Skip to content

अमेरिका र टोपी किस्सा

  • by


चार भिन्न रङका टोपी भए अमेरिका जाँदा । लुगाप्रति विशेष अनुराग नभए पनि विदेशमा टोपीको पहिचानले आत्मियता जगाउँछ भन्ठानी टोपीहरू चार थान बोकेको थिएँ । वास्तवमा यही एउटा खास चिनारी त छ हाम्रो पोशाकको ।
अमेरिका बसुन्जेल टोपीका केही अनुभवहरू रहे । तीता-मीठा अनेक छन् तोपीका अनुभव र अनुभूति मेरा ।
डिसेम्बरको डरलाग्दो जाडो । बेस्सरी हिउँ पर्दैछ । म भर्जिनियाको स्पि्रङफिल्डमा थिएँ । कालो ऊनको हाते बुनोटको टोपी लगाएको थिएँ । सिन्धुपाल्चोकतिरका एक शेर्पा युवक भेटिए । तिनले साह्रै हत्ते हाली भने -‘मेरो नेपालको चिनो क्यै छैन । यस्तो टोपी मेरो गाउँमा निकै बुन्छन् । पाँच डलरमा बेच्नु न मलाई ! म तपाईंको गुन बिर्सिन्न !’
दरभाउ मिल्यो उनले सात डलरमा किने मेरो कालो टोपी । माओवादी पीडितका नाममा राजनीतिक शरणार्थीका रूपमा बसेका रहेछन् अमेरिका । अर्को दिन उनले भने – ‘वकिललाई बुझाउने राम्रो प्रमाण एउटा जुट्यो ।’
एकदिन सुदीप गुरुङले हार्डफोर्ट कन्ट्री लगे । त्यहीँ भेट भयो – हेटौंडाका भवनारायण रेग्मीसँग तिनी पाकिस्तानीको ग्यास स्टेशनमा काम गर्थे र तिनीहरूसँगै मिलेर बस्दा रहेछन् । मेरो टोपी देख्ने बित्तिकै भने – ‘मलाई यै टोपी देखेर नेपाली हिन्दु भनेर हैरान गरेका छन् । बिफ खा, खा भनेर आजित पारेका छन् । यो टोपी लाएर आउनु भयो, अब तपाईंको नि खैरियत छैन ।’
वास्तवमा म काम खोज्न त्यहाँ गएको थिइनँ साथीको सामान लिन गएको थिएँ । रेग्मीको कुराले भयानक नमीठो लाग्यो ।
अमेरिकामै छँदा एउटा बिहेको निम्तो पाइयो । नेपाली सिनेमाका एक प्रख्यात निर्देशककी छोरीको बिहे भोज वासिङ्गटन डिसीमा भएथ्यो । नेपालीहरू भेला हुने त्यस समारोहमा मैले टोपी लगाएर गएँ । नख्खुका कैदीले बुनेको बुट्टे टोपी ।
त्यहाँ टोपी लाउने कोही देखिएनन् । सबै मलाई पल्याकपुल्क हेर्थे । दुलाहा, दुलहीका बाबु कसैका शिरमा नेपाली टोपी थिएन । यसो नजिक भएर केहीले सोचे – ‘भर्खर आउनु भएको हो कि ?’ तिनको सोधाइबाट लाग्थ्यो – म पाखे हुँ, ती सभ्य हुन् ।
एउटा गोरेले गुडाउने ट्रलीमा क्यामेरा वरपर गुडाई खुब खिचिरहेथ्यो फोटो । विभिन्न शैलीका टोपीमय मुद्रा थुप्रै खिच्यो मेरो पनि, उसले मलाई त्यो क्षण आफैंले मात्र टोपी पहिरिएकोमा घोर असजिलो लाग्यो ।
बिदा हुने बेलामा गोरेले भन्यो – कति राम्रो टोपी ! साहै्र सुहाएको छ, बेहुलाजस्तो राम्रो अघिदेखि चामि्रएको मेरो मन थोरै भए पनि फुक्यो ।
