Skip to content


ओखलढुङ्गाको पश्चिमी भागमा अवस्थित पोकली पर्यटकीय दृष्टिले महìवपूर्ण मानिन्छ । उसो त ओखलढुङ्गा सांस्कृतिक, साहित्यिक तथा प्राकृतिकरूपले धनी छ । जिल्लाका ५६ गाविसमध्ये पोकली प्राकृतिकरूपमा अत्यन्तै सुन्दर क्षेत्र हो । पोकली यहाँ रहेको १३० मिटर उचाइ भएको पोकली नामको झरनाबाट रहन गएको बताइन्छ । पोकली पुग्न काठमाडौँबाट रामेछापको खिम्तीबेसी, धोबीडाँडा, सिरिसेसम्मको मोटरको यात्रापछि केही घण्टाको पैदलयात्रा गर्नुपर्दछ । रामेछाप र ओखलढुङ्गालाई छुट्याउने मनोरम लिखु खोलाले पर्यटकको मन नहरिरहन सक्दैन ।

सांस्कृतिक रूपले पनि निकै धनी छ यो क्ष्ेात्र । विभिन्न जातजातिका आ-आफ्नै संस्कृति परम्पराले यो ठाउँलाई विविधतायुक्त बनाएको छ । ब्राहृमण, क्षेत्री, सुनुवार, तामाङजस्ता जातिको बाहुल्यत भएको यो ठाउँले बालनभजन, चण्डी, सोरठी, मारुनी, सेलो र पञ्चैबाजाजस्ता मौलिक नेपाली संस्कृतिलाई जोगाएर राखेको पाइन्छ । पोकली क्षेत्र सुनुवार जातिको उद्गमस्थल मानिन्छ । उनीहरूको भाषिक तथा सांस्कृतिक अनुसन्धान गर्न चाहनेको लागि पोकली आकर्षणको केन्द्र बन्ने गरेको छ । पोकली नाम पनि सुनुवार भाषाबाटै राखिएको हो ।

प्रकृतिले पोकली झरनालई रहस्यमय बनाएको छ । झरनाको २०० मिटर तल पहराभित्र अत्यन्त गहिरो चट्टान खोपिएर बनेको आकर्षक दह छ जसलाई स्थानीय वासिन्दाहरू हाँडीदह भन्दछन् । यस झरनाको वरिपरि ढुङ्गामा फल्ने बडे बडेमानका मुलाहरूले यहाँ जाने जोकोहीलाई पनि आश्चर्यचकित बनाउँछ । रिठ्ठेझाँक्री बास बस्ने गरेको विश्वास गरिन्छ । झाँक्रीले लगेर विभिन्न विद्या सिकाएर पठाउने गरेको स्थानीय वासिन्दाहरू बताउँछन् । पहिलेपहिले स्थानीय वासिन्दालाई आवश्यक पर्ने भाँडाकुँडाहरू पोकली झरनामा आएर मागेपछि प्राप्त हुन्थ्यो भन्छन्- स्थानीय कीर्तिबहादुर पौडेल । यहाँ रहेको अर्को आकर्षणको केन्द्र हो- बिस्कुने ढुङ्गो । प्राचीन समयमा यही रहेको विशाल ढुङ्गोमा बिस्कुन सुकाउने गरिन्थ्यो ।

पोकली झरनाभन्दा दुई किलोमिटरमाथि रहेको गौरीवन, साखामाडीबाट गौरीशङ्कर हिमालको दृश्यावलोकन गर्नसकिन्छ । पोकली वरपर रहेका दुग्धेश्वर, नीलकण्ठेश्वर महादेवको थान । चण्डी चुलीदेवी हिरामातादेवी थान र हलेसी महादेवस्थानले यो ठाउँलाई धार्मिक एवं आध्यात्मिक शान्तिको लागि गन्तव्यस्थल बनाएका छन् । पोकलीसँगै जोडिएका गाम्नाङ्टार, टारकेराबारी, रगनीजस्ता गाविसहरू पनि प्राकृतिक दृष्टिले ज्यादै महत्वपूर्ण छन् । गौरी वनमा कालिज, मयूर, ढुकुरजस्ता विभिन्न प्रकारका चराचुरुङ्गी र दुम्सी, खरायो, जरायोदेखि बाघ, भालुसम्मका जनावरहरू पाइन्छन् । यस क्षेत्रका भीर पहरामा पाइने जस्तै चिराइतो, पाखनवेद ठूलोओखती, खोटसल्ला, पदमचाल, सुनपातीजस्ता विभिन्न जडिबुटी त्यसै खेर गइरहेका देखिन्छन् । तिनको उचित बजार व्यवस्थापन गर्ने हो भने यस्ता जडिबुटीबाट लाखौँको आम्दानी गर्न सक्छन् यहाँका जनताले ।

टारकेराबारीमा पर्ने चिनेटार सिद्धथान अर्को आकर्षणको केन्द्र मानिन्छ । संस्कृत पढ्नको लागि सुरुवात गर्ने ठाउँको रूपमा चिनिए पनि हिजोआज सबै जातजातिको आस्थाको केन्द्र बन्ने गरेको छ । सिद्धथानमा भाकल गरे चिताएको कुरा पुग्ने विश्वास छ । स्थानीय पौडेलहरूको कुलदेवता अथवा गुरुको आराधना गर्ने भकारे ढुङ्गा हिजोआज सबैको आस्थाको केन्द्र बनेको छ । यो ठाउँका प्रत्येक ढुङ्गाहरूमा प्रत्येक जीवजन्तुका पाइलाहरू कुँदिएका देख्न सकिन्छ । यस ठाउँमा फोहोर गरियो भने विभिन्न अनिष्ट आई लाग्ने विश्वास गरिन्छ । पूर्वको माथिल्लो भागलाई देवीको थान भनिन्छ । बाँदर लुक्ने गुफा यस ठाउँको अर्को दर्शनीय स्थल हो । पहिलेपहिले सयौं बाँदरहरूले निक्लेर प्रदर्शन गर्थे तर स्थानीय वासिन्दहरूको बालीनाली खाएर बितण्डा मच्चाउन थालेपछि दुवैतिरका प्वाल थुनिदिएपछि बाँदरहरू सबै मारिएको बताउँछन् स्थानीय वृद्धवृद्धाहरू । यहाँका चारचुरुङ्गी मार्न र ढुङ्गाहरू फुटाउनु नहुने मान्यता छ ।

प्रत्येक गाविसलाई छुट्याउने स-साना नदीहरूबाट साना जलविद्युत् आयोजना सञ्चालन गरिएकाले यस क्षेत्रका प्रायः मानिसहरू अँध्यारोमा बस्नुपर्दैन । लोडसेडिङले आक्रान्त पारिरहेका सहरवासी यहाँ आइपुग्दा चकित हुने गर्दछन् । लिखु खोलाबाट भने १२० मेगावाटको जलविद्युत् आयोजना सञ्चालन हुने भएको छ । विभिन्न दृष्टिले महìवपूर्ण यस क्षेत्रलाई देश विदेशमा चिनाउने उद्देश्यले गएको वर्ष कात्तिक २१ र २२ गते पोकली झरना ओखलढुङ्गा महोत्सवको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *