हे जलधि !
म निरअंशी बनेको छु
मेरा पानीहरू
तेर्सेपानी र रम्घाका पँधेराबाट फुटेर
चुँदीखोला, मर्स्याङ्दी बने,
हिमालय शृंखलाका गण्डकीसँगै मिसिएर
अगाध समुद्र बनाउने अविरल यात्रामा लागे
र, विस्तारित हुँदै गए ।
त्यसैले, लाइबेरियालाई
अविच्छिन्न धकेलिरहने
एटलान्टिक छालभित्र पनि
मैले देखेँ
मेरा दुई खोबिल्टे पँधेराहरू
अनि, मैले सागरको पानी छोएर
अनुभव गरेँ आफ्नो गाउँ,
शीतल र स्फटिक सगरमाथा ।
आखिर पानीकोे सम्बन्ध पनि
यो सृष्टिमा उस्तै रहेछ
रगत र वंशजस्तै ।
मेरी आमाले घरखर्चलाई
अलिकति पानी ओसारिन्,
प्यासी बटुवाका लागि दुई कोस बोकेर
पत्नीले दुई गाग्रो पानी
धर्मशालामा राखिन्,
यसरी, प्राण धान्न गला मात्र चिस्याएर
पानीको सबै भाग
सागरलाई छाडे पनि,
मेरो हिमालले, आफ्नो कारखानामा
हिउँ पार्दै र पगाल्दै महासागर पठाए पनि,
खोइ, मलाई भने
सागर पुग्नेसम्म बाटो छैन
मैले सिर्जना गरेको सम्पत्तिमा
मेरो हकभोग छैन,
उल्टो, मेरा पानीहरू छुन मलाई
भिसा चाहिने भएको छ ।
कसको प्रतिशोधले मलाई
कहिल्यै उठ्न नसक्ने गरी
थला पारेछ कुन्नि !
डाँडामा बसी एक लोटा पानी पिएकै निहुँमा
अरूसरह सागर पाउने
मेरो अंश काटिएको छ ।
यसरी, हे जलधि !
यति ठूलो संसारमा, म तिम्रो हिस्सा नपाउने
अभागी निरअंशी बनेको छु
अभागी निरअंशी बनेको छु ।
नेपाल साप्ताहिक २५८

kashiraj ji yaha hissa lin
kashiraj ji yaha hissa lin lai pani ,prachin shavdawalima bhanne ho bhane shoorbeer bannu parthyo i bhane vartman shabdawali ma chor ,fataha ra daka nai hunu parne rahecha ani matrai kehi pauna ko kamana garna sakiyela natra bhane hari sharnam.
agyat6