Skip to content

पूर्वको शक्तिपीठ छिन्नमस्ता भगवती

  • by

नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये छिन्नमस्ता भगवती पनि एक हो । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँ विकास समिति-२, सखडा गाउँमा छिन्नमस्ता भगवतीको मन्दिर छ । सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटली पुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ -बारा)मा राजधानी कायम गरे । यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आˆनो कुलदेवीको रूपमा स्थापना गरी आˆनो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो ।

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउँतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्ट िदक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको छ ।

छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भँेडा, परेवा, हाँस र माछा आदि बलिदान सामाग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पुजारी महानन्द ठाकुर बताउनुहुन्छ । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । वर्षमा ३० हजार बलि प्रदान हुने गरेको र त्यसबाट वाषिर्क पाँच लाख रुपियाँ आम्दानी हुने गरेको छिन्नमस्ता भगवती संरक्षण सम्बर्द्धन समितिका सचिव विनोद यादवले बताउनुभयो ।

छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ । मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूलहैस गर्न आउने गरेका पुजारी ठाकुर बताउनुहुन्छ ।

श्रदा र भक्तिका साथ भगवतीको पूजा गर्दा तीन हजार मगज बिग्रेकाहरू ठीक भएको युवा सशक्तीकरण सङ्घ लालापटिका अध्यक्ष किशोरकुमार यादवले जानकारी गराउनुभयो ।

करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो । त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए । वि.सं. २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख दिएका थिए त्यस रकमबाट तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ ।

नेपाली बृहत् शब्दकोशमा छिन्नमस्ताको अर्थ घाँटी छिनेको, आˆनो टाउको हातमा लिई घाँटीबाट निस्केको रगतको धारा त्यसै टाउकोलाई खुवाई रहेको भन्नेे छ । यस कुरा सखडास्थित मूर्तिसँग मेल खाँदैन । वि.स. १९८४ मा सप्तरी तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आˆनो इष्टदेवी भगवती स्थापना गरेका थिए ।

मेचीदेखि महाकाली भाग- १ पुस्तकमा सिम्रौनगढका राजा शक्रसिंह देवले आˆनो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए भन्ने लेखिएको छ । राजा शुक्र सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो ।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरूप सिम्रोनगढ ध्वस्त भयो । सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दास अनुमान गर्नुहुन्छ ।

मुलुकका ५१ शक्तिपीठहरूमध्ये एक छिन्नमस्ता भगवतीको नाम टाढा-टाढासम्म फैलिन गएको हुनाले पर्यटकीय दृष्टिकोणले समेत यो क्षेत्र राम्रो रहेको छ तर मन्दिरसम्मको बाटो पक्की नहुदाँ भक्तजनहरूले सास्ती बेहोर्दै आउनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *