तिम्रो लहैलहैमा यता र उता
टाढा-टाढा भौँतारिए म
पुष्ट र मस्त शृंगारको तन्मयतामा
बुइँमा चचहुई…चचहुई मच्चिरहेँ
बिनसित्ती झर्किएर
आँसु रोएर
शोकले पोतेको मन
कतिचोटि परेलीबाट बर्सियो होला ?
टल्पलाइरहेका शीतजस्ता आँसुका ढिक्काहरू
तिम्रा आँखाहरूमा फुलेको फूल
केशमा मुस्कुराइरहेको चन्द्रमा
पाइलाले सडकभरि गाएको गीत
टाढा कतै बजेको तिरिरी मुरली
बेस्सरी घन्केको मादल
स्वरमा स्वर मिलाउँदै
तिमी कहिल्यै जीवित रह्यौ र ?
सयपत्रिको केस्रामा अल्झिएको शीत
पातमा एकनाश खसेको शिशिर
फूलहरूको सामूहिक हत्या भएका बेला
तिम्रो सौन्दर्य शिशिरको आतंकले निमोठेको बेला
सम्झ त!
तिम्रा जीवनका गीत सुरक्षित छन् र ?
खोलामा बगेको फूलको संवेदन
रूखका टोड्कामा मरेका बच्चाको आर्तनाद
डढेलोमा पिल्सिएको पल्लव
चारैतिर बलिरहेको जंगलभित्र बसेर
ए, चरी !
के तिमी रहन सक्छ्यौ होला जीवित ?
नभएको भए तिमी
के हुन्थे होलान् फूलहरू
आभाहरू ?
के हुन्थे होलान्
चोकमा उभिएका देउता ?
शीतको थोपामा आएको जीवन ?
घरमाथिको गोदावरी फूल्ने कान्लो
पहाडको भित्तामा हाँसिरहेको डालिया
नसुसेलिएको चराको गीत
तिर्खा नमेटिने खोलाका तीरहरू
समयमाथि तिमी
दाडिमको रूखमा अड्किएर
जोड्दैछौ खण्डित आकाशहरू
सम्झ त!
आकाशभरि के खोज्छ होला एक्लो चखेवा ?
नेपाल साप्ताहिक ३६२
