Skip to content

यसरी बच्यौँ मृत्युदण्डबाट

  • by


पुराना कुराहरू सम्झिंदा मन त्यसै रोमाञ्चित हुन्छ । भन्न त जिउँदो सहिद पनि भन्छन् । तर, वर्तमान भने कहालीलाग्दो छ । कसैको सहाराबिना केही गर्न सक्दिनँ । दिसापिसाबसमेत ओछ्यानमै गर्नुपर्ने अवस्था छ । बोली लड्खडाउँछ । मनका कुरा शब्दमा व्यक्त गर्न सक्दिनँ । कहिलेकाहीँ त दिमागले पनि काम गर्न छोड्छ । नानाथरीका कुराहरू खेल्छन् । त्यसै कता हो कता पुग्छु, बड्बडाउँछु । केही चीज ठेगानमा नभएजस्तो लाग्छ ।
पुराना कुराहरू सम्झिंदा हतियार काठमाडौँ भित्र्याएको र महिलाहरूले एक भारी पर्चा बनेपाबाट काठमाडौँ पुर्‍याएको प्रसंग म केही गरी भुल्न सक्दिनँ । ती कुराहरू क्यासेटको रिलसरी मेरो दिमागमा घुम्छन् । राणाविरोधी आन्दोलनका क्रममा जब हामीलाई कांग्रेसका तर्फबाट भारतीय नाकाबाट काठमाडौँसम्म हतियार भित्र्याउन भनियो, म १२ जना भरिया लिएर सीतामढी पुगेँ । हामी त्यहाँ पुग्दा टक्क रेल पनि आइहाल्यो । रेलबाट गणेशमान सिंह र सुन्दरराज चालिसे उत्रिए र ती सामानको भारी बनाउन लगाए, १३ भारी भयो । एक भारी बाँडीचुँडी १२ भारीमा मिलाउनुपर्यो भनेको त भरियाहरूले मान्दै मानेनन् । फसाद पर्यो । अर्को एक जना भरिया खोज्नुपर्ने भयो । यसो यताउति घुमेजस्तो गरेँ । भनेँ, “भरिया पाइएन । अब आफैँ बोक्नुपर्ला ।” त्यसपछि म पनि भरिया बनेर भारी बोकेँ ।
१२ जना भरिया, गणेशमान सिंह, सुन्दरराज चालिसे र म गरी १५ जना बनेपातर्फ लाग्यौँ । पत्थरकोट, चारकोसे झाडी भएर आउनुपर्ने । ठूलो झरी पर्यो । झाडीमा स्याउँस्याउँ जुका लागे । जुकाले टोक्न थालेपछि त सुन्दरराज रुन थाले । गणेशमानले सम्झाए, “रोएर कहाँ टोक्न छाड्छन् ? बरु सबै कपडा फुकाल्नु, जुका टिपेर फाली कपडा धुनुपर्छ ।” त्यसपछि खै के झारपात खोजेर ल्याएर शरीरमा दलिदिए । अनि, सबै कपडा धोएर सुकेपछि फेर िलगाएर आफ्नो बाटो लाग्यौँ ।
बनेपा आएपछि सुन्दरराज र गणेशमानहरू काठमाडौँतर्फ लागे, हतियार हाम्रो जिम्मामा छोडेर । त्यसपछि राजदास श्रेष्ठ, गोपालदास वादे श्रेष्ठ, उनका भाइ धनराज र गोविन्द श्रेष्ठ मिलेर ती हतियार काठमाडौँ पठायौँ । राजदास, धनराज र म पनि सँगै गयौँ ।
काठमाडौँमा पुर्‍याइसकेपछि कालीमाटीबाट हतियार बरामद भयो । केही दिन हामी यताउति डुल्यौँ । नेताहरू पक्राउ परे । राजदास पनि पक्राउ परे । उनी पक्राउ परेको मलाई थाहा थिएन । म त उनलाई खोज्दै वन विभाग पुगेँ । त्यहाँ त सीआईडीहरू छ्यापछ्याप्ती रहेछन् । एउटाले मलाई देख्नासाथ भन्यो, “यही हो हिजो कालीमाटीमा गएको ।” मैले प्रतिवाद गर्न खोजेँ । भनेँ, “नभएको कुरा गर्ने ? कहाँको कहाँको कुरा ल्याएर मलाई पोल्ने ?” तर, मेरो केही सीप लागेन । त्यसपछि मलाई पनि पक्राउ गरे ।
रातो मोटरमा राखेर राजदास र मलाई बनेपा ल्याए । त्यसपछि घर खोले । यहाँ पनि मलाई ‘गणेशमानलाई देखाइदेऊ, हामी तिमीलाई छाडिदिन्छौँ’ भन्दै थिए । मैले उनका बारेमा कुनै जानकारी नभएको बताएँ । लप्टन लोकबहादुरको नेतृत्वमा खटिएको टोली थियो त्यो । गणेशमानका बारेमा नबताएपछि मलाई उसले गालामा चड्कन हान्यो । त्यसपछि एउटा सिपाहीले माथि चढेर ‘यहाँ त रक्सी छ’ भन्यो । लप्टन लोकबहादुरले ‘नेवारको घरमा रक्सी नभए के हुन्छ त !’ भन्यो । त्यसपछि उल्टै उसलाई हप्काउन थाल्यो, “के काममा आएको, के कुरा गर्छ ?”
त्यसपछि हामीलाई मोटरमा राखे । उताबाट हामीहरूकै साथी गोविन्द श्रेष्ठलाई पनि लिएर आए । अब उसलाई पनि पक्रने भए भन्ने चिन्ता लाग्यो मलाई । अनि, मैले भनेँ, “त्यो त कांग्रेस होइन ।” त्यसपछि उनलाई छोडिदिए । हुन त उनी पनि कांग्रेस नै थिए । तर, उनलाई बचाउन मैले त्यसो भनेको थिएँ । यसरी उनी पक्राउ पर्नबाट जोगिए र हाँसेर घरतर्फ गए ।
त्यहाँबाट हामीलाई सरासर सिंहदरबारमा लगे । नेल ठोकेर गाईगोठमा राखे । उताबाट ल्याएको सामान धमाधम त्यहाँ थुपार्न थाले । र, भन्न थाले, “यही होइन तिमीहरूले भारतबाट ल्याएको सामान ?” त्यसपछि हामीहरूको केही चलेन । भोलिपल्ट बयानका लागि माथि लिएर गए । अनि, बाँसमा झुन्ड्याए । मैले केही नबताएपछि कोर्रा हान्न सुरु गरे । घोडालाई चुट्ने कोर्रा, जो आठ-नौ हातको हुन्थ्यो, ले जब हिर्काउँथे कोर्रा खुट्टामा बेरन्िथ्यो । अनि, उनीहरू कोर्रा स्वाट्ट तान्थे । त्यसले खुट्टाका मासुसमेत निकालिदिन्थ्यो । यस्तो पीडा दिन्थ्यो कि खपिनसक्नु हुन्थ्यो । यसैगरी मलाई करबि तीन सय कोर्रा हाने होलान् । अनि, राजदासले भने, “हामीले भनिसक्यौँ कि यो काम हामीले गरेको हो भनेर । अब तिमी पनि कबुल गर ।” त्यसपछि म पनि बयानका निम्ति राजी भएँ । दिनभर िबयान लिन्थे । र, राति त्यो लेखेको बयान सुनाउँथे । अनि, यो पुगेन, त्यो पुगेन भन्थे । हैरान भएपछि मैले ‘तिमीहरू लेखेर ल्याओ, म सही गरििदन्छु’ भनेँ ।
धनराज हामीलाई खाना र ओछ्यान लिएर आउँदा त उसलाई पनि च्याप्प पारिहाले । पाँच-छ महिना त्यहाँ राखेपछि सेन्ट्रल जेल पठाइयो । नख्खुमा पनि राखे । त्यसको एक महिनापछि फेर िबयानका लागि गाईगोठमा ल्याए । हामी सात जनालाई माथि लिएर गए । तर, धुमधामसँग पानी पर्यो । त्यत्तिकै फिर्ता गरे । अर्कोपटक ११ जनालाई लिएर गए । त्यसबेला पनि त्यस्तै भयो । त्यसपछि १६-१७ जनालाई बयानका निम्ति माथि लिएर गए, जहाँ ११ जनालाई मृत्युदण्डको फैसला सुनाइयो । तर, राजा त्रिभुवनको सहीछाप लाग्न पाएन । हामी मृत्युदण्डको सजायबाट बच्यौँ ।

प्रस्तुतिः ईश्वरी ज्ञवाली

नेपाल साप्ताहिक २५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *