बोर्निओको सारावाक टापुमाथिको दाबीलाई लिएर इन्डोनेसिया र मलाया (मलेसिया)का बीच सन् १९६२-६५ मा भीषण लडाइँ चलेको थियो, जसमा म पनि सामेल थिएँ । मैले बेलायतको उपनिवेश रहेको मलायाका तर्फबाट त्यो युद्ध लडेको थिएँ ।
घटना २१ नोभेम्बर १९६५ सालको हो । घना जंगलले छोपेको एउटा डाँडामा दुस्मनले एड्भान्स क्याम्प राखेको सूचनाका आधारमा हामी १६ जना ब्रिटिस-गोर्खा सैनिकलाई चढाइ गर्ने आदेश भएको थियो । त्यही अनुसार, हामी चार-चार जनाको चार समूहमा थियौँ । सैनिक नियम नै हो, समूह बाँधेर युद्ध गर्नु । हाम्रो पहिलो, दोस्रो र तेस्रो समूह हानमारका लागि थिए भने चौथो उद्धारका निम्ति । घाइते साथीहरूको उद्धार गर्नु चौथो समूहको कर्तव्य थियो । तर, युद्धको मोर्चा खुलेपछि त जसको जे काम हो, त्यही गर्ने अवस्थै नरहँदो रहेछ ।
त्यसताका म टेन्थ प्रिन्सेज मेरिज वउन गोर्खा राइफल्सको सेकेन्ड बटालियनमा लान्स कर्पोरल पदको जोसिलो युवा सैनिक थिएँ । चाल मारेर कोरोलिङ् गर्दै अघि बढ्ने क्रममा हामी खाँेचमा परेका थियौँ । डाँडामा रहेको इन्डोनेसियाली फौजले हाम्रो उपस्थिति थाहा पाउनासाथ माथिबाट अन्धाधुन्द फायर खोलिहाले । आफूलाई भने जसरी पनि माथि पुगेर तिनीहरूलाई सखाप पार्न रगत तातिरहेको थियो । तर, उपाय नास्ती । गोलीको वषर्ा भइरहेको थियो । हामी विस्तारै डाँडातिर घस्रिन थाल्यौँ, अझ सानो समूह बनाएर । धावा बोल्ने क्रममा तेस्रो समूहमा रहेको मैले डाँडानजिक पुगेपछि दुस्मनको मेसिनगन पोस्टको भेउ पाएर दाँतले पिन थुतेर एउटा ग्रिनेड हानँे । त्यसपछि पहिलो र दोस्रो समूहले पनि आ-आफ्ना टमी गनबाट गोली वषर्ा गर्न थाले । अनि त मैले दुस्मन लुकेको ट्रेन्चको मेसो पाइहालेँ । भकाभक तीनवटा ग्रिनेड फालेँ । साथीहरू पनि दाह्रा किटेर फायर गरिरहेका थिए । दुस्मनको अखडाबाट कहीँ नभएको भागदौड सुरु भयो । चीत्कार सुनिन थाल्यो, “सबै बर्बाद भयो !” त्यहाँ २४ जना हताहत भएछन् ।
तर, केही क्षणमा नै उनीहरूले सम्हालिँदै पोजिसन लिए । प्रतिकार हुन थाल्यो । मेरो टोलीका दुई जना साथी खुत्रुक्कै भए । एउटालाई टाउकोमा र अर्कोलाई पेटमा गोली लागेको थियो । उनीहरूलाई सम्हाल्नतिर लाग्ने स्थिति थिएन । त्यसो गर्दा एक निमेषमै सबै जनाको एकै चिहान हुन्थ्यो । टाउकोमा गोली लागेको साथीले ‘ऐया…’ मात्र भन्न भ्यायो । मैमाथि घुप्लुक्क लडेर प्राण त्याग्यो । पेटमा गोली लागेको साथी ‘पानी ! पानी !’ भन्दै छट्पटाइरहेको थियो । मैले भुँडीमा गोली लागेकालाई पानी दिनु हुँदैन भन्ने सम्झेँ ।
साथीले ‘म बाँच्दिनँ, मारिदेओ’ भन्न थाल्यो । टमी गन समाएका मेरा हातहरू उसको अवस्था देखेर त्यसै त्यसै काँपिरहेका थिए । तिनीहरूलाई त्यत्तिकै, त्यहीँ छाडेर अगाडि बढ्नका लागि मन दह्रो पारिरहँदा मलाई दुस्मनसँग कहीँ नभएको रिस पनि उठिरहेको थियो । साथीप्रति कठोर भएर अगाडि नबढे युद्ध नजिती नै एकैचिहान भइन्थ्यो । दुवैलाई घिसार्दै-घिसार्दै अलि परको सुरक्षित खाल्टोमा लगेर राखिदिएँ । एउटा लास छ, अर्को त्यही लासलाई कुरेर छटपटाइरहेको । मचाहिँ दह्रोगरी टमी गन समातेर दुस्मनको पोस्टतिर हानिएँ । पेटमा गोली लागेकाले कतिखेर संसार छोड्यो, पत्तै भएन । उसलाई पानी दिन नसकेकामा पछिसम्म पनि धेरै पछुतो लागिरह्यो ।
इन्डोनेसियाली सैनिकहरू बडा खतरनाक थिए । तर, उनीहरूले जति नै लडे पनि त्यस लडाइँमा हाम्रो सेकेन्ड बटालियन ‘सी’ कम्पनीले दिउँसो २ बजे विजय प्राप्त गर्यो । खुसीको सीमा रहेन । लाग्यो, आफ्नै नेतृत्वमा विजय प्राप्त भयो । सारावाक युद्धमा मैले यस्तै अनुभव गरेँ । यो घटना जीवनमा कहिल्यै बिर्सन सक्तिनँ । यस लडाइँको पीडा र गर्व मनमा गढेको छ । यही लडाइँ हो, जसले मेरो जीवनलाई नयाँ आयाम र चिनारी पनि दियो ।
युद्ध र विजयपछि पल्टन सरुवा हुँदा हामीले पनि तीन महिनाको आराम पायौँ । यसैबीच, २२ फेब्रुअरी १९६६ को बिहान ७ बजे हाम्रा अंग्रेज कमान्डिङ् अफिसर मलाई भेट्न आएर भने, “तिम्रो बहादुरीको धेरै प्रशंसा भएको छ, स्याबास् ! तर, कुरा केही नखुलाई राती १० बजेको परेडमा सहभागी हुन भने । परेडमा सबभन्दा अगाडि बस्ने र त्यहाँ गर्नुपर्ने कामको विषयमा छोटो लेक्चरसमेत दिएर हिँडे उनी ।
राती कार्यक्रम सुरु हुनासाथ सिंगापुरस्थित ब्रिटिस आर्मीका प्रमुखले मेरो नाम पुकारा गरे । ब्रिटिस आर्मीको नाम उच्च पार्न निर्वाह गरेको मेरो भूमिकाको उनले जोडतोडले प्रशंसा गरे । मलाई १२ जुलाई १९६६ मा लन्डनको बकिंघाम दरबारमा भएको विशेष समारोहमा मलाई ब्रिटिस साम्राज्यको सर्वोर्च्च युद्ध पदक भिक्टोरिया क्रस (भीसी) प्रदान गरियो । महारानी एलिजाबेथ द्वितीयको हातबाट भिक्टोरिया क्रसको लकेट र तक्मा पहिरिँदा खुसीले गद्गद् भएँ ।
सैनिक जीवनमा मैले अन्य धेरै युद्धमा सामेल हुनुपर्यो । तर, सारावाक मोर्चा नै उल्लेख्य रह्यो । कहिलेकाहीँ बुढ्यौलीको फुर्सदमा पुराना घटनाका पानाहरू यसो पल्टाउँछु, आश्चर्य लाग्छ । युद्धका पीडाहरू सम्झँदा अहिले पनि मन चहर्याएर आउँछ । समयक्रममा कतिपय घटनाहरू विस्मरणमा पर्दै गए पनि मनका गहिरा घाउहरू नपुरिँदा रहेछन् । यस्तै अनुभवहरू सँगाल्ने क्रममा म ब्रिटिस गोर्खा रेजिमेन्टमा पूरा २८ वर्ष २० दिन बिताएर १९८५ मा क्याप्टेन पदबाट सेवा निवृत्त भएँ ।
प्रस्तुतिः ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक ३६२
