Skip to content

कायल मन भो झनझन

  • by


झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।

फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।

तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।

फनफन भुमरी चक्र घुमेझैँ सारा जीवन घुम्दा
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।

किनकिन मुटुको घाउ फुटे झैँ छाती बल्किन थाल्दा
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।

दनदन आगो सल्किन लाग्यो प्रेमले दिलको गाउँ
जनजन हल्ला फैलिनु साथै अभिनन्दन भो झनझन ।

दिनदिन बढ्छन् अश्रु-प्रवाह गङ्गाजीका धार बगे झैँ
झनझन चर्को आमोदीको रोदन-आन्दोलन भो झनझन ।

रत्ननगर- १२ माधवपुर चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *