सङ्क्षिप्त परिचय
नारी मनको अन्तर्द्वन्द्व, कुण्ठा र सँवेगात्मक अनुभूतिलाई उपन्यासमा तिव्रतर अभिव्यक्ति दिने सर्जक गोविन्दबहादुर मल्ल मानिन्छन् । उनी स्व. कवि वीरबहादुर मल्लका नाति, ‘शारदा’ पत्रिकाका सम्पादक ऋद्धिबहादुर मल्लका छोरा हुन् । उनका चार भाइ छोराहरू गोविन्द, विजय, फत्ते र हिम्मतमध्ये घरमा हुने साहित्यिक जमघटले गर्दा गोविन्द र विजय मल्ल साहित्य-सिर्जनातर्फ बढी सक्रिय रहेको पाइन्छ । प्रजाको जेठो र राजाको कान्छो छोरो हुन नपरोस् भन्ने भनाइ नेपाली समाजमा रहे तापनि उनी जेठो छोरो बनेर जन्मेका हुन् । गोठालेको जन्म वि.सं. १९७९ साल, असार २६ गते आइतबार, पूणिर्मा तिथिको बिहानीपख भएको हो । सूर्य उत्तरायन हुँदा जन्मेका गोविन्दलाई विभिन्न समयमा ‘गोठाले’, जयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल आदि भनिए तापनि उनको चिहृनाको नाम भेक्तबहादुर मल्ल रहेको तथ्य नेत्र एटमले ‘दोभान’ (२०६१) पत्रिकाको ‘गोविन्दबहादुर मल्ल विशेषाङ्क’मा उल्लेख गरेका छन् । यसरी गोठालेका नाममा विविधता भए तापनि साहित्य-सिर्जनाको काममा उनी निरन्तर लगनशील भएर लागेको पाइन्छ । त्यही कारण निजी व्यवसायमा सँलग्न रहेर पनि उपन्यास, कथा, एकाङ्की, नाटक आदि लेखनमा उनको प्रशस्ति प्रचुर मात्रामा देखिन्छ । उनको मृत्यु २०६७ मङ्सिर २७ गते काठमाडौँमा भयो ।
गोठालेको साहित्यिक व्यक्तित्व ः काठमाडौँको मध्यमवर्गीय नेवार परिवारमा जन्मेर विज्ञानमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेका हुन् गोविन्दबहादुर मल्लले । उनले फ्रेन्च, रस्सियन भाषाका साथै अङ्ग्रेजी, नेवारी, नेपाली र हिन्दी भाषामा समेत आफ्नो भाषिक क्षमता रहेको इङ्िगत गरेका छन् । पाश्चात्य साहित्यका इब्सेन, जोला, बर्नार्ड सा, चेखब, गोर्की, दोस्तोवस्की, सेक्सपियर, कामु आदिका कृतिहरूबाट प्रभावित गोठाले भवानी भिक्षुबाट दीक्षित भएका हुन् । यसरी नै सिद्धिचरण श्रेष्ठबाट नेपालीमा लेख्ने प्रेरणा र गोपालप्रसाद रिमालबाट आधुनिक बन्ने चेतना ग्रहण गर्दै लक्ष्मीप्रसाद देवकोटा तथा उत्तर कुँवरबाट लगनशील बन्ने प्रेरणा पाएको उल्लेख गरेका छन् ।
‘शारदा’ र ‘आवाज’ पत्रिकाको सम्पादक भएर साहित्यिक पत्रकारिता तथा निजी व्यवसायमा सँलग्न रहने गोठालेको साहित्यिक यात्रा कविता विधाबाट नै सुरु भएको पाइन्छ । उनको प्रथम प्रकाशित कविता ‘सन्ध्याकालीन नेपाल’ (शारदा, १९९५) शीर्षकको हो भने प्रथम प्रकाशित कथा ‘त्यसको भाले’ (शारदा, १९९७, फागुन) बालमनोवैज्ञानिक कथा हो । उनले नाट्य(लेखन २००३-०४ सालतिरबाट सुरु गरेका हुन् र ‘भुसको आगो’ (२०१३) प्रथम नाट्यकृति हो । यसरी नै पहिलो उपन्यास कृति ‘पल्लो घरको झ्याल (२०१६) हो । गोविन्द गोठालेको आख्यान (कथा+उपन्यास), नाटक र कविता विधामा कलम चलाए तापनि उनको प्रमुख साहित्यिक व्यक्तित्व आख्यानबाट मुखरित भएको भेटिन्छ । गोठालेले चारओटा उपन्यासहरू सिर्जना गरेको पाइन्छ तापनि एउटा प्रकाशनका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानमा बुझाएको तर प्रकाशित नभएको कुरा रोशन थापा ‘नीरव’ ले ‘एक क्षण ः आख्यान महर्षि गोठालेसँग’ (दोभान, २०६१), शीर्षकमा उल्लेख गरेका छन् । उनका प्रकाशित र प्रकाशोन्मुख उपन्यास कृतिहरू हुन् ः
क) पल्लो घरको झ्याल (२०१६),
ख) अर्पणा (२०५३),
ग) पियानानी (२०५६), समकालन साहित्य-३६, र
घ) दुई प्राणी (प्रकाशोन्मुख) ।
उपन्यासकार गोविन्द गोठालेका यी कृतिहरूले उनको साहित्यिक व्यक्तित्व बढी चर्चा भइरहने कथा र नाटकमा मात्र होइन, उपन्यासमा पनि ज्वलन्त रूपमा छ । त्यसको प्रमाण फ्रायडीय मनोविश्लेषणलाई सर्वप्रथम नेपाली उपन्यास ‘पल्लो घरको झ्याल’ (२०१६) मा भित्र्याउने सर्जकका रूपमा सुरक्षित देखिन्छ । त्यसैले उनको साहित्यिक व्यक्तित्व कथाकार, उपन्यासकार, नाटककार र आँशिकरूपमा कवि व्यक्तित्वमा पनि विद्यमान रहेको पाइन्छ ।
उपन्यासमा मनोविज्ञान र गोठाले
आधुनिक नेपाली उपन्यासको प्रारम्भ रुद्रराज पाण्डेको ‘रुद्रमती’ (१९९१) बाट भएको मानिन्छ । उनले सामाजिक यथार्थलाई जसरी नेपाली साहित्यमा भित्र्याएका छन्, त्यो काम यसभन्दा पहिलेका उपन्यासकारले प्रयोग गरेका छैनन् । त्यसरी नै आधुनिककाल पूर्वका उपन्यासमा मनोविज्ञानका विषयमा चिन्तन भएको पनि भेटिन्न । रूपनारायण सिंहको ‘भ्रमर’ (१९९३), लैनसिंह बाङ्देलका ‘मुलकबाहिर’ (२००४), ‘माइतघर’ (२००५) र ‘लङ्गडाको साथी’ (२००८) उपन्यासहरूले पनि मनोविश्लेषणको सिद्धान्तलाई पूर्णरूपले वरण गरेका छैनन् । हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’ (२०११) उपन्यासमा पनि आलोचनात्मक यथार्थ र नारीवादी धारालाई प्रश्रय दिएको छ । यसरी बाहृय यथार्थको अङ्कनमा १९९१ देखि २०१५ सालसम्मका उपन्यासकारहरू प्रवृत्त भएको पाइन्छ । गोठालेको ‘पल्लो घरको झ्याल’ (२०१६) उपन्यासले मनोविश्लेषणवादी धारालाई अङ्गिकार गरी आन्तरिक यथार्थको उत्खनन् र प्रस्तुतिमा पनि आफूलाई प्रविष्ट गराएको छ । त्यसपछि विजय मल्ल, पारिजात, विश्वेश्वरप्रसाद कोइराला आदि उपन्यासकारहरूले मनोविज्ञानको फाँटहरूमा विचरण गरेको देखिन्छ । यसरी आधुनिककालीन उपन्यासमा मनोविज्ञानलाई प्रवेश गराई त्यसको विश्लेषण गर्न खोज्नु उपन्यासकार गोठालेको मुख्य देन रहेको पाइन्छ ।
गोठालेका उपन्यासको विवेचना ः
साहित्यकार गोविन्द गोठालेका ‘पल्लो घरको झ्याल’ (२०१६), ‘अर्पणा’ (२०५३) र ‘पियानानी’ (२०५६) प्रकाशित उपन्यासहरू हुन् भने ‘दुई प्राणी’ नेपाल प्रज्ञा-प्रतिष्ठानको कुनै चिसो कोठामा थन्किएको पाण्डुलिपिका रूपमा रहेको अप्रकाशित उपन्यास हो । गोठाले जीवित हुँदा बुझाएको र उपन्यासकार आफैँले ‘छिट्टै आउला’ भनेको हुनाले उनको आशा फलिभूत बनोस् भन्ने चाहना साहित्यका पाठकहरूको हुनु स्वभाविक नै हो । उपन्यासकार गोविन्द गोठालेका प्रकाशित उपन्यासहरू सँरचनात्मक आयामका दृष्टिले लघु आकारका रहेका छन् । छुट्टै कृतिका रूपमा नआएको ‘पियानानी’ (२०५६) बाहेक ‘पल्लो घरको झ्याल’ (२०१६) पाँच परिच्छेद/खण्डमा सँरचित छ र ‘डिमाइ साइज’को ११६ पृष्ठमा परिवेष्ठित बनेको छ । त्यसरी नै ‘अर्पणा’ (२०५३) उपन्यास पनि नौ परिच्छेदमा विभक्त रही ‘डिमाइ साइजको’ जम्मा ६० पृष्ठमा सङ्कुचित देखिन्छ । साहित्यका समीक्षकहरूले उपन्यासको विवेचना त्यसका आङ्गिक तत्त्व वा सँरचनात्मक वस्तु तथा रूपविन्यासका आधारमा गरेको पाइन्छ । कृतिमा समाविष्ट कला र व्यक्ति वा समाजको पला (घडी-पला) लाई जति उपन्यास कृतिहरूमा उतारिन्छ, त्यति नै कृति र कृतिकारलाई जीवन्त मानिन्छ । यसरी समकालीन समाजको विम्ब आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक र मानसिक चिन्तनलाई केन्द्रविन्दु बनाएर प्रस्तुत गर्दा उपन्यासहरू ऐतिहासिक, धार्मिक, सामाजिक, वैचारिक तथा मनोविश्लेषणात्मक रूपमा मुखरित भएका हुन्छन् । ‘गोठाले’का ‘पल्लो घरको झ्याल’ र ‘अर्पणा’ दुवै उपन्यासहरू मनोवैज्ञानिक धरातलमा उभिएर लेखिएका कृतिहरू हुन् ।
यिनमा उपन्यासकारको रुचि सामाजिक र साँस्कृतिक परिवेशमा नारी मानसिकतालाई केलाउने र उनीहरूको बाहृय तथा आन्तरिक अवस्थाको उद्घाटन गर्नेमा केन्द्रित देखिन्छ । त्यसैले गोठाले मानवीय सँवेदना, ईर्ष्या, कुण्ठा र यौन समस्याले उब्जाउने सकारात्मक तथा नकारात्मक प्रवृत्तिलाई उभ्याउने आख्यानकार हुन् । यही विशेषतालाई हृदयङ्गम गरी आख्यानकारका रूपमा २०६० सालको पृथ्वी प्रज्ञा-पुरस्कार आख्यानकार गोठालेलाई प्रदान गरिएको हो । यो पुरस्कार पाउने उनी एक मात्र आख्यानकार हुन् । नेपाल सरकारको तर्फबाट समेत पुरस्कृत गोविन्दले साहित्य सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा गरेको योगदानलाई कदर गर्दै पाण्डुलिपि पुरस्कार (२०५३), जगदम्बाश्री पुरस्कार (२०५५), बसुन्धराश्री पुरस्कार (२०५९), सरस्वती सम्मान (२०५९) लगायत त्रिभुवन प्रज्ञा-पुरस्कार, मधुपर्क सम्मान, वेदनिधि पुरस्कार, गोदबा पदक, भवानी साहित्यिक पत्रकारिता पुरस्कार र सर्वश्रेष्ठ रचना पुरस्कारहरू समेत विभिन्न सँस्था र व्यक्तिबाट पाएका छन् । यी पुरस्कारहरूले उनको साहित्य-सिर्जना गुणस्तरीय र विवेचनीय छ भन्ने तथ्यलाई उजागर गरिरहेका छन् ।
आख्यान साधक गोविन्दबहादुर मल्ल नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन मानार्थ सदस्य हुन् । बाँचुञ्जेल कम चर्चित गोठालेका कृतिहरू मृत्युपछि गुण-गरिमाका दृष्टिले बढी अनुसन्धेय बनेका छन् । बाँच्नका लागि निजी व्यवसाय र मानसिक सन्तुष्टिका लागि साहित्य-सिर्जना गरेको हुनाले उनी नाम र दामका भोका थिएनन् । उनको चिन्तन नवीनता तथा मनोग्रन्थिको चिरफार गर्नमा केन्द्रित थियो ।
पल्लो घरको झ्याल उपन्यासमा ‘गोठाले’
गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘पल्लो घरको झ्याल’ (२०१६) को विषय र सुन्दर प्रस्तुतिले उपन्यास आफ्नै प्रयासमा प्रकाशित भएर छिट्टै बिक्री भएपछि साझा प्रकाशनले लिएर (२०१८) सालदेखि छापिरहेको छ । यसरी दुई वर्षमा बिक्री भएर सकिनुमा अवचेतनामा दमित मिसरीको यौनचाहना, पति हरिभक्तको निम्छरोपन र पल्लो घरको झ्यालमा देखिने हीरामानको युवती आकर्षण नै मिसरीको मनोविश्लेषणका कारणहरू हुन् । त्यसमा सहयोगीको भूमिका निर्वाह गर्न काम गर्ने आइमाई गोल्सनलाई उपस्थित गराइएको छ । मान्छेलाई खान, लगाउन र बस्न पाएर मात्र पुग्दैन । यौन सन्तुष्टि पनि हुनु पर्दछ । शरीरले खोजेको र मनले रोजेको भएन भने पितृश्राद्धको दिन पनि नभनी सामाजिक संस्कारलाई तिलाञ्जली दिएर मिसरी हीरामानसँग पोइल गएको देखिन्छ ।
माइतीघरका आमा-बुबा, दाजु-भाउजू र भाइ रमेशको व्यवहार नेवारी संस्कार तथा सामाजिक परिवेशअनुसारका छन् भने पति घरका सासू, श्रीमान र दाइभाउजू ? (श्रीमानको दाइकी श्रीमतीलाई भाउजू होइन, दिदी भनिन्छ)-हरूको व्यवहार नेपाली प्रचलन अनुरूप छन् । तर पनि मिसरी किन गुण्डो भनेर टाढा रहन खोज्ने, दुःख दिन चाहने व्यक्तिसँग सामाजिक प्रतिष्ठाको विपरीत जीवन साथी मानेर गई ? त्यसैको कलात्मक प्रस्तुति हो- पल्लो घरको झ्याल उपन्यास । मिसरी एक दिनको हेराइ र हीरामानको सुन्दर शरीर देखेर विवाहित लोग्ने छोडी पोइल गएकी होइन । मनोविश्लेषणको सिद्धान्तअनुसार अवचेतनमा दमित कामशक्ति (लिबिडो) र पतिले पत्नीसँग गर्नै पर्ने व्यवहार नपाउँदा ऊ गएको देखाइन्छ । त्यसैले यस कृतिमा नारीमनोविश्लेषण तथा विभिन्न मनोरचना एवम् मनोग्रन्थिहरूको प्रयोग सघनरूपमा गरिएको