महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गएको कुरा प्रचारमा आइरहेका थिए । त्यतिबेला म हालखवर दैनिकमा संवाददाता पत्रकार थिएँ । त्यस समयमा हालखवर अपराहृन अड्डा छुट्ने बेलामा निस्कन्थ्यो । यौटा पत्रिकाको मूल्य दुई पैसा पथ्र्यो । लक्ष्मीप्रसाद देवकोटाको बारेमा समाचार सङ्कलन गर्न सम्पादक दाताराम शर्मासँग सल्लाह गरेँ । तत्पश्चात् म देवकोटा निवास हान्निएँ । पत्रिकाको कार्यालय कमलपोखरीनिर थियो । मसँग साइकल छदैँथियो । देवकोटा निवास पुगी सरासर उहाँको कोठामा गई शिष्टाचारपूर्वक अभिवादन गरेँ र हालखवर पत्रिकाबाट समाचारका लागि आएको जानकारी गराएँ । स्वभावतः महाकवि देवकोटा खुसी हुनुभयो । यो दिन थियो २०१६ असार ३ गते बिहान । देवकोटासँग लगभग आधाघण्टा कुरा भयो होला ।
“उहाँ (लक्ष्मीप्रसाद देवकोटा) तासकन्दमा भएको एसियाली लेखक सम्मेलनमा नेपालका तर्फबाट भाग लिन गएदेखि उहाँको तलब रोकिएकोमा आठ महिनापछि एकैपटक तलब दिइयो । तलब दिँदा अनुशासनको नाममा एक महिनाको तलब काटी सात महिनाको मात्र दिइयो । अहिले उहाँको रोगले यस्तो भयङ्कर रूप लिने कारणमध्ये मूल कारण आठ महिनासम्म नियमितरूपले खानसमेत नपाउनु हो भन्ने अनुमान गरिएको छ ।” (नेपालको राजनीतिक दर्पण दोस्रो भाग द्वितीयावृत्ति २०३६ पृष्ठ २४९ ग्रीष्मबहादुर देवकोटाद्वारा लिखित ।)
त्यही कुराकानीका आधारमा मैले समाचार बनाएँ जुन ‘हालखबर’ दैनिक पत्रिकामा छापियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वास्थ्य बिग्रनुको कारण तथा आर्थिक अवस्था, एकेडेमीसँगको सम्बन्धमा समाचार केन्दि्रत थियो । यस खवरको स्रोत वा आधार महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वयं आफैँ हुनुहुन्थ्यो । उहाँको नाम नै उल्लेख गरी लेख्दा एकेडेमीबाट बल्लबल्ल पाउन थालिएको मासिक तलब पनि फेरि रोकिएला, महाकवि देवकोटालाई असहयोग गर्नेहरू बढी क्रुद्ध होलान्, पाउने रकम कलममा पनि उल्टो प्रभाव पर्ला भन्ने सल्लाहले नै उहाँको नाम उल्लेख नगरी समाचार बनेको हो । वास्तवमा यो अन्तर्वार्ता नै थियो । नेपाल सांस्कृतिक सङ्घले देवकोटाको बिग्रँदै गएको स्वास्थ्यप्रति चिन्ता गर्दै २०१६ वैशाख २५ मा उहाँले एकेडेमीबाट पाउने भत्ता पाउन नसकेकोले राज्यको ध्यानाकर्षण होस् भन्ने निवेदन पनि गरेको थियो । परन्तु तलब आठ महिनाको पाउनुपर्नेमा मात्र सात महिनाको दिइयो । कला मन्दिरले सार्वजनिक चन्दा जम्मा गरी ९० रुपियाँ जुटाएर महाकविलाई उपलब्ध गरायो । नब्बे रुपियाँको मूल्य पनि त्यति बेला निक्कै ठूलो हुन्थ्यो । त्यसकालागि उहाँले कृतज्ञता पनि सार्वजनिक गर्नुभयो । कान्तिपुर नगरपालिकाका अध्यक्ष र सदस्यहरूले एक एक महिनाको तलबको जम्मा ५,७००। रुपियाँमध्ये पहिलो किस्तामा आधा रकम दिए ।
तत्कालीन सोभियत सङ्घको तासकन्द शहरमा आयोजित एसियाली लेखक सम्मेलनमा भागलिन गएबापत महाकवि देवकोटाको नेपाल एकेडेमीबाट आउने मासिक तलब ६०० (हो क्यारे) रुपियाँ थियो जो रोकिएको थियो । आठ महिनापछि तलब दिँदा पनि सो सम्मेलनमा भाग लिएबापत सजायस्वरूप एक महिनाको पूरै तलब कटाएर मात्र दिइयो । त्यसबेला राजा थिए महेन्द्र र नेपाल एकेडेमीका भाइसचान्सलर थिए बालचन्द्र शर्मा । एकेडेमीका चान्सलर भने राजा महेन्द्र नै थिए कविहृदयका राजा ! गीतकार राजा !! उसैका लागि, फेरि उसैका लागि पत्नी वियोग शोक साहित्यका नायक तर यता थलिएका देवकोटाको आठ महिना तलब रोकियो !!!
नेपाल कति अनौठो मुलुक ! महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उपचारार्थ सोभियत सङ्घ पठाउने व्यवस्था गरिदिएको भए उहाँ बच्ने यथेष्ट सम्भावना हुनसक्थ्यो । त्यसको उल्टो तलबसमेत आठ महिनासम्म रोकियो र मृत्युको नजिकसम्म धकेलियो । जब अब उपचारको सम्भावना देखिन छोड्यो तब कवि राजा महेन्द्रले भा.रु. दुई हजारसमेत दिए । पछि उहाँको मरणोपरान्त सरकारबाट ऋण तिर्न २२ हजार, काजक्रिया गर्न तीन हजार र दुई छोरा वालिग नहुञ्जेल अध्ययन गराउन मासिक जनही एक सय रुपियाँ दिने व्यवस्था पनि भयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वास्थ्य दिनदिन बिग्रँदै थियो । म हालखवर दैनिक पत्रिकामार्फत समयसमयमा उहाँको स्वास्थ्य र उपचारका प्रयत्नहरूको रिपोर्टिङ गर्दै थिएँ । ती समाचारको कहिले त राम्रो प्रतिक्रिया हुने गर्थ्यो भने कहिले प्रभावोत्पादक हुँदैनथ्यो तर म महाकवि कलकत्तामा उपचार गर्न जाँदाको, र्फकंदाकोसमेत रिपोर्टिङ गर्ने गर्थें । जुनबेलासम्म महाकवि लक्ष्मीप्रसाद देवकोटाको रोगमा उपयुक्त उपचार सम्भव थियो त्यसबेलासम्म उहाँसँग ओखतीमूलोका लागि रकम थिएन । देवकोटालाई ओखती किन्न मात्र हैन चामल, नून किन्न पनि कठिन थियो भन्ने वस्तुस्थिति उहाँको सम्पर्कमा भएका प्रायः सबैलाई थाहा थियो ।
त्यतिबेला नेपालको राजनीति सङ्क्रमणकालमा थियो । २०१५ जेठ २ का दिन नेपाली काङ्ग्रेसका नेता सुवर्णशमशेर जबराले अर्को व्यवस्था नभएसम्म अध्यक्षता गर्ने गरी मन्त्रीपरिषद् बनेको थियो भने २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा निर्वाचित सरकार निर्माण भएको थियो । महाकविको ऋण तिरिदिने र काजक्रिया खर्च दिने सरकारले उपचार गर्न सघाएको भए कति सार्थक हुने थियो होला ।
वि.सं. २०१६ आश्विन १० गते महाकविको निधनको तेह्रौं दिन देवकोटा शोक समितिको तत्वावधानमा विराट मौन जुलुससहित टुँडिखेलमा शोकसभा भयो । त्यस शोकसभाको निमित्त राजा महेन्द्रबाट निम्न सन्देश आएको थियोः-
“स्वर्गीय महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाको असामयिक निधनमा आज शोकसभा जुनरूपले मनाइँदैछ त्यसको फलस्वरूप दिवंगत आत्मालाई शान्ति मिलोस् भनी ईश्वरसँग हाम्रो हार्दिक प्रार्थना छ । नेपाली साहित्य जगत्मा उहाँको निष्काम सेवा कुनै नेपालीले बिर्सन सक्ने कुरा छैन । हामीहरूको बीच उहाँ नहुँदा एक अपूरो भावनाको अनुभव हुनु स्वाभाविकै छ ।
हुन त उहाँको असाध्य रोगको विकट अवस्थामाथि खासगरि नेपाल एकेडेमीबाट पनि यथासक्य मेहनत भएकैजस्तो लाग्छ । सोबारे हाम्रा हजुरमा जाहेर हुन आएकै बखत पनि हुनसक्ने सहायता प्रदान गरिएको थियो तर अति दुःखको घटना घटिहाल्यो । उहाँप्रति साहित्य जगत्ले जति श्रद्धा भाव प्रकट गरे पनि अपूरो नै हुन्छ ।
अन्तमा फेरि एकपल्ट प्रार्थना गर्दछौँ कि दिवंगत आत्मालाई चिरशान्ति मिलोस् ।”
