित्यौँ थुप्रै मोर्चाहरू तर यताका दिनहरू हेरेर गम्छु- खोइ हामी त आफैँसित हारेछौँ, आफैँभित्र पराजित भएछौँ । तपाईंभित्रका, मभित्रका, हामीभित्रका दुश्मनहरूलाई आफैँभित्र लुकाएर तिनीहरूसित स्थायी युद्धविराम गरेर, हामीले ठूला मोर्चाहरू जितेको, विजय प्राप्त गरेको, सामन्तलाई ढालेको, सामन्तवादलाई परास्त गरेको होहल्ला मात्रै पो गर्यौँ कि ? आफैँभित्र सामन्तवाद पालेर खोइ कमरेड कसको विरुद्ध लड्यौँ हामी ? केका लागि लड्यौँ हामी ? कस्तो सत्ता निर्माण गर्यौँ हामीले ? भूपीको कविता ‘सधैँसधैँ मेरो सपनामा’ झैँ थुप्रै आँखा र अनुहारहरू युद्धमोर्चाबाट बिउँझेर मलाई थुप्रैथुप्रै प्रश्न सोधिरहेका छन्-“कमरेड कता हो हाम्रो गन्तव्य- यात्रा ?” कति गाह्रा प्रश्नहरू तर पनि सत्य भन्छु, सगर्व भन्छु, हामी लडेकै हौँ । हामीले सामन्तवाद र विस्तारवादविरुद्ध सु्रुङ्युद्ध घोषणा गरेकै हौँ । हामीले बलिदानको महान् इतिहास निर्माण गरेकै हौँ । हामीले विश्वलाई चकित पारेकै हौँ तर अचम्मको हुँदोरहेछ यो युद्ध भन्ने कुरा पनि । एकपल्ट होइन सयौँपल्ट पुनः पुनः, निरन्तरनिरन्तर लड्नु पर्दोरहेछ । बाहिर मात्र होइन, भित्रै पनि निर्मम र निरन्तर लड्नुपर्नेरहेछ । बाहिरीभन्दा भित्री लडाइँ झन् जटिल र पेचिलो हुने रहेछ । समाजमा रहेका दुश्मनभन्दा दिमागमा रहेका दुश्मन झन् डरलाग्दा हुँदारहेछन् । त्यसैले त भनिएको रहेछ-‘जमेको पोखरी होइन, निरन्तर बगिरहने नदी ठीक हो ।’
