Skip to content

उनी थिए-कवीन्द्र । कवि-हृदय, कोमल मनका मालिक, स्वभावैले भावुक, त्यहीँमाथि आफ्नी प्यारी बैँसालु, रूपसी प्रेयसी सहचरीको चिरविरहले व्यथित बनेका । यौवनको बोझले झुकेकी, नतमुखी रमणीको झझल्को आइरहँदो हो मनमा । मुटुको धड्कन बढ्दो हो- बितेका रमाइला, रसिला पलहरूको सम्झनाले । प्राणप्रियाको सम्झनामा केही गरुँगरुँ लाग्दो हो । त्यसैमाथि अर्को व्यथा थपियो अर्को शोक थपियोः पुत्रशोक । कलिलै उमेरमा वात्सल्यबन्धनलाई चटक्कै चुँडालेर देउतीमाताको घर गएका आफ्ना प्रिय पुत्रको विरहव्यथाले शोक सन्तप्त बनेका दम्पती ! सन्तति शोकले कातर बनेकी प्रेमपरायणा प्रियतमाको प्रसन्नताका लागि केही गरुँगरुँ लाग्दो हो ! आफ्नो प्यारो जन्भभूमि, आफूले सजाएको ललितकला-सज्जित धराधाममा एउटा मीठो स्मृतिचिन्ह छोडेर जाने पनि विचार गरे हुन्, अनि कलाकमनीय कान्तिपुरीको केन्द्रमा एउटा रमणीय पुष्करिणी (पोखरी)को परिकल्पना गरेछन् । स्नान-ध्यानादिद्वारा पुण्यार्जन पनि गरिने, जलक्रीडाद्वारा आनन्द पनि लिइने, राजधानीको सौन्दर्यशोभा पनि बढाइने । अनि, प्रेमविदग्ध प्रतापी मल्ल राजाले मसक्क आँटे । एउटा भव्य पोखरी बन्ने भयो ।

पोखरीलाई पवित्रताको प्रतिमूर्ति बनाइयो, पानीको पावन भण्डार बनाइयो । पतितपावनी भागीरथी गङ्गादेखि प्रयागसम्म, प्रयागदेखि गङ्गासागरसम्म, गङ्गासागरदेखि महासगारसम्म ! कहाँकहाँको जल ल्याइएन ! फैलिए राजाज्ञाले जलहारीहरू- जलभारको जोहो गर्न अनि सहरको उत्तर-पूर्व कोणमा बन्यो ः सुन्दर-शान्त-विशाल मात्र होइन- गहन र गौरवमय पोखरी रानीपोखरी ।

उनकै मन-मन्दिरजस्तै बन्यो दिव्य, चिटिक्क परेको देवमन्दिर पोखरीको केन्द्रमा । शिरोभाग जस्तै उत्तर भागमा थुपुक्क स्थापना गरियो भगवान् माधवको मङ्गलमूर्ति, कार्यदक्षताको प्रतिरूप बनेर दक्षिणी पाश्र्व भागमा आफ्ना प्रियपुत्रहरू चक्रवर्तेन्द्र र महीपतेन्द्रसँग उनी स्वयं हात्तीमाथि सवार भए-पोखरीको शोभासौन्दर्य चिरकालसम्म हेरिरहने सपना सजाएर ।

नभन्दै कवीन्द्रको प्रेमजस्तै गहिरो, भावनाजस्तै विशाल र परिकल्पनाजस्तै सुन्दर-मनोरम बनेछ- रानीपोखरी । नभन्दै त्यहाँ स्वयं प्रियतमाकै लावण्यमयी सम्पदाको सौन्दर्यपान गरेछन् ती भावुकहृदय, कोमल मनका कवीन्द्रले त्यहाँ फक्रक्क फक्रिएका कमलफूलमा आफ्नी प्रेयसीको मनोरम मधुर मुहार झल्किरहेथ्यो, वरपर चल्बलाइरहने बान्कीदार माछाहरूमा उनै मिनाक्षीका चञ्चले कटिला आँखा झिम्किइरहेथे, शैवालावलीमा सलक्क परेको केशपाश सल्बलाइरहेथ्यो, पोखरीमा पौडिरहेका हंसयुगलमा परिपुष्ट कुचयुगलको यौवन फडफडाइरहेथ्यो, पूरै पुष्करिणीमा उनै रूपसीको लावण्य लहराइरहेथ्यो । पोखरी के थियो ! संसारभरकै रत्नहरूको खानी थियो, सुन्दरताको अगाध भण्डार थियो, स्वयं विशाल समुद्र थियो, वसुधातलको अलङ्कार थियो । यी रमणी पुष्करिणी, श्रेष्ठ सुन्दरी सबै रसिक दर्शकगणलाई रमणीयताको परमानन्द प्रदान गर्ने तृप्तिदायिनी थिइन् । श्री कवीन्द्र मल्ल राजाको राजधानी, कलाकान्त कान्तिपुर-वसुधातलको अलङ्कार बनेकी यी वापीको सुन्दरताले रोमाञ्चित बनेका कवीन्द्रले अनि यसो भनेः
श्रीश्री-राजकवीन्द्र-मल्लवसुधा ऽ लङ्कारभूता शुभा
हंसद्वन्द्वकुचा सरोजवदना संसाररत्नाकरा ।
सर्वेषां सुखदा सुमीननयना देवी सुरम्या वरा
शैवालावलिकेशपाशविमला वापी जरीजृम्भते ।।

संसारभरिकै तीर्थस्थलहरूबाट श्रमपूर्वक सञ्चित गरिएको जलराशिले परिपूरित थियो- पोखरी । गङ्गा, शोण, सरस्वती, यमुना, गोदावरी, गण्डकी, कावेरी, कौशिकीलगायत समुद्र पर्यन्तबाट पानी मगाइएको थियो! बोकाइएको थियो र भरिएको थियो- यो विशाल र गम्भीर जलकुण्डमा । यो पवित्रताको केन्द्र एवं जगद्भरिका पवित्र जलहरूको उत्तर सङ्गम थियो । यहाँ सम्पन्न गरिएको यज्ञानुष्ठान पनि जगद्विख्यात थियो । यस त्रिभुवन सम्पदाले रम्य तीर्थलाई मानवले मात्र होइन, अन्तदर्ृष्टिले हेर्दा त ऋषिमुनि र दिव्यगण देवदेवीहरूले पनि सेवन गरिरहेका थिए । अनि कवीन्द्रले अर्को श्लोक कथेः
गङ्गा-शोण-सरस्वती-रविसुता-गोदावरी-गण्डकी-
कावेरी-कुशिकात्मजा ऽ खिल-सरित्पत्यादि-पुण्योदकै ः ।
या सम्यक् परिपूरिता त्रिभुवने ख्याता सुयज्ञोत्सवैः
रम्या सैव मुनीन्द्रदेवमनुजैः संसेव्यते सर्वदा ।।

हात्तीमाथि चढेर दक्षिणी किनारबाट पोखरीको दिव्यता अनुभव गरिरहेका कवीन्द्रले नियालेर हेरे अनि यसको अद्भूत प्राकृतिक रम्यता देखेर मक्खै परे! रोमाञ्चित भए । पोखरीभरि सर्वत्र बहुबिध कमलफूलहरू फुलिरहेका छन्, अनि ती रसिला-भरिला कमलपुष्पका केन्द्रमा बसेर मधुर मकरन्दको मधुधारामा मग्न भएर! माध्वीक सोमरस-पानको मदमा मस्त बनेका छन्- भ्रमरपुञ्ज, अनि आकण्ठ मदपानले सरस बनेको कण्ठले मधुर निनादकारी भुँभुँको श्रुतिमधुर ध्वनि-पाण्डित्यको गम्भीर अभ्यास गरिरहेका छन् । नानाथरिका शान्त, सौम्य विहङ्गम हाँसहरू पनि कमलवनमा परिभ्रमण गर्दै आनन्दपूर्वक आपसमा सुललित स्वरमा वार्तालाप गरिरहेका छन् । हेर्दाहेर्दै आनुभूतिक आनन्दले उनका आँखा लोलाए- जाग्रत्-स्वप्नावस्थामा अन्तदर्ृष्टिद्वारा उनी के देख्छन् ! -आहा ! यहाँ त कोमलाङ्गी देवाङ्गनाको गण, दिव्य अप्सरागणसमेत आनन्दातिरेकमा जलक्रीडा गर्दै रमाइरहेका छन् । त्यही मधुर मस्तीको अनुभूतिमा रङ्मङ्गएिर कवीन्द्र गुनगुनाए ः
यस्यां पद्मवने निपीय निभृतं माध्वीकधाराशतं
सानन्दं किल चञ्चरीकपटली पाण्डित्यमभ्यस्यति ।
हंसाद्याश्च विहङ्गमा ः सुललिता ऽऽ लापं मुदा कुर्वते
सानन्दं कोमलाङ्गा ः सुरकुलवनिता यत्र नित्यं रमन्ते ।।

धन्य हो- रानीपोखरीको पवित्रता ! सुन्दर पवित्र कान्तिपुरीको धरणीतलमा रहेकी यी वापीमा वाग्द्वारबाट अवतीर्ण भएकी देवप्रिया बागमतीको जल मात्रै दस हजार छ सय एकचालीस भारी खन्याइएको छ । स्वयं बैकुण्ठनाथ विष्णुका पवित्र कोमल चरणकमलबाट प्रवाहित गङ्गाको पावन पानीद्वारा परिपूरित छ यो पोखरी । वाराणसी, वैद्यनाथधाम, शङ्खमूल, पनौतीतीर्थ, श्रीसप्तगण्डकी, श्रीसप्तकौशिकी, श्रीनीलकण्ठ, विष्णुमती, विश्वनाथ, तेचाप, बागेश्वर, मनमती, शङ्खदह, कागेश्वर, वागमतीनाभ, श्रीसपनतीर्थ, गोमती, श्रीबूढानीलकण्ठ, टौदह, कटुवालदह, मातातीर्थ, इन्द्रदह, गोकर्ण, ज्ञानवापी-काशी, सीताकुण्ड, पशुकुण्ड, टेकुदोभान, हनुमानघाट, गोलहिटीदह, ज्वालामुखी, श्रीमुक्तिक्षेत्र, कालीगण्डकी, श्रेतगण्डकी, श्रीसरयू, मालिका, पातालगङ्गा, श्री प्रयागःकौशिकी सङ्गम, अनन्तलिङ्ग, पसिपाडोल, गङ्गासागरलगायत समुद्रपर्यन्त असङ्ख्य तीर्थस्थानबाट जल ल्याई यहाँ बहाइएको छ । अनि अन्त्यमा श्रीसुन्दरीजलको कञ्चन जलप्रवाहद्वारा यस पोखरीलाई पूर्णता प्रदान गरिएको छ । यस महातीर्थको जलस्नान र जलपान गर्नाले समेत मानव मात्रका समस्त पापहरूको शमन भएर शिवपुरीमै उसले निवास प्राप्त गर्छ, संसारभरिका समस्त तीर्थहरूको सेवन गर्नाले पाइने पुण्यफल प्राप्त गर्छ । यही अन्तरात्माबाट उठेको विश्वासमा कव्रीन्द्रका ओठहरूबाट यसरी वाणी प्रफुटित भएः
या धन्या धरणीतले सुविमले पापौधविध्वंसिनी
मत्र्यानां स्नानपानात् शिवपुरवसतिं याऽन्तकाले ददाति ।
या च श्रीकमलापते ः पदयुगात् सद्यो बहिर्निर्गता
सैषा विष्णुपदीप्रवाहसुभगै रापूर्यते वापिका ।।

कवीन्द्रको मुटु श्रद्धाले ढक्क फुल्यो र कविहृदयमा यस्ता भव्यभाव प्रत्यक्ष भए । आहा ! कति पुण्यमय जलराशि ! थरीथरीका नागहरूका फणामा शोभायमान देदीप्यमान मणिहरूबाट भव्य कान्ति झलमलाइरहेछ यहाँ । पुण्यसलिला स्वयं बागमती नदी पनि सधैँ यहीँ बहिरन पाए कति आनन्द हुन्थ्यो होला भन्ने उत्कण्ठा देखिन्छ । पतितपावनी गङ्गाको पवित्र जल मात्र होइन, संसारभरिकै तीर्थजलको पनि यस्तो मनोरम सङ्गम बनेको देखेर स्वयं बैकुण्ठनाथ विष्णु पनि सकल सुरगणका साथ यहाँ पदार्पण गर्ने इच्छा गर्नुहुन्छ । कतिसम्म भने काशीपति भगवान् विश्वनाथ त काशी नगरीलाई समेत चटक्कै छोडेर यस मनोरम पोखरीमा सहर्ष पाल्नुभएको छ र पोखरीको केन्द्रमा निर्मित सुन्दर मन्दिरमा विराजमान हुनुहुन्छ । अनि भाव विभोर भएर कवीन्द्रले सश्रद्ध यो स्रग्धरा गाए ः

यस्यां पुण्योदकायां विविध-फणि-मणि-श्रेणि-विद्योतितायां
नित्यं श्रीवाग्वती च प्रमुदितहृदया स्थातुमुत्कण्ठते च ।
जातो वैकुण्डनाथो सकल-सुरगणैःसार्धमागन्तुकाम
किं ब्रूमो विश्वनाथो झटिति समगमत् काशिकां त्यज्य हषर्ात् ।।

दन्त्यकथा जस्तो लाग्दछ यो रानीपाखेरी-काव्य । कुरो आजको पनि होइन, नेपाल संवत् ७९० (विक्रम संवत. १७२७) माघ महिनाको शुक्लपक्षी पूणिर्मा, सौभाग्ययोग परेको मङ्गलबारका दिन अश्लेषा नक्षत्र भएको पुण्ययोगमा सूर्यकुलोत्पन्न निखिल-गुणगणसम्पन्न प्रतापी कवीन्द्र प्रताप मल्लले माघ महिनाको व्रत सम्पन्न गरेर पोखरीको उत्तर किनारमा भगवान् माधवको प्रतिमा स्थापन गरी यो भव्य वापीकाव्य त्यसैको पीठमा अङ्कति गराएका थिए ः
नेपाले संवते ख-ग्रह-सुमुनियुते माघमासे च शुक्ले
योगे सौभाग्यसंज्ञे कुजदिनसहिते पञ्चदश्यां तिथौ च ।
अश्लेषायां पुण्ययोगे रविकुलतिलक श्रीकवीन्द्रप्रतापैः
कृत्वा माघव्रतं वै निखिलगुणयुतैः स्थापितो माधवाख्यः ।

झण्डै साढे तीन सय वर्षअघिको त्यो मनोरम चित्ताकर्षक सौन्दर्यका साक्षी स्वयं माधव भगवान् त्यहीँ पोखरीको डिलैमा उभिएर मुस्कुराइरहनुभएको छ, कवीन्द्रका कोमल हार्दिक प्रेमको साक्षी हात्ती त्यहीँ दक्षिण किनारामा सौम्य मुद्रामा सम्मुख खडा छ । मल्ल राजाको अनन्य श्रद्धाका साक्षी भगवान् श्रीशङ्कर केन्द्रमै विराजमान हुनुहुन्छ । अनि स्वयं कवीन्द्र आफ्ना दुई प्रिय सुपुत्रका साथ भव्य हात्तीमा सवार भएर अपलक नियालिरहेछन् ।

हे श्रद्धा, प्रेम र सौन्दर्यकी सङ्गमः रानीपोखरी, आज तिमी कहाँ छ्यौ ? तिम्रा आशिक कवीन्द्र प्रताप मल्लले आज तिम्रो यो अवस्था देखेर के सोचिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *