उत्तरार्द्धतर्फको पहाडका कन्दराबाट नागबेली पर्दै लमतन्न कसैले ओछ्याएको ठूलो गलैँचा जस्तो तुमलिङ्टारलाई अङ्कमाल गर्दै अविरल बगेको नीलो अरूण नदीलाई फुर्सदमा एकटकले हेर्दै आफ्नो पसलमा अस्मिता बसिरहेकी छिन् । दीलाङको सद्मीमेलामा आफूहरू व्यापारी भएका कारण प्रत्येक पटक तिनीहरूको सहभागिता रहने गर्छ । तिनीहरू हुनेखाने व्यापारीमध्येमा पर्छन्- मेला स्थलमा पसल थाप्न जाने इच्छा नभए पनि मेला आयोजक समितिको बाध्यात्मक नियमले गर्दा जाने गर्छन् । अहिले तिनी पालो दिन बसेकी छिन् मातापितालाई । आफूलाई मोल थाहा भएका चिजहरूको मात्र बिक्री गर्दैछिन् । थाहा नभएका वस्तुहरूको मोल ‘मलाई थाहा छैन्, एकछिनमा आउनोस्…’ भन्दै ग्राहकलाई टार्दै, पठाउँदै गर्छिन् तिनी । महिलाका लागि त अप्राकृतिक विषय नै भयो यो तर पुरुषहरूको अनावश्यक भीड पनि घरिघरि जम्मा हुँदा प्रहरीहरू ‘हट्नोस् हट्नोस्….’ भन्दै समयसमयमा अस्मिताको पसलअघि हस्तक्षेप गरी भीड सामान्य पार्थे । यो भीड मालसामान किन्नेहरूको नभएर अस्मिताका मुहारवृन्दमा फक्रेको यौवनको फूल चोर्ने चोरहरूको ज्यादा थियो । भीडमा कपाल फुलेकाहरू समेत हुनुले अझ कौतूहल थपिरहेको थियो ।
‘छोरी, जाऊ तिमी, हामी आयौँ अचानक भीडभित्रबाट यी शब्दहरूको अभिव्यक्तिका साथ आमाको आगमनले तिनी जेलबाट मुक्ति मिलेको कैदीझैँ रमाउँदै आजाद हुन पुग्छिन् । तिनले पनि मन्दिर परिसरमा पुगेर यस पर्वमा गरिने धार्मिककृत्य परिपालना गर्नुपर्छ, अन्य श्रद्धालु भक्तजनहरूलेझैँ । वालाचतुर्दशी (सद्मी) का दिन बिहान चार बजेदेखि नै हूल सुरु हुन्छ । मन्दिरको भित्र-बाहिर ठेलठाल, पेलापेल हुने नै भयो । त्यसैले महिला तथा युवतीहरू भरसक यो बेला रोज्दैन त्यहाँ दर्शन गर्न पस्न । दिउँसो भीड घटेपछि मात्र जाने गर्छन् । अस्मितालाई पनि यो समय अनुकूल भएको थियो । तिनी फुत्त रामसीताको दर्शन गरेर बाहिर मात्र निस्केकी थिइन्, पर पर्खालका ढुङ्गामाथि दुई जना चिनेकाजस्ता युवाहरूले आफूलाई एकटकले हेरिरहेको देख्छिन् । त्यतिकै अन्यत्र पाइला बढाउन पनि अनादर हुनजाने जस्तो अप्ठ्यारो महसुस गर्दै यथास्थानमा स्तम्भित भइरहन्छिन् । परिस्थिति बोध गर्दै ती दुई युवक फुत्त पर्खालबाट ओर्लिए । तिनी भएतिर आउँछन् । ‘तपाईं अस्मिताजी होइन, –
‘हो त … ‘ महेश र रमेशको सङ्क्षिप्त उत्तर दिन्छिन् तिनी । पुनर्मिलनका अवसरमा आदानप्रदान गरिने वातचितमा एकछिन उनीहरू सीमित हुन पुग्छन् । उनीहरू भोजपुर क्याम्पसका विद्यार्थीहरू हुन् । अस्मिताले प्रमाणपत्रतह आरम्भ गर्दा महेश र रमेशको स्नातक तृतीय वर्ष सकिन लागेको थियो । क्याम्पसमा उनीहरूको प्रायः देखादेख भने हुन्थ्यो नै तर बोलचाल भएको थिएन ।
‘अस्मिताजी ! हामीलाई घर नलाने’ ? क्षणिक मौनतालाई तोड्दै महेशको प्रश्न ।
‘रित्तो घरको के अर्थ भो र ! बुबाआमा यतै हुनुहुन्छ- बरु जाऊँ त्यतै । अस्मिताका यी व्यवहारबोधी अभिव्यक्तिपश्चात् ‘हुन्छ’ भन्दै तीनै जना पुनः मेलास्थलको भीडमा सभाखोलाको पानी अरूणमा हराएझैँ हराउन पुगे ।
-“बुबा ! उहाँहरू मेरो क्याम्पसका साथीहरू ।”
-“नमस्कार !… म महेश अनि म रमेश …”
परिस्थितिवशः सामान्य चिनाजान, सोधपुछको औपचारिकता पूरा गरी उनीहरू पसलबाट बिदा हुन्छन् । अस्मिता भने अलि परसम्म पुर्याएर जाने शिष्टता प्रकट गर्ने धेयले सँगै वरसम्म आई मूलबाटो र मेला प्रवेश स्थलको दोसाँधमा बनाइएको चियापसलमा प्रवेश गरी चिया र मनभोग अडर गरी खान थाल्छन् । नजिकै रहेको रेडियोमा यौटा पुरानो सुमधुर गीत बजिरहेको हुन्छ- ‘मैले पुण्य मन पराएँ, या पाप मन पराएँ, … मैले तिमीलाई चुपचाप मन पराएँ । यस क्षणका लागि, ती त्रिवेणीहरूका लागि । विचित्रको संयोग बनी बहन लाग्यो यो सङ्गीत सरिता । ती दुई युवाहरूले पनि आजै सदरमुकाम भोजपुरतर्फ फर्किई धनकुटा जानु थियो रमेशको । उसले भर्खरै नायबसुब्बाको लिखित परीक्षा उत्तीर्ण गरेको थियो । त्यसको तयारी पनि गर्नु थियो । ऊ नजान पनि सक्थ्यो, मिल्ने साथी महेशको प्रस्तावलाई उसले अनादर गर्न सकेन ।
-“अस्मिताजी ! हामी त र्फकनु छ आजै । महेशको आवाजले अन्तिम घुट्को चिया निल्दा अस्मिता झल्यास्स हुँदै भन्छिन् । किन यस्तो हतार ?”
-उसको अन्तर्वार्ताको मिति नजिकिँदै आएकाले महेशले यस विषयको सङ्क्षिप्त पुष्ट्याइँ दिन्छ । लिखितमा पास भएकोमा बधाई र अन्तर्वार्तामा पूर्ण सफलताको कामना गरिन् । त्यसपछि आ-आफ्ना गन्तव्यतिर लाग्छन् । रुद्राक्षका ठूलाठूला बोटहरूको फेद हुँदै ती दुई युवाहरू अस्मितालाई चियाइ रहन्छन्, जबसम्म तिनी ओझेल पर्दिनन् ।
यो हिउँदमा महेशको विवाह गर्नुपर्ने घरायसी बाध्यता थियो । यौटी शालीन केटीको सुइँको कहीँबाट आएको र अस्मिताका बारेमा पुनः राम्ररी बुझ्ने धेयले नै दिङ्लाको सद्मी मेला भर्न वास्तवमा गएका थिए तिनीहरू । क्याम्पसमा सामान्य देखादेख भए पनि किटेर तिनी नै थिइन् ती केटी भन्नेमा महेश विश्वस्त थिएन पनि । अस्मिताका बाबुआमा प्रतिष्ठित सम्पन्न परिवार थिए । यता महेश पनि निमावि स्तरको स्थायी शिक्षक भएको र सदरमुकाम भोजपुर नजिकको रमणीय गाउँको खानदान घरानाकै भनेर कल्लाएको परिवारको छोरा थियो । मध्यस्थहरूले यसैकारण उपयुक्त जोडीको अभिलाषा राखेर कुरो चलाउन खोजेका थिए ।
रमशेको भने ‘पहिले रोजगारी, त्यसपछि मात्र’ को प्राथमिकतामा पथ्र्यो यो विषय । ऊ पूर्णतयारीका साथ धनकुटा हान्नियो । महेशका तर्फबाट मध्यस्थहरूले अस्मितातर्फ स्पष्ट कुरा राखे । बाबुआमाले विवाह जस्तो गम्भीर विषय ‘सोचौँ’- बुझौँ के हुन्छ ! पछि निधो दिउँला’ भने । दुवै पक्षका लागि चिन्तन मननमा केही दिन बिते । रमेश धनकुटाबाट घर आयो । अन्तर्वार्ता सन्तोषप्रद नै भएको थियो । राति सपनामा भर्खरैको सद्मी मेलामा पुगेको, क्षणभरमै अरूणको माथि हुँदै अग्लाअग्ला हिमशृङ्खलाहरूको नजिक पुगेको साथमा हात समाउँदै अस्मिता पनि आफूसँगै उडिरहेकी, महेश भने ‘तिमीहरू जाओ.. म यहीँ बस्छु भन्दै अल्छी गर्दै सद्मी मेलामै बसिरहेको आदि विपना परस्त सपनाहरू देख्न लाग्यो । नभन्दै सफलताको शुभसूचक खबर धनकुटाबाट आफन्तले पठाएको चिठी बोकेर हप्ता-दस दिनपछि छिमेकी दाइको आगमन भइछाड्यो । ऊ लगायत घरपरिवार आफन्त र सारा गाउँवासीहरूमा खुसीको सीमा रहेन । नतिजा तत्काल थाहा पाउन आजको जस्तो सञ्चारको विकास भएको समय थिएन त्यो ।
अस्मिताले पनि रमेशको सफलताको खबर सुनेर खुसी मात्र भइनन्, महेशसँग वैवाहिक सम्बन्धका लागि प्रस्तावित आफू रमेशलाई पो हृदयमा राख्न लागिन् । यो विधिको विधान थियो वा सरकारी जागिरतर्फको आकर्षण वा पवित्र शिक्षण पेसाप्रतिको उपेक्षा थियो । रमेश सिफारिशपत्र लिई तराईको कुनै एक जनसम्पर्क र कमाउ कहलिएको अड्डातिर लाग्यो । महेश यथावत् आफ्नै गाउँ र पेसामा रहृयो । यस अवस्थाका कारण वचपनदेखिका दुई अभिन्न साथी तत्कालका लागि विस्थापितझैँ भए ।
पढेकी छोरी बाआमाका इच्छाले मात्र निर्णय लिन युगसापेक्ष नभएको र छोरीले ‘महेशलाई होइन बरु रमेशसँग भए बिहे गर्ने भन्ने प्रतिक्रिया दिएकीले विवाहको प्रसङ्ग अवरुद्ध भयो । अर्को वर्ष मङ्सिर लाग्दै अर्कै केटीसँग महेशको विवाह हुन पुग्यो ।
रमेश पनि माघ महिनातिर घर आयो । अस्मिताको प्रतिक्रिया उसले सुनिसकेको र तिनलाई भित्रभित्रै खुब मन पराउनसमेत थालेको र दुवैपक्ष सहमत हुन पुगे । महेशलाई भने कताकता नरमाइलो र हीनताबोध हुनपुग्यो । तैपनि देवीजस्ती शालीन नववधुको सामीप्यका कारण आफूलाई संयम र सन्तुलित बनाइरहृयो । दुई हितैषी साथीहरूको प्रगाढ मित्रता भने निकै कमजोर बनी सामान्य औपचारिकतामा सीमित हुन पुग्यो । महेश विवाहमा जन्ती पनि गएन बरु लठ्ठी टेकेर सकिनसकी बूढा बाबु जन्ती गए । उल्लासका साथ रमेशसँग अस्मिताको लगनगाँठो कसियो ।
——
समयको गति वेगवान छ । यो तीव्रताका साथ चिप्लिइरहेको कुरा सितिमिति थाहै हुँदैन । सुखद जीवन जिउने प्रयत्न गर्दागर्दै उसले धेरै वसन्त व्यतीत गरिसक्छ । महेशलाई अस्तिजस्तो लाग्छ, त्यो बिहान जुन समयमा पाँच सात जनाजति भरियाहरू अघि लगाइ भोजपुर, टकसार, कोट, डाँडा, पारपानी हुँदै पिखुवा खोलाको कटक्क काट्लाजस्तो चिसो पानीमा आफ्नो जन्मभूमि छोड्नु पर्दाको वियोगका आँसु झार्दै मिसाउन पुगेको पन्ध्र वर्ष नाघिसक्यो । आफ्ना सहृदयी छिमेकीहरूले रुँदै र भक्कानिँदै ‘….माया नमार्नु है…’ भन्दै बिदा गरेको अँध्यारो बिहानी । यो सबै अस्ति जस्तो लाग्छ ।
विछोड, वियोग, सम्झना र भावनाहरूका कुरा छोडेर यथार्थको पाटोतर्फ प्रवेश गर्ने हो भने यसबीच ठूलो परिवर्तन भइसकेको छ । पूर्वी तराईतिर महेशको बसोवास छ । यौटा विद्यालयको सम्मानित शिक्षक नै छ ऊ अहिले पनि । मातापिता बितिसके । सानो परिवार छ । के खाउँ केलाउँको अवस्था पनि छैन । सामान्य यौटा घर छ उसको एक वाक्यमा भन्नुपर्दा अरूझैँ पैसाका पछि कुदेन ऊ । चाहेर पनि होइन, नचाहेर पनि होइन, रमेशको पनि बसोबास त्यही ठाउँमा हुनपुग्यो । यसलाई संयोग नै भनौँ । सुरुदेखि नै चहलपहलयुक्त कार्यालयमा कार्यरत ऊ । सम्पत्ति र संवृद्धिको लेखाजोखा गर्ने हो भने लख काट्नेहरू भन्छन्- रमेशको सम्पत्ति करोड मात्र होइन, अरबको हाराहारीमा पुग्न लाग्यो । उसले मन्दिर, देवालय, स्कुल, कलेज सामाजिक सङ्घ संस्था र सबै राजनीतिक शक्तिशाली पार्टीहरूलाई ठूलो परिमाणमा चन्दा दिएको छ । सबैतिरबाट ऊ सुरक्षित र सम्मानित छ तर सँगैको साथी महेशको अवस्था भने यसको विपरीत छ । चन्दा प्रशस्त दिन नसकेकाले रमेशका झैँ ख्याति र सम्मान पाउनु त दुर्लभै भयो । महेश र रमेश हाम्रो समाजका दुई दृष्टान्त, फरकफरक दृष्टान्त । आमूल परिवर्तित परिवेशमा यी दुई दृष्टान्तउपर राष्ट्रले के कस्तो व्यवहार गर्ला ? त्यसपछि मात्र महेश र रमेशका उत्तराधिकारीहरूमा कसका तर्फ बढी थपिने हुन् भन्ने हेर्न बाँकी छ ।
-भद्रपुर, झापा
