Skip to content

नेपालीहरूको महान् चाड बडादसैँ टीका-जमरा लगाई उल्लासका साथ मनाउने चलन छ तर नेपालका कुनै हिन्दूहरूले टीका-जमरा नलगाई बडादसैँ मनाउने गरेको सुन्दा रोचक लाग्न सक्छ । दक्षिण ललितपुरको खोकना गाउँमा टीका-जमरा नलगाई बडादसैँ मनाउने प्रचलन छ । दसैँका बेला गाउँभरि कसैको निधारमा पनि अक्षता र कानमा जमरा देख्न पाइँदैन । यस्तो प्रचलन कहिलेदेखि सुरु भएको भन्ने यकिन छैन ।

यहाँ बरु घटस्थापनादेखि नवमीसम्म गाउँमा रुद्रायणी जात्रा गरी दसैँ मनाउने गरिन्छ । दैनिक जसो राँगाको बलि दिएर मासुभातसहितको भोज नै दसैँ हो भन्ने मान्यता त्यस गाउँका बासिन्दाहरू राख्दछन् ।

खोकनामा धार्मिक जात्रापर्व सञ्चालन गर्ने असङ्ख्य गुठीहरू छन् । रुद्रायणी जात्राका बेला तीमध्ये रुद्रायणी, तः, सना र जम्बु गुठीको भूमिका रहन्छ । प्रतिपदा अर्थात् घटस्थापनाका दिन तः र सना गुठीका चार-चार जना कुमार केटालाई सफासुग्घर गरी गाउँ परिक्रमा गराइन्छ । त्यसपछि उनीहरूले गाउँ बाहिर रहेको सिकाली चौरमा गई पूजाआजा गर्छन् । यो क्रम दोस्रो दिन पनि कायम रहन्छ ।

तेस्रो दिन अर्थात् तृतीयाका दिन गुठीयारहरू दिनभरि व्रत बस्ने गर्छन् । तः, सना र जम्बु गुठी घरबाट तीनवटा राँगालाई बाहिर निकालेर बाखा चौरमा लगेर बलि दिइन्छ । बेलुका सात बजेतिर बलि दिइएका ती राँगाको रगतलाई बोकेर सिकाली चौरमा चढाउन लगिन्छ । त्यसपछि बलि दिइएका राँगालाई गुठी घरमा प्रवेश गराइन्छ । गुठीयारहरूलाई राँगाको प्रसाद बाँडिन्छ र मासुसहितको भोज गरिन्छ ।

चौथो दिन तिनै चार-चार जना कुमार केटाहरू सिकाली चौरमा गएर पूजाआजा गर्छन् । प्रत्येक गुठीघर अगाडि एउटा-एउटा राँगा काटिन्छ । गुठीघरमा राँगाको मासु पकाइन्छ र त्यसलाई सिकाली चौरमा लगेर खाइन्छ । राति गुठीघरमा वीरभद्र (घ्याम्पो) देउता प्रतिस्थापन गरिन्छ र प्रत्येक घरमा छ्योल्बु भोज खाइन्छ ।

पाँचौँ दिन मुख्य जात्रा हुने दिन हो । त्यस दिन रुद्रायणी देउतालाई मन्दिर बाहिर निकालेर खटमा राखिन्छ । प्रत्येक घरबाट रुद्रायणीको पूजा गरिन्छ र भोज खाइन्छ । बेलुकातिर गाँउ विकास समितिबाट उपलब्ध गराइएको एउटा राँगाको बलि दिइन्छ । राती खटमा राखिएका ती देउतालाई बोकेर जात्रा गरिन्छ । देबतालाई सिकाली मन्दिरमा प्रतिस्थापन गरिन्छ । वीरभद्रलाई पनि सिकाली मन्दिरमा लगिन्छ । यस दिन २४ घण्टासम्म जात्रा निरन्तर जारी रहन्छ ।

छैटौँ दिन सिकाली चौरमा सबै गुठीयारहरू भेला हुन्छन् । रुद्रायणी गुठीका ४६ जवान देउता खलकले देवी नाच नाच्छन् । वीरभद्र, महाकालीका रूपमा देउता खलकलाई तान्त्रिक विधिबाट निकालिन्छ । उनीहरू सिकाली चौरबाट नाच्दै गाउँ परिक्रमा गर्छन् । अन्तिममा तः गुठीघरमा रुद्रायणीको मूर्ति राखिन्छ ।
सातौँ दिनमा रुद्रायणी गुठीका ४६ जना देउता खलकका जवानहरूले देउताको बस्त्र धारण गरी क्वेलाछेँमा दिनभरि देवी नाच नाच्छन् । त्यसदिन त्यत्तिमै जात्रा सकिन्छ ।

आठौँ दिनमा तः गुठीघरबाट मूर्ति बाहिर निकाली जात्रा गरिन्छ । रुद्रायणीको मूर्तिलाई रुद्रायणी मन्दिरभित्र पुनः प्रतिस्थापन गरिन्छ ।

अन्तिम दिन अर्थात् नवौँ दिन प्रत्येक घरबाट रुद्रायणी मन्दिरमा पूजाआजा गरिन्छ । कलाकारहरूबाट नाचगान हुन्छ, पूजाआजा गरिन्छ र भोज खाने गरिन्छ ।

गाइजात्राको भोलिपल्ट रुद्रायणी मन्दिरको अघिल्तिर रहेको पोखरीमा पाठी डुबाउने परम्परा छ । मृत पाठीलाई जुन समूहले खोसेर लिन सक्दछ त्यसले रुद्रायणी जात्राका बेला नाटक देखाउनुपर्ने प्रचलन रहेको छ । मनोरञ्जनका लागि नाटक देखाउने गरिए पनि यो अनिवार्य भने हुँदैन ।

श्रीकाली वा सिद्धिकाली वा शिवकालीलाई अपभ्रंस भएर सिकाली भएको बताइन्छ । खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोलले सो गाउँ १३औँ शताब्दीमा बसोबास भएको इतिहास रहेको बताउँदै दसैँका बेला गरिने जात्राको परम्परा कहिलेदेखि सुरु भएको भन्ने पत्तो नलागेको बताउनुभयो ।

खोकनामा बस्ती बस्न दुई सय वर्ष लागेको बताउँदै उहाँ भन्नुहुन्छ- “पशुबलि र मासुभातको भोज भएपछि त्यहँ निै दसैँ होइन र ?”

खोकना बाहिर विवाह गरेका नयाँ पुस्तामा भने टीका-जमरा लगाउन ससुरालीतिर जाने प्रचलन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *