रेडियो र टेलिभिजनले समाचार प्रसारण गरेदेखि नै मनमा अनेकथरी कुरा खेलिरहे । रातभर िआएका बधाई र चाकडीका टेलिफोनले म हैरान भइसकेको थिएँ । कसै-कसैले होच्याउँदै र गिज्याउँदै पनि फोन गरे । आधा रातसम्म पनि फोनले डिस्टर्ब गरेकाले मोबाइल अफ गरेर सुतेँ । निद्रा कचमचिएकाले पटक्कै आँखा लागेन । मनमा अनेकाँै तरंग चलिरहे । तै बिहानीपख आँखा लागेछन् र आँखाको विष थोरै भए पनि मरेछ ।
लोलाएका आँखा लिएर म कोठाबाट निस्कँदै थिएँ, श्रीमती सामुन्ने आएर ठिंग उभिइन् । “कहिल्यै नदेखेको नौलो मानिस देखेजस्तै गरी क्वारक्वार्ती किन हेरेको ?” मैले दोहोर्याएर सोधेँ । “किन, के भयो ? अफिसबाट फर्किंदा तरकारी ल्याउनुपर्छ कि ?” मैले पुनः सोधें । उनी बोलिनन् । जुत्ता लगाएर खुरुक्क म बाहिर निस्किएँ र मूलगेट खोलेँ ।
“भनेको पटक्कै लाग्दैन । कस्तो एकोहोरो मान्छे ! श्रीमतीले दिएको सल्लाह र सुझाव न मान्नु छ, न त आफ्नै ढंग छ । कालो कोट लगाएर दाजुलाई भेट्न जानोस् भनेको पटक्कै मानेको होइन । यस्ता मान्छेले के प्रगति गर्छन् ? एउटा नाथे प्रमोसन खान नसकेको १५ वर्ष भइसक्यो । प्रमोसन भयो भने तलब त बढ्छ । घर चलाउन अलि सजिलो त हुन्थ्यो । भाडा तिर्न नसकेर लाजैमर्दो भइसक्यो ।” श्रीमतीको कचकच सुनेर म गेटमा टक्क अडिएँ ।
घडी हेरेँ । अफिस जान ढिलो भइसकेको थियो । जुत्ताको तुना बाँध्न बिर्सिएँछु । छिटोछिटो तुना कसेँ । श्रीमतीले फेर िआदेश दिइन्, “अफिस छुटेर खुरुक्क दाजुलाई भेट्न जानू र उहाँको दर्शनभेट गरेर फर्किनू । उहाँलाई भेट नभए भाउजूलाई भए पनि भेटेर प्रफुल्ल मुद्रामा बधाई दिनू ।”
श्रीमती फत्फताउँदै थिइन् । म गेटबाट फुत्त बाहिर निस्किएँ ।
बसस्टप पुग्न पाँच-सात मिनेट लाग्ने बाटोमा आठ-दस जनाले मलाई नियालेर हेरे । अघिपछि बोल्न गाह्रो मान्नेहरूले समेत हात उठाए । कोहीकोहीले नमस्कार पनि गरे । उनीहरूको हेराइ र आदरभाव मलाई बोझिलो लाग्यो । बाटोमा भेटिएका अल्लारे केटाहरूले मलाई देखाएर संकेत गर्दै कुरा गरेको पनि देखेँ ।
अफिस ट्यामको बस, सधँै भीडभाड नै हुन्थ्यो । यदाकदा सिट पाइन्थ्यो, नत्र उभिएरै जानु पर्थ्यो । कोही अपरििचतले मेरो सर्टमा समातेर तान्यो र आफू बसिरहेको सिट छोडिदिँदै भन्यो, “आउनूस् यहाँ बस्नूस् ।” बिनाकारण उसले मलाई गरेको आदर टाउको माथि झुन्डिएको घट्टजस्तै बोझिलो लाग्यो । उसले छोडिदिएको सिटमा बस्न मैले अस्वीकार गरेँ । अरू दुई-चार जना कराउन थाले, “मानको अपमान गर्नु हुँदैन ।”
सबै एकमुख लागे । उसले छोडिदिएको सिटमा म थचक्क बसेँ ।
कोही एक जना मेरोनजिक आएर केही भन्न खोज्दै थियो । त्यही समय कन्डक्टर भाडा उठाउँदै आयो । पकेटबाट पैसा निकाल्न लाग्दा मेरो भाडा अघि मसँग बोल्न खोज्नेले तिरििदयो । मैले दिन खोज्दा मेरो हात छेक्यो र तिर्नै दिएन ।
दुई स्टेप अगाडि मात्र बस पुगेको थियो, अचानक टायर पन्चट भयो । सबैले घडी हेरे, १० बज्न १५ मिनेट बाँकी थियो । बसबाट उत्रिएर हतारहतार सबै आ-आफ्नो गन्तव्यतर्फ लागे । मेरो अफिस टाढै भएकाले छिटो लम्किँदै र कहिले कुद्दै १० बजेर २० मिनेटमा म कार्यालयमा पुगेँ ।
१० बजेर १० मिनेट गएपछि सबैले अनुमान गरेका रहेछन्, आज बलदेव अफिस आउँदैन भनेर । अचानक अफिसमा मेरो प्रवेश देखेर उनीहरूले आपसमा कानेखुसी गर्दै भने, “बलदेवजी आउनु भयो ।” उनीहरू मप्रति आकषिर्त भएको अनुभूति मैले मूलगेटदेखि नै गरसिकेको थिएँ ।
‘ए ! सर त आउनुभयो’ भन्दै पाले-पियनहरूले नमस्कार गरे । अघिपछि उनीहरू वास्तै गर्दैन थिए । समय बदलिएछ । उनीहरू खुसामद गर्दै हाजिर गर्ने प्रशासन शाखासम्म सँगै आए । “प्रधानमन्त्रीको भाइ पो त ! के सानो कुरा हो ? ल भोज खुवाउनूस्,” एकमुख लागेर सबैले फेर िभने, “आजै खानुपर्छ ।”
सुब्बा साबले बोल्दाबोल्दै कसैले बीचमा हस्तक्षेप गरेर भन्यो, “मासुबिनाको भोज खल्लो हुन्छ । ८० जना स्टाफलाई सिंगो खसी नढाली पुग्दैन ।” “खसी पचाउने सिलप्याक झोल पनि चाहिन्छ,” अर्कोले थप्यो । कसैले क्यालेन्डर पल्टाएर हेर्‍यो, “ल बर्बाद भयो । आज त एकादशी परेछ,” उसले चिच्याउँदै भन्यो ।
मेरी बास्सै ! प्रशासन शाखामा पुग्दा त मेरो भव्य स्वागत भयो । सबैले दिएको बधाई र भोज खाने हल्लाले मलाई रंिगटा लाग्लाजस्तै भयो । कर्मचारीहरूको खचाखच भीडमा ठेलमठेल गर्दै हाकिम साहेब आएर मलाई अँगालो मार्दै बधाई दिँदै भन्नुभयो, “बलदेवजी आज तपाईं अफिसमा बस्न भ्याउनुहुन्न होला, पीएम निवास जाने होला होइन ?”
मैले जवाफ दिन नपाउँदै उहाँले फेर िभन्नुभयो, “मेरो गाडी लिएर जानूस्, मैले ड्राइभरलाई भन्दिसकेको छु । कुरा बुझ्नुभयो बलदेवजी ?” टोलाइरहेको मेरो रूपरंगलाई भंग गर्दै उहाँले अलि जोडले भन्नुभयो । मैले टाउको हल्लाएर भनेँ, “बुझें सर ।”
पिसाब लागेको थिएन । तर पनि म शौचालयभित्र पसेँ । पसिनै पसिनाले भिजेको अनुहार चिसो पानीले पखालेँ र तीन-चार मिनेट शान्तपूर्वक आँखा चिम्लिएर विचार गरें । आज अफिसमा बस्नुभन्दा भाग्नु नै जाती । यही निर्णय गरेर म बाहिर निस्किएँ ।
ड्राइभरले जाऊँ सर भन्दै पाखुरामा समातेर डोर्यायो । म लुरुलुरु उसको पछि लागेँ । घुमाउरो भर्याङबाट तल र्झदै गर्दा मैले देखेँ, मेरो पछाडि एक झुन्ड भीड आइरहेको थियो । भीडको सबैभन्दा अगाडि हाकिम साहेब देखिनुहुन्थ्यो । अघिपछि मलाई आत्मीयतापूर्वक सहयोग र माया गर्ने सहकर्मी माथिबाटै नियालिरहेका थिए । उनीहरूमध्ये केहीसँग आँखा जुधे । कसैको मुहारमा पनि खुसी र उमंग देखिएन । मलाई अप्ठ्यारो लाग्यो र म लाजले भुतुक्क भएर निहुरँिदै बाहिर निस्किएँ ।
ड्राइभरले अघिपछि हाकिम बस्ने सिटमै मलाई बसाल्यो । गाडीसम्म पुर्याउन आएका हाकिमले मसँग हात मिलाउँदै भने, “हामी सबैका तर्फबाट प्रधानमन्त्रीज्यूलाई हाम्रो बधाई र शुभकामना टक्र्याइदिनुहोला ।” मैले मौनतापूर्वक टाउको हल्लाएँ ।
अफिस कम्पाउन्डबाट गाडी हुइँकिएपछि मैले ड्राइभरलाई भनेँ, “हामी पशुपति जाऊँ ।” उसले गाडीलाई साइड लगाउँदै सोध्यो, “किन सर ?” “प्रधानमन्त्री भएको दाजुलाई भेट्न रित्तो हात कसरी जानू ? अरूले देख्दा पनि कस्तो सोमत नभएको भाइ भन्लान् । एउटा माला, पशुपतिनाथको चन्दन र पूर्ण कलशको जल लगिदिने मनमा विचार आयो ।”
सरले साह्रै राम्रो विचार गर्नुभयो भन्दै ड्राइभरले गाडी मोड्यो ।
पशुपतिनजिक नवदुर्गाको मन्दिरछेउ पुगेपछि गाडी रोक्न लगाएँ र भनेँ, “ड्राइभरसाप पूर्ण कलशको जल लिँदा ढिलो हुन्छ । भर्खर ११ बज्यो । १ नबजी जल पाइँदैन । तपाईं अफिस र्फकनुहोस्, जल लिएपछि म मोबाइलमा फोन गरौँला ।”
उसले अकमकाउँदै गह्रौँ मनले स्वीकार्दै भन्यो, “फेरि हाकिम सापले मलाई गाली गर्नुहुन्छ कि !”
“म उहाँलाई फोन गरौँला । तपाईं डराउनुपर्दैन, जानोस् ।” मैले यसो भनेपछि मात्र उसले गाडी फर्कायो ।
ड्राइभरसँग छुट्टएिपछि म पशुपतिको मन्दिरतिर नलागी आर्यघाटतर्फ लागेँ र दुई नम्बर चिताको अगाडि गएर उभिएँ । पञ्चधातुले बनेको यही चितामा दुई वर्षअगाडि आमालाई हामीले अन्तिम बिदाइ गरेका थियौँ । अहिले यही चितामा कुनै नवजवान केटो जलिरहेको थियो । खाडी मुलुकमा छ महिना अगाडि काम गर्न गएको ३० वर्षीय लक्काजवान उतै ढलेछ ।
त्यहाँ पनि एक-दुई जना चिनेका अनुहार हात मिलाउन आए र सोधे, “बलदेवजी आज तपाईं किन यता ?” उनीहरूलाई टालटुले जवाफ दिएँ । अलि पर मलामीहरू आपसमा कुरा गर्दै थिए । सत्ता र कुर्सी भनेपछि नेताहरू कुनै लाज र घीन मान्दा रहेनछन् । मलाई नै सुनाउन आपसमा खासखुस गर्दै अर्कोले भन्यो, “जनताले अस्वीकार गरेकालाई राष्ट्रले कसरी स्वीकार गर्छ ? म ठोकेर भन्छु, यो सरकार छ महिना पनि टिक्दैन ।”
“यस्तै हो, देश र जनताका नाममा नेताहरूले आफ्नै सपना, इच्छा र रहर पुर्याउने भए,” अर्को कसैले टिप्पणी गर्‍यो ।
जुन कुरा सुन्नुपर्ला भनेर म भागीभागी हिँडेको थिएँ, तिनै कुरा मैले सुन्नुपर्‍यो । धिक्कार ! मनले आफैँलाई धिक्कारेँ । अरू थप सुन्न नपरोस् भनेर त्यहाँबाट भागेँ र किराँतेश्वरमा गएर बसेँ । म त्यहाँ पुग्दा कोही थिएन । चकमन्न र सुनसान थियो । भित्र कुटीमा बसेको जोगी मध्याह्नको पूजापाठमा ध्यानमग्न थियो । छहारीमुनिको बेञ्चमा बस्दाबस्दै मेरा आँखा लागेछन् ।
“बाबु तँ किन यस्तो एकोहोरो भएको ? जमाना र युग अनुसार चल्न पटक्कै जानिनस् बाबु तैँले,” मेरो सामुन्ने कोही आएर बोलिरहेको थियो ।
“ओहो ! आमा पो हुनुहुँदो रहेछ । किन केही खबरै नगरी आउनुभयो नि आमा ?” मैले उहाँलाई ढोग गर्दै भनेँ । “आएँ नि बाबै आएँ तेरो माया लागेर आएँ,” उहाँले मेरो टाउको मुसार्दै भन्नुभयो ।
“बाबु कान्छा ! यो संसारमा धेरै कुरा बदलिए । नेपालमा पनि ठूल्ठूला परविर्तन भए । काजीका छोरा पाजी भए, पाजीका छोरा काजी भए । जितेकाले हारे, हारेकाले जिते । परविर्तनशील संसारमा समयले नै यस्ता परविर्तनलाई विस्तारै पचाउँदै छ । तर, तँ किन परविर्तन भइनस् बाबु ? सिद्धान्त र निष्ठाको कुरा मात्र नगर ।”
मैले उहाँको कुरा नरुचाएको देखेर बोल्दाबोल्दै आमा डाँको छोडेर रुन थाल्नुभयो ।
उहाँ रोएको देखेर मैले मन थाम्न सकिनँ र म पनि रुन थालेँ । म रोएको देखेर आमा झनै डाँको छोडेर ठूलो स्वरले रुन थाल्नुभयो । हाम्रो रुवाबासी अरूले थाहा पाउलान् भन्ने डरले आफ्नो मनलाई सम्हाल्दै आमालाई मैले सम्झाउन थालेँ, “आमा नरुनोस्, रुनुु हुँदैन । हामी आमा छोराले मन कमजोर बनायाँै भने अरू दुनियाँले हामीलाई हेप्छन् । आमा तपाईंको भित्री मनले दिएको अर्ती म स्वीकार गर्छु । म मान्छु ।” उहाँलाई सम्झाउँदै र फकाउँदै मैले भनँे ।
“बाबु कान्छा ! पानीमा चोट लाग्दैन भन्छन् । दाजुभाइ भएपछि झीनामसिना कुरामा मन दुखाउनु हुँदैन । गाई भए गोरस, भाइ भए भरोस् पुर्खाले भनेको यो उखान तेरो दाजुलाई सुनाउँछु ।” उहाँले मेरो हात तान्दै भन्नुभयो, “ल हिँड् दाजुको घरमा हिँड् ।”
दाजुको बदलिँदै गएको लोभीपापी स्वभावको बारेमा आमालाई मैले बताउन खोज्दा उहाँले मेरो मुखमा ओढिरहेको मजेत्रोको बुजो बनाएर कोचिदिनुभयो र मलाई बोल्नै दिनुभएन । विदेश भ्रमणमा गएका बेला दाजुले पुट्टपर्तीबाट ल्याएको पस्मिनाको महिलो मजेत्रोले मेरो आँखासमेत छोपिदिनुभयो ।
उहाँले पाखुरामा समातेर घिच्याउँदै दाजुको अगाडि मलाई पुर्याउँदै भन्नुभयो, “आफ्नाले आफ्नैलाई सहयोग नगरे कसले गर्छ ? मौकामा हीरा फोड्नु बेमौकामा कौडी नछोड्नू भनेर मेरा ससुराले भन्नुहुन्थ्यो ।”
आमाको कुरा दाजुले झट्टै बुझ्नुभएन र सोध्नुभयो, “आमा के कुरा हो ? भन्नुहोस् न !”
“छोरा जसरी तैँले आफ्नो रहर पूरा गरसि्, मेरो पनि मनको रहर यो दुखिया तेरो भाइलाई सानै पोस्टको भए पनि मन्त्री बना !”
आमाले कडा ढंगले दाजुलाई आदेश दिनुभयो । निकै समय घोरएिपछि दाजुले आमाको मुखतिर हेर्दै कुटिल हाँसो हाँस्दै भन्नुभयो, “तपाईंको इच्छालाई कुनै न कुनै ढंगले व्यवस्थापन गरौँला नि आमा !”
दाजुले कूटनीतिक पाराले जवाफ दिएको सुनेर आमाले झोक्किँदै मेरो मुखतिर हेर्दै भन्नुभयो, “जनताले पनि मन्त्री बन्नुहुन्छ । तँ पनि जनता नै त होस् । ल जा अहिले नै गएर कालो कोट लगाएर आइज !” उहाँले मलाई जोडले घचेट्दै भन्नुभयो ।
सुतिरहेको बेञ्चबाट म डंगरंग तल खसेँ र ब्युँझिएँ ।

नेपाल साप्ताहिक ३५६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *