मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीमतीमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो फिलिङ्गा रुपी आगोले संसार नजलाओस।
हामी
टाईटानिकको यात्रु जस्तै…..
आफू मात्र बाँच्न प्रतिस्पर्धा गरिरहेका छौ।
महायुद्वका लडाकु जस्तै…..
जय पराजयलाई नै जीवनको सार्थकता ठानिरहेका छौ।
फेरि कसैलाई
मन लाग्यो भन्दैमा
डब्ल.टी.ओ. र पेन्टागन ढले जस्तै
नागासाकी र हिरोसिमा जले जस्तै
इराक र अफगानिस्तान बले जस्तै
इतिहासले भुल्न नसक्ने एक तमासा नहोस।
कुनै बहानामा बिचरी
ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस।
आस्थाको बन्दी आङसाङ सुकी र
प्रगतीशिल लेखिका
तसलीमाको जीवन जस्तो जीवन पनि नहोस।
हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता
मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस।
विश्व नै स्तब्ध हुने गरी
अब फेरि फेरि कोशीको बाँध कहिल्यै नफुटोस।
जाजरकोट लगायतको ठाँउहरूमा जस्तै
झाडापखालाको माहामारीले
हाम्रो सुख र आनन्दको
स्वर्ग अब फेरि फेरि कहिल्यै नलुटोस।
जो नहुनु थियो तर त्यही भयो
कामना गरौ…..
अब यस्तो नहोस
कहिल्यै…… कहिल्यै……यस्तो नहोस।।
चकेन्द्र राई कैदी
