एउटा सस्तो भट्टी पसलमा छौँ – ऋषि दाइ र म ।
ऋषि दाइ मेरा गुरू पनि हुन् अभिभावकजस्तै पनि हुन् र साथी पनि हुन् । हामी एउटा शुक्रबारलाई दोषी बनाएर यहाँ आएका औँ रक्सी खान । प्रायः यस्तै हुन्छ यो रक्सीको मामलो । दोष दिन वा उत्सवले पाउँछ र रक्सी खान्छौँ हामी ।
मूल हाइवेमै जोडिएको छ यो भट्टी । यहाँ सामान्य रिक्सा ठेला चलाउने दाजुभाइदेखि हामीजस्ता क्याम्पस,कलेज पढाउनेहरूसम्म आउँछन्, खान्छन् र जान्छन् । मलाई पहिलोचोटि यहाँ ल्याउने ऋषि दाइ नै हुन् । एकदिन उनले मलाई भने – ‘मावली भाइ आज तिमी जानैपर्नेजस्तो एउटा नयाँ ठाउँमा लान्छु । ल हिँड ।’
यसै पनि म दाइको कुरा काट्न नसक्ने मान्छे । त्यसमाथि हार्दिकतापूर्ण निम्तो त्यो पनि नयाँ ठाउँमा पाएपछि मैले इन्कार गर्ने कुरै भएन र मेरो मोटरसाइकलको पछि बसेर दाइले गाइड गर्दै हामी गन्तव्यमा पुग्यौँ । एउटा टिनले छाएको एकनाले हलजस्तो छाप्रो । ठाउँठाउँमा राखिएको पुराना बेन्च र टेबुलहरू । एकाध कुर्सी । भरिभराउ मान्छे । सुकिलादेखि निकै सामान्यसम्म ।
सुरूमा मलाई अप्ठेरो हैन निकै अप्ठेरो लाग्यो । दिगमिग पनि । के यस्तो ठाउँ ल्याएको होला दाइले भनेर एक मन त र रिस पनि उठ्यो । त्यतिन्जेलसम्म दाइ एउटा बेन्चको छेउमा बसेर अर्कोपट्ट िमलाई बस्न इसारा गर्दै थिए । आफूलाई पढाउने गुरू नै बसिसकेपछि मभित्रको असजिलोपन हट्दै गयो र म पनि बसें एक छेउमा ।
सँगै बेन्चको अर्को छेउमा एउटा पुरानो हाफ पाइन्ट र मैलो जस्तो भेस्ट लगाएका एकजना दाइ बसेका थिए । बाहिर दुईवटा रिक्सा र एउटा ठेला हेर्दै भित्र पसेका कारण ती मान्छे रिक्सावाला या त ठेलावाला हुन् भन्ने बुझ्न मलाई गाह्रो परेन । उनी स्टिलको गिलासमा रक्सी पिएरहेका थिए ।
पल्लो टेबुलमा दुईजना सुकिला मान्छे बसेका थिए । नामले नभए पनि अनुहारले तीमध्ये एकलाई म चिन्थे । ती सानातिना ठेकदार थिए । र कुराहरू सुरू भए –
टेबुल एक/मान्छे दुई ः हो आज त मलाई पनि सारै रिस उठेको छ । तीन घण्टा लगाएर एउटाको डेरा सारेको । मिलाएर दिन्छु भन्थ्यो । लास्टाँ त सय रूपियाँ पो देखाउँछ । मैले तीन सय घटी त मरे पनि हुन्न भनेपछि बल्ल दुई सय दियो ।
टेबुल दुइ/मान्छे एक ः एक आज मन्त्रीमण्डल बिस्तार हुने भनेको हैन ।
टेबुल दुई/मान्छे दुई ः छोड् दे मु…, हामीलाई जो आए पनि के भयो र । सबै उस्तै त हुन् नि ।
टेबुल तीन/मान्छे तीन ः अरूणको मोटरसाइकल हराएछ नि । तैँले थाहाँ पाइस् ?
टेबुल तीन/मान्छे दुई ः यस्तै त हो नि प्रहरी प्रशासन नभएको देशमा ।
टेबुल चार/मान्छे एक ः एक दाई ! एक गिलास ल्याउनु त । चना र माछा पनि हाफ दिनू ।
टेबुल चार/मान्छे दुई ः ओइ छोयला नै खाऊँ न । माछा मलाई मन पर्दैन ।
टेबुल पाँच/मान्छे एक ः आखिर मैले त्यसलाई पट्याएरै छाडेँ नि ! बुझिस् ? साली खुब नखरा गर्थी ।
टुबुल पाँच/मान्छे दुई ः खै यार मलाई त त्यसले कहिल्यै राम्रो आँखाले हेरिन । कहिलेकाहीँ त पागल भएर हिँडूजस्तो लाग्छ । म त जिस्कँदा जिस्कँदै त्यसलाई माया पो गर्न थालेछु ।
टुबेल पाँच/मान्छे तीन ः हा हा हा ! तँ साला त पागलै हुन्छस् ।
जमानाअनुसारको पे्रम गर्न जान्नु पनि त पर्यो नि । हामी हप्ताको एउटा घुमाएर मोज गर्छौँ । हा हा हा !
टेबुल छ/मान्छे एक ः आजकल त अफिसमा पनि पट्यार लाग्छ यार । यसो दुईचार पैसा आउने काम पनि केही हुँदैन । अरू त अरू यो दारू पनि आˆनै पैसाले खानु परेको छ आजकल त ।
टेबुल छ/मान्छे दुई ः मेरो अफिसमा त्यही त हो नि ! अस्ति तीन दिन त बच्चो बिरामी छ भनेर दिनभरि तास खेलेर बसेँ । बेलुका जाँड खाएर फर्केको त अगाडिबाट हाकिम आइरहेको । फुत्त एउटा पसलमा छिरिहालेँ र देखेन । हुनत देखेकै भए पनि के गथ्र्यो र मु………….ले ।
हाम्रो पनि खाने पिउने कुरा आइसकेकोले अरूका कुराबाट ध्यान हट्यो । ठाउँ जस्तो भए पनि खानेकुरा साँच्चै मीठो थियो ।
‘कस्तो लाग्यो त ?’ ऋषि दाइको प्रश्न ।
‘गजब छ दाई ।’ मेरो उत्तर ।
‘अबको सरकारले के गर्ला त दाइ ?’
‘यस अघिका सरकारले जे गरेका थिए, त्यही त हो नि गर्ने । आˆना कार्यकर्तालाई भर्ती गर्छन् । मोज गराउँछन् ।’
‘यो ठाउँ त अचम्मकै रछ नि दाइ !’
‘के हो कठै लेख्ने भयौ कि क्या हो ?’
‘विचार गर्दैछु ।’
र साँझ परेजस्तो हुन लागेपछि हामी बाहिर निस्क्यौँ । भट्टीबाट उज्यालैमा बाहिर ।
शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६