विजय श्रेष्ठले एकदिन वासिङ्गटन डिसी घुमाए । मैले बुट्टे टोपी लगाएको थिएँ । तिनले भने – ‘नाइन इलेभेनको घटनापछि निकै नेपालीहरू समेत पुलिसको पक्राउमा परे । मुस्लिमको टोपी र नेपालीको टोपी उस्तै भएकाले यस्तो भएको हो । त्यतिबेलैदेखि मैले टोपी लाउन छोडें !’
‘डिसीमा पुलिसका आँखा अलिक चनाखा छन् ।’ श्रेष्ठले भनेपछि मैले टोपी पट्याएर पाइन्टमा घुसारें ।
मेरील्याण्ड बस्दा निकै घुमियो । विद्यार्थीहरू निकै थिए । एकदिन लुथरमिल गएँ म । तीन चार महिलाहरू सामान किनेर जाइन्टबाट फर्किरहेका थिए । तिनले मुस्लिम भाषामा प्रणाम भनेका थिए । फर्किंदा रतन सुवेदीसँग भेटमा । हामीसँग सुवेदी आए । सुवेदीलाई मैले लगाएको टोपी देखाएर सोधे – ‘यो मान्छे अफगानी हो ?’ नेपाली टोपी अफगानिस्तानको जस्तो पनि रहेछ क्यारे ! ओखलढुङ्गाका टंक खड्कासँग न्यूयोर्कमा भेट भयो । उनीसँग ज्याक्सन हाइट जाँदा रेलमा कुराकानी भयो । खड्काले मेरो पहेंलो बुट्टे टोपी देखेर भने – ‘यहाँ त नेपालीले नै नेपालीलाई ठग्छन् । नेपाली बोलेको सुनेपछि ठगठाग गर्छन् । तपाईंले त ढाका टोपी नै लाउनु भा छ । ठगिनुहोला । बित्थामा पुलिसको केरकारमा परिन्छ । टोपी खल्तीमा हाल्नुस् ।
खड्काको आज्ञा पालना गरेँ मैले – नेपालीबाटै ठगिनबाट बच्न ।
बाल्टिमोर डाउनटाउनमा भेटिए, नेपाली टोपीमा डटिएका श्यामकुमार दर्जी । उनले भनेको कुरा म खुब सम्झन्छु – ‘धोती न टोपी भएर अमेरिका आइया छ तर आफ्नोपन त के भुलेको बहाना गर्नु नि !’
उनी अरू छोडेपनि नेपाली टोपी अनवरत लगाइरहँदा रहेछन् । न्यूयोर्कमा सहदेव पौडेलले निकै घुमाए । हामी घुमघाम गर्दै लिवर्टी स्ट्याचु जान जहाज चढ्ने तयारीमा थियौं । एउटी पातली आइमाई निकै हस्याङफस्याङ गर्दै हामी छेउ आई र हाइहेल्लो गरी । ऊ तिब्बती शरणार्थी रहिछ । पातलीसँगै एउटा अग्लो र मोटोघाटो काले थियो ।
मैले लगाएको टोपी देखाउँदे युवतीले भनी – ‘मेरो तिब्बत देशको यिनी छिमेकी हुन् । यिनीहरू नेपालका हुन् । थुप्रै तिब्बतीहरू नेपालमा शरण लिइरहेका छन् ।’
मेरो टोपीले उसको देश नजिकै रहेको उमङ्ग देखिन्थ्यो, त्यो शरणार्थीका अनुहारमा । मेरील्याण्ड बस्दा मलाई पनि यति न्यास्रो लागेछ – देश, भाषा, रितीरिवाज र पोशाकको । गोर्खाली कट्टेल बुढाले टोपी लगाएर घाम तापेको देखें मेरो अपार्टमेन्टबाट त्यो दिन जत्तिको प्रसन्न चित्त र उल्लास मलाई अरू दिन भएन अमेरिका बस्दा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *