पल्लोघरमा भाले बास्यो-
मानबहादुर दाइहरू
एड्स बोक्न जान्छन् रे !
फूलमती भाउजूहरू
उकाली-ओरालीहरूमा
घाँस दाउरा धाउँछन् रे !
ठूल्दिदी आङ खसेर
माल्दिदी एचआईभी पसेर
साल्दिदी दासत्वमा पिसिएर
काल्दिदी दाइजोमा मुछिएर
चिच्याइचिच्याइ
विवशताको खाडलमा
सहारालाई पर्खिराछन्
खोइ के गर्ने साथी ?
कलमले मलम लाग्ला र !
छिमेकीले दक्षिणमा
सीमा जग्गा मिचेरे !
नेताहरूले पानी/बिजुलीमा
सहीछाप थिचे रे !
खोइ के गर्ने र साथी
कलमले मलम लाग्ला र !
आमाहरूलाई बोक्सी बनाई
मलमूत्र ख्वाइराछन्
बहिनीहरूलाई रेष्टुरेन्टमा
वेश्या बनाइ नचाइ राछन्
कोखा छाती दुखिराछन्
सृष्टि र वात्सल्य लुटिराछन्
सिन्दूर, पोते, चुरा राता
सबै पराइ भाछन्
खोइ के गर्ने र साथी
कलमले मलम लाग्ला र !
-बालाजु हाइट, वनस्थली, काठमाडौँ

naam natokiakai theek hola.
naam natokiakai theek hola.