मन निर्धन भए जीवन हुँदैन । जीवनमा अवश्य मन हुन्छ तर त्यो मन सुमन हुनुपर्छ । मन दुर्मन भए जीवन झन् बिग्रन्छ । त्यसैले जीवन सुमन हो । यो जीवन गणितको जोडघटाउ जस्तो निक्लने परिणाम होइन । अनि आँकडाले देखाउने प्रतिशत पनि होइन । न यो आदर्शवादी चिन्तनको जड हो, न यो विश्लेषण-संश्लेषणको विस्तृत र सङ्क्षिप्त हो । जीवन मानेमा सब थोक हो, नमानेमा केही होइन ।
कसैले देख्छन् यही जीवनलाई सर्वव्यापी आत्मा वा ईश्वर । कसैले देख्छन् भौतिकवादी, अनीश्वर । कसैले यसलाई विज्ञान देख्छन्, कसैले ज्ञान । भौतिक पदार्थहरूको विकास नै जीवन हो भन्नेहरू पनि छन् । वास्तवमा जीवन चेतनाको पुञ्ज हो । चेतनाविनाको जीवन केवल पदार्थ हो । जसरी पदार्थको ठूलो उपज चेतना हो, त्यसै गरी जीवनका लागि चेतना अपरिहार्य तत्व हो ।
जीवनलाई देउताको उपहार मान्ने आदर्शवादीहरू प्रगतिका बाधक बनी बाटामा तेर्सिन्छन् । फेरि जीवन अभिशाप पनि होइन जीवनलाई अभिशाप देख्नेहरू पनि छन् । जीवनलाई अभिशाप देख्नेहरूको आकाशमा घाम कहिल्यै लाग्दैन । अनि रातमा जून पनि उदाउँदैन । तारा पनि चम्कँदैन । हावा लागेमा दिक्क मान्छन्, पानी परेमा झर्को मान्छन् । उनीहरूको जीवन एकनास, सधैँ उस्तै, अन्धकारै अन्धकार । आफ्नो गन्तव्य भुलेर जीवनको अँध्यारोमा मन्तव्य पोख्छन् ।
जीवन गति र यतिको तारतम्य हो । कहिले यसमा गति भङ्गहुन्छ त कहिले यति भङ्ग । कहिले गति चुस्त हुन्छ त कहिले यति दुरुस्त हुन्छ । त्यसैले यो निरन्तर चलिरहने शक्ति हो । जसरी पदार्थलाई गतिबाट अलग्याउन नसकिने विचार छ त्यस्तै शरीर रूपी जड र चेतना पनि एकअर्काबाट छुट्याउन सकिँदैन । त्यसैले जीवनलाई सापेक्षता मान्नेहरू पनि छन् ।
जीवन डार्बिनले मानेको विकास पनि हो । लाखौँलाख वर्षपछि एकलबाट बहुल अनि जाति जातिबाट प्रजाति अनि उपजाति निर्माण हुने पिरामिड हो । अमिबादेखि मानिसको विकासमा देखापरेका यावत् परिवर्तनको अन्वेषण जीवन हो । त्यसैले जीवन जटिल हो । जटिल नमान्नेहरूका लागि सरल पनि हो । यस आधारबाट हेर्दा सुगम र दुर्गमको सङ्गमलाई जीवन मान्न सकिन्छ ।
जीवन स्वतन्त्र होइन, सापेक्षतावाद रुसोका अनुसार पनि । जीवन प्रकृतिको नियमविरुद्ध चल्नै सक्दैन । जीवनबाट नियम बन्न सक्छ । नियम वस्तुहरूबीचको आपसी सम्बन्ध हो । नियमबाट जीवन बन्न सक्दैन । नियम त्यस्तो चीज हो जसले दुर्गमता पनि ल्याउँछ सुगमता पनि । कुनै कुनै बेला नियम यस्तो बिन्दुमा पुग्छ जसले क्रान्तिको सिन्धुमा पुर्याउँछ ।
जीवनलाई असार देख्नेहरू दुईथरी छन् । एकथरी जीवनलाई असार देख्नेहरू सधैँ रोपाइँ गर्न बस्छन् । उनीहरूका लागि जीवन सधैँ असार, असारको पन्ध्र । उनीहरू जीवनलाई निरर्थकभन्दा सार्थक तुल्याउन सकारात्मक बन्छन् तर अर्काथरी जीवनलाई असार देख्नेहरू सारहीन, निस्सारता देख्छन् । उनीहरू सधैँ नकारात्मक बन्छन् । यी दुईथरीबीच जित र हारको जस्तै सम्बन्ध हुन्छ । सकारात्मक र नकारात्मकबीच सङ्घर्ष चलेजस्तै हुन्छ । नयाँ र पुरानोबीच द्वन्द्व चलेजस्तै । यसप्रकारले हेर्दा द्वन्द्वको अन्तर्विरोध हो जीवन ।
जीवन कसैको दास होइन, उदास पनि होइन । जीवन जीवनकै विनाश पनि हो । मनको दास पनि होइन यदि जीवनको दास मन मानेमा मन मालिक, जीवन दास हुन्छ । यो दास युग होइन, मालिकको शोषणमा दास रहने । शोषक र शोषितको अस्तित्व दासले जनाउँछ । यसो भएमा जीवन र मनबीच भीषण सङ्घर्ष चल्छ । त्यो सङ्घर्षमा मालिक हट्नुपर्छ । मनविनाको जीवन झारैझार उम्रेको वनजस्तै हुन्छ । जीवनलाई मनको गुलामी गर्न दिनुहुन्न । जीवनको मालिक मन होइन । जीवन र मन सम हो । यदि जीवन र मन दास र मालिक भए जीवन सदैव सङ्घर्षपूर्ण हुन्छ । मनले जीवनमाथि सदैव विजय प्राप्त गरिरहन्छ । जीवन र मनबीच सधैँ लडाइँ भइरन्छ । यसो हुनु भनेको विकासले आकाश छुनुभन्दा पनि पातालतिर पाइला चाल्नु हो ।
जीवनलाई नियमित आकस्मिकता मान्न सकिन्न । यो एउटा प्रक्रिया हो । आदि र अन्त्यको श्रृङ्खलाजस्तो । अनि अन्त्य र आदिको विकासजस्तो । आदि हुन कुनै चीजको अन्त्य हुनुपर्छ । जसरी बीजको प्रक्रिया अन्त्य भई बोटको विकास भएजस्तै । जीवनको विकास पनि त्यसरी नै भएको छ । अँध्यारोबाट उज्यालो हुने प्रक्रियाजस्तो ।
जीवन प्राकृतिक नियम हो, सामाजिक नियम होइन तर जीवन सामाजिक नियममा सुर्किरहने एक किसिमको व्यायाम हो । जीवन सामाजिक नियममा हुर्किरहने एक आयाम हो तर सामाजिक नियम जीवनको दुश्मन होइन । यही सामाजिक नियमबाट वर्ग उत्पत्ति भए त्यो दुश्मनको बीज बन्दछ ।
जीवन पूँजी हो । जीवन उद्योग र उत्पादनको केन्द्रस्थल हो । विशाल उद्योग र स-साना उद्योग यसमै निहित छ । जीवनको अर्को नाम वित्तीय संस्था हो । जीवनले पूँजी आयात पनि गर्छ निर्यात पनि गर्छ । जीवनले कच्चा माल लिएर श्रम पनि गर्छ । जीवनले नाफा-मुनाफाको हिसाब-किताब राख्छ । नाफा भए हौसिन्छ, घाटा भए कहिले रौसिन्छ, कहिले धस्सिन्छ ।
शासन जीवनको अर्को पन हो । सत्ता जीवनको पत्ता हो । यहीँबाट जीवनले पितृभूमिमा बसेर शासन गर्छ । आफू निरङ्कुश बनी अरूलाई अङ्कुश लगाउँछ । पत्ता फेरेजस्तै सत्तामा बसी माता फेर्छ । एकाधिकार शासन गरिरहन्छ । षड्यन्त्र गरिहन्छ, राज्यसत्ता कब्जा गरिरहन्छ । आफू मैमत्ता भइरहन्छ । फेरि विद्रोह भएपछि यस किसिमको जीवनको स्वरूप साम्य हुन्छ । राज्यसत्ता ईश्वरीय देन हो भन्ने आदर्शवादीहरू पनि छन् र राज्यसत्ता मानवद्वारा सिर्जित मान्नेहरू पनि छन् तर राज्यसत्ता क्रमिक विकासको उपज हो । जीवनले राज्यसत्तामा बसी शासन गर्नु, रासन खानु, भाषण गर्नु भनेको जीवनको रोशनलाई निभाउनु हो ।
जीवनले विनाश पनि गर्छ, विकास पनि गर्छ । चैते हुरी विनाश हो, वसन्त विकास हो । विकास हुन विनाश हुनुपर्छ । मक्किएका, काम नलाग्ने चीजहरू भाँचिनुपर्छ, उखेलिनुपर्छ, फालिनुपर्छ । चैते हुरीले त्यही गर्छ र चैते हुरीसँगसँगै वसन्त आएका हुन्छ । अर्थात् विनाश सँगसँगै विकास आएको हुन्छ । त्यसैले जीवन विनाशै विनाशको केन्द्रबिन्दु होइन, विकास पनि हो ।