पाइन्छ । मनोविश्लेषण सिद्धान्तले पात्रहरूका बाहृयभन्दा आन्तरिक अवस्थाको चित्रण र सङ्घर्षको स्थितिलाई प्रस्तुत गरेको हुन्छ । आन्तरिक द्वन्द्वबाट परिचालित भएर पात्रले बाहृय व्यवहार गरेको देखाइन्छ । त्यही कुरालाई मिसरीको व्यवहार ‘पल्लो घरको झ्याल’ (२०१६) उपन्यासमा मनोविश्लेषणद्वारा प्रस्तुत गरिन्छ । यसरी उपन्यासमा समाज र व्यक्ति बीचको द्वन्द्वमात्र होइन, व्यक्ति-व्यक्तिका चेतन र अचेतन मनको द्वन्द्वलाई पनि आधार बनाइएको हुन्छ ।
जातीय चलनअनुसार मिसरीकी आमाले केटा मन पराएर बिहे गरिदिनु समाज-मनोविज्ञान अनुसारको व्यवहारवादी प्रचलन हो भने मिसरी कहिले पतिको घर जान खोज्नु र कहिले नखोजी गोल्सनका कुरा सुनेर उसको भनाइका पछि लाग्नु चेतन र अचेतनका द्वन्द्वले उब्जाएका परिस्थितिको चित्रण हो । त्यसैले व्यक्ति पात्रका मनमा उत्पन्न हुने कुण्ठा, विकृति र हीनताग्रन्थिले उपन्यासको कथानकलाई गति प्रदान गरेको उल्लेख गोठालेले यसमा गरेका छन् । ‘पल्लो घरको झ्याल’ उपन्यासमा ‘गोठाले’ मान्छेका चरित्र पढ्ने निष्ठावान लेखक तथा प्रकृतिवादी उपन्यासकारका रूपमा देखिन्छन् । विश्वेश्वरप्रसाद कोइरालाको यौनमनोविज्ञान, भिक्षुको रतिरागात्मक मनोविज्ञानभन्दा भिन्न गोठालेका उपन्यासमा समाज-मनोविज्ञान पाइन्छ । उनले उपत्यकाको मध्यमवर्गीय नेवार समाजले आफ्नो खानपान, व्यवहार तथा संस्कारका कर्महरूलाई जसरी गर्दछ, त्यसरी नै उपन्यासहरूमा चित्रण गरेका छन् । मिसरीको अन्तर्द्वन्द्व, शङ्का, विचारको आरोह-अवरोह, डर, भ्रान्ति र कल्पना तथा एकान्तप्रियता आदि आन्तरिक र बाहृय अवस्थाको सचित्र वर्णन यस उपन्यासमा गरिएको छ । यसबाट गोठाले शक्तिशाली उपन्यासकारका रूपमा ‘पल्लो घरको झ्याल’ उपन्यासमा देखिएका छन् ।
‘अर्पणा’ उपन्यासमा ‘गोठाले’
गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘अर्पणा’ (२०५३) उपन्यासलाई पाण्डुलिपि पुरस्कार प्रदान गरी बगर साहित्यिक प्रकाशनले सर्वप्रथम प्रकाशित गरेको हो । यस सँस्थाका सँस्थापक नकुल सिलवालको ‘प्रकाशन मन्तव्य’, नदी प्रकाशन प्रा.लि.को ‘गोठाले’ र ‘अर्पणा’ तथा गोविन्द गोठालेको ‘भन्नुपर्ने कुरा’ पछि एकदेखि नौ परिच्छेदको सँरचनामा ‘अर्पणा’ उपन्यास सँरचित देखिन्छ । यस उपन्यासमा पनि गोठाले नारी-मनोविश्लेषकका रूपमा उपस्थित भएका छन् । यसलाई उनले २०१५ साल, २०३९ साल र २०५० साल गरी तीनपटकको लेखाइमा पूर्णता प्रदान गरेको स्वयम् उल्लेख गरेका छन् । उपन्यासको प्रारम्भ ‘अर्पणा’ (२०५३) उपन्यासकी मुख्य पात्र अर्पणाको समस्याप्रधान वाक्यबाट सुरु भएको छ । गोठाले यसरी लेख्छन् ः ‘रातो बनारसी दुपट्टाको खास्टो र साडीले गुटमुटिएकी अर्पणा घरभित्र पसी । त्यस्तै त्यो रहस्य पनि पस्यो ।’ यस भनाइमा अर्पणा चरित्रमा केही रहस्य छ । जसको माध्यमबाट गोठालेले उपन्यासलाई अघि बढाएका छन् भन्ने देखिन्छ ।
‘अर्पणा’ नेवारी परम्पराअनुसार दुलाहा विना आएको जन्तीमा पिताद्वारा ससुराको हातमा दान गरी लोग्नेको घरमा नयाँ दुलही बनेर जान्छे । घरको ढोकामा रोकेर बूढी आइमाईले निधारमा टीका लगाई दिएर लसकुसको विधि गरिन्छ र भोटे ताल्चाको साँचो दिएर घरभित्र जान दिइन्छ । यसरी आफ्नो बिहे भएर पतिगृह जाँदा अर्पणामा कुनै उत्साह, उमङ्ग केही छैन । आफू जन्मेको घर माइती भएर घर छोडी जानु पर्दा ऊ धेरै रोएकी हुन्छे । उसले अहिलेसम्म पतिको अनुहार र बोलीसमेत सुनेकी छैन । यस्तो स्थितिमा पतिघरको एउटा कोठामा पुग्दा ऊ थकित मात्र होइन, सन्त्रस्तसमेत बनेकी छ । यसरी ‘जसको ब्या’ह, उसैलाई न ल्या’ गरी बेहुलो विना पोइका घर जाने नेवारी बिहेको चलन र सम्पूर्ण विवाह सम्बन्धी काम पुरेत बाजेले पोइका घरमा गरिने नौलो प्रस्तुतिले ‘अर्पणा’ उपन्यास आकर्षक बनेको पाइन्छ । नेवारी समाजमा प्रचलित संस्कार र व्यवहारद्वारा उत्पन्न मानसिक अवस्था, व्यक्ति विशेषका चाहना, मनोग्रन्थि र ईर्ष्या, सन्त्रास, हीनताको भाव एवम् नारी भएर जन्मदा बलात्कृत हुनु पर्ने विवशतालाई अर्पणा उपन्यासद्वारा प्रस्तुत गरिएको छ । नेवार संस्कार नबुझेका नेवार जाति र नेवार इतर जातिले समेत बुझ्न पर्ने तथ्यलाई सरल र रोचकतापूर्वक अङ्कित गर्नाले गोठाले सफल उपन्यासकारमा दरिएका छन् ।
यसरी चारैतिरबाट बचाएर अगाडि बढाएकी अर्पणालाई अन्त्यमा आफ्नो रहस्यमय कुरो खोल्न विवश बनाउने उसको अचेतन मन र दमित भावनाको प्रतिफल हो । नेवारीभाषाको वाक्य गठन, अङ्ग्रेजी, फारसी र हिन्दी शब्दको प्रयोगले चामलमा बियाँको काम गरे तापनि साँस्कृतिक सापेक्षताका दृष्टिले गोठाले सबल देखिएका छन् । अर्पणाबाहेक उपन्यासमा उसको लोग्ने प्रभुमान, ससुरा प्रतापमणि, सासू पुण्यवती, नन्द कमलेश, जेठाजु भुवनमान र दिदी (भाउजू) प्रभा आदि पात्रको नाम पाँच परिच्छेदमा मात्र आउनाले केही अप्ठ्यारोपनको आभास उपन्यास पढ्दा पाइन्छ । लोकन्ती बनेर गएकी समेलू मीसाको नाम प्रचलित जस्तो उपन्यासमा देखिन्छ । नत्र भने मैचाको घरधन्दा मरुटोलका सन्तानेश्वर महादेवको पूजा, दुलही बनेर भित्रँदा अर्पणाको सम्मान र छोरी पाएपछि मान, छोरा पाएकी पुण्यवतीप्रति सासू-ससुराको सकारात्मक दृष्टि, थोरै पैसा कमाउने श्रीमान्का श्रीमतीले बेहोर्नु पर्ने ताडना सामाजिक प्रचलनमा देखिएका व्यवहार, विश्वास र विकृतिका सूचकहरू हुन् । यिनीहरूको उल्लेख गोठालेले अर्पणा उपन्यासमा गरेर सघनता थपेका छन् ।
गोठालेले यस उपन्यासमा चैतन्यरहित भएर अर्पणाले ‘म बिग्रिसकेकी थिएँ, भनी पतिसँग भन्दा हल्का भएको अनुभव गर्नु तथा श्रीमानबाट पिटिएर निकालिनु र पछि मधेसमा घरजम भएको वर्णन गर्नमा कथानकको गति छिटो भएको देखिन्छ । यी कुराहरूमा मनोविश्लेषक कुर्ट लेविनले क्षेत्र सिद्धान्त प्रतिपादन गर्दा जुन कुराको उल्लेख गरेका छन् तिनैलाई यहाँ आधार बनाइएको छ । उनले- द्वन्द्वविश्लेषणका तीन आधारहरू प्रयोग गरेको देखिन्छ । ती हुन्ः क) अनुकूल अनुकूलबीच हुने द्वन्द्व, ख) प्रतिकूल-प्रतिकूलबीच हुने द्वन्द्व, ग) अनुकूल-प्रतिकूलबीच हुने द्वन्द्व । यी तीन प्रकारका द्वन्द्वहरू आन्तरिक र बाहृय गरी दुई उपवर्गमा विभाजित भएका हुन्छन् । उपन्यासको कथावस्तुले चरित्रको मानसिक अवस्थालाई समेटेको छ भने त्यो आन्तरिक द्वन्द्वभित्र पर्दछ । पात्रले सामाजिक परिवेशका कारण बाहृय अवस्थामा गर्ने सङ्घर्ष बाहृय द्वन्द्वभित्र पर्दछ । गोठालेका प्रमुख पात्र मिसरी र अर्पणाले बाहृय सङ्घर्षभन्दा मानसिक सङ्घर्ष नै बढी गरेको चित्रण उपन्यासमा देखिएको हुनाले आन्तरिक अनुकूल-प्रतिकूलबीच हुने द्वन्द्व धेरै देखिन्छ । प्रमुख पात्रहरूले उपन्यासका कतिपय परिच्छेदमा आफूलाई आन्तरिक र बाहृय दुवै द्वन्द्वमा रुमल्लिएको पनि देखाएका छन् ।
निष्कर्ष
उपन्यासकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ का ‘पल्लो घरको झ्याल’ र ‘अर्पणा’ दुवै नारीचरित्र प्रधान कृतिहरू हुन् । यी दुवै उपन्यासको विषय सामाजिक तथा साँस्कृतिक हो भने परिवेश काठमाडौँ रहेको देखिन्छ । मिसरीले सामाजिक संस्कार तोडी पोइल गएकी छ भने अर्पणा बिहे पूर्व बलात्कृत भएको घटनाले छोरी जन्माइसकेपछि लोग्नेलाई भन्दा ताडित बनेकी छे । यी दुवै परिस्थितिमा उनीहरूको चेतन मनभन्दा अचेतन मनको भूमिका सक्रिय रहेको पाइन्छ । उपन्यासका कतिपय स्थानमा पात्रहरू अर्धचेतन वा अवचेतनरूपमा पनि देखिन्छन् । पात्रहरूमा देखिने कुण्ठा, घृणा, ईर्ष्या, सँवेग आदिले तिनीहरूको मनोरचना एवम् मनोग्रन्थिलाई प्रस्तुत गरेका छन् । यी उपन्यासमा उल्लेख गरिएका पात्रका नामहरू सबै नेवार जातिका हुनु र नेवार सँस्कृतिका विविध पक्षलाई समेटी मनोविश्लेषण गर्नाले गोठाले जातीय उद्बोधन तथा अस्तित्वलाई प्रतिस्थापित गराउने सफल उपन्यासकारमा चिनिन्छन् । यही उनको साहित्यिक मूल्य हो ।
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
