विश्वको एक मात्र
सुन्दर र
अलग्गै पहिचान बोकेको झन्डा
आज सदनमा मुद्दाको विषय बन्दा ।
बाढीपहिरो, झाडापखाला
र अनिकालले
विस्थापित सुदूरपश्चिम
किन बनेन मुद्दाको विषय ?
निरीह जनताका आवाजहरू
घुनझैँ पिसिएका पिसियै छन्
श्रमिकहरूको पसिना
चुसिएका चुसियै छन्
यदि
फेर्छौ नै भने
साहूको ब्याज तिर्न नसकी
घर न घाट भएको
धने बूढाको मुहारमा
खुसीको आभास फेर ।
नयाँ नेपालमा
फेर्नुपर्ने कुराहरू अनगिन्ती छन्
गणतन्त्रको नारा मात्र नभई
व्यवहार फेर
सदनदेखि सडकसम्मको नीति फेर
घूसपैठ, भ्रष्टाचार र विकृतिहरू फेर ।
पक्कै पनि अरूबाट
स्वचालित तिमी
कसले फुक्यो
फेर ितिम्रो कान
चन्द्र सूर्य अंकित झन्डा फेर्न
अहिले राष्ट्रिय झन्डा फेर्छौ
भोलि
लबेदासुरुवाल, ढाकाटोपी
बक्खु, धोती, हाकुपटासी
र
देशको नाम फेर्छौ
देशको सिमाना फेर्छौ
अनि भन आफ्नो भन्ने के बाँकी रहन्छ ?
तिम्रो नाम पनि फेरिन्छ ।
नेपाल साप्ताहिक ३७०
