Skip to content

पूर्वीय संस्कृतिमा वैदिक र वैदिक ईतर दुई भिन्दै संस्कारको सङ्गमबाट मातृ शक्ति र पैतृक शक्तिका रूपमा मान्यता प्रागैतिहासिक कालदेखि मान्दै आएको छ । प्रजनन र भौतिक आरक्षणको मानवीय आवश्यकतालाई ईश्वर र ऐश्वर्य लाभका रूपमा मान्ने भक्ति र ज्ञानको मार्गले कर्मप्रधान उपयोगी तत्त्वको प्रसाधन तन्त्रमय, मन्त्रमय र यन्त्रमय आकृतिमा दुवै वैदिक तथा तान्त्रिक मतले अङ्गीकार गरेर मूर्ति, मन्त्र र शक्तिपीठका रूपमा मान्यता प्रदान गर्दै आएको लौकिक स्पृष्यवादी धर्मप्रधान कला, वास्तुकला र संस्कृतिको परिचायक हो ।

वैदिक तथा तान्त्रिक मतमा षड्आम्नायको प्रतिकात्मक स्वरूपमा गायन, वादन नर्तन, चित्रण, मूर्ति र मन्त्रद्वारा भक्तिको प्रदर्शन गर्ने पद्धति पराशक्ति र अपराशक्तिलाई अर्मूतत्त्वबाट सजीवता प्रकाशित गर्ने ‘ज्योतिस्वरूप’ माहेश्वरी शक्ति नै आदि शङ्कराचार्यको ‘सौन्दर्यलहरी’ सम्बोधन हो । वैदिक ‘गायत्री’ मन्त्रलाई तन्त्रले ‘गायन्त त्रायते इति गायत्री’ भनेर गायकीद्वारा त्राण दिने प्रसाधनका रूपमा ‘आठ अक्षर’ को पदलाई प्रत्येकलाई दुई तत्त्वको घनात्मक स्वरूप मानिन्छ । ती हुन् ‘ज्योति’ (रूप) र ‘नाम’ । तसर्थ ‘नाम’ र ‘रूप’ को लक्षणद्वारा आद्यशक्तिको भक्ति ‘ज्योतिषां ज्योति स्वरूपमा ‘परमविध्ाा’ र ‘जीव’ अथवा ‘चित्त’ शक्तिका मूलका रूपमा, भित्री र बाहृय स्वरूपमा चिन्त्रित गर्ने प्रथा, ईसाको नवौँ शताब्दी शङ्कराचार्यको समय (सन् ७८८-८२०) तिर बहृमको सूक्ष्म तथा स्थूल स्वरूपमा निक्र्योल गरेको पाइन्छ । गायत्रीको २४ अक्षर योगदर्शनको २४ तत्त्वमय स्वरूपमा चौबीस अक्षरलाई चारवेदले छ आम्नायको भावमा गुणन गर्दा छ शक्तिहरूको परिलक्षण सिद्ध हुन्छ । तसर्थ, यी छ शक्तिहरूको स्वरूपमा षणमातृकाको आदिम चिन्तनबाट षडानन-स्कन्धकुमारको प्रकरण अग्निवत् शिवको शुक्रबाट निष्णात् मानिन्छ । यी छ शक्तिहरू निम्नानुसार छन् (क) पराशक्ति, (ख) ज्ञानशक्ति (ग) इच्छाशक्ति (घ) क्रियाशक्ति (ङ) कुण्डलिनीशक्ति तथा (च) मातृका शक्ति ।

मन्त्रशास्त्रले ‘मातृकाशक्ति’ वा रहस्यलाई- इच्छा, ज्ञान र क्रियाशक्तिका जननी मानेको छ । यिनै शक्तिको आराधनाद्वारा पराशक्ति र कुण्डलिनी शक्तिको साधना सिद्ध हुने आध्यात्मिक भाव बोधन हुन्छ । वास्तवमा, तन्त्रले उपयुक्त षड्शक्तिहरू साधकको ‘तन’ अथवा देहमै सूक्ष्माति सूक्ष्मरूपमा लीन रहेको मान्यता राख्दछ तसर्थ साधनाको प्रक्रियापूर्ण गरेर त्यसलाई सिद्ध गर्नु नै यिन प्रमुख ‘ध्येय’ हो । जसरी सुकेको काठमा अग्निको बास हुन्छ त्यसैगरी सुप्त शरीरभित्र शक्ति निर्लिप्त रहन्छ । केवल जागरणबाट यसको आभाष सिद्ध हुने तथ्यमा हिन्दू तथा बौद्ध दुवै तन्त्रको समान मान्यता छ । तसर्थ शक्ति साधनाको अर्को विकल्प ‘कार्य-साधना’ हो । उपर्युक्त साधनामा मन्त्रशक्ति-सृष्टि कारक मानिन्छ तसर्थ मन्त्रविना शक्ति साधना निष्फल र निस्त्रिmय रहन्छ । बीज मन्त्र नै शक्तिको ‘भू’ धरातल मानिने हुनाले बुद्धको भूमिस्पर्शको परिलक्षण पनि बुद्धत्वको मन्त्रसिद्धिको परिचायक हो । मन्त्रसिद्धिविना अर्को विकल्पतन्त्र वा वैदिकी पद्धतिमा अर्को छैन केवल अन्धभक्तिले शक्तिको आभिर्भाव हुँदैन ।

उपासना
शक्तिको दुई प्रकारका उपासना प्रचलित छ जस्तै-सकल वा सगुण र निस्कल वा निर्गुण । सकल उपासनामा शक्तिलाई मानसिक, शारीरिक एवं वाचिक प्रक्रियाद्वारा मातृका स्वरूपमा- ‘जगत्जननी’ वा जगत्माताका भावमा पूजन, कीर्तन, नमन गर्ने प्रथा छ । यो प्रथा पनि तन्त्र र वैदिक दुई मतमा भिन्दै प्रक्रियाद्वारा सम्पादन हुन्छ तर निस्कल वा निर्गुण भावमा मातृशक्ति प्रतिकात्मक प्रतिबिम्ब वा प्रकृतिका मूलत्रयको भावमा सात्विक, राजषिक र तामसिक प्रभृत्तिका सङ्केतहरूद्वारा महसुस गरिन्छ । यस्ता निस्कल वा निर्गुण भावलाई ‘व्यक्त’ ‘अव्यक्त’ अथवा ‘व्यक्ताव्यक्त’ तीन भिन्दै स्वरूपमा सङ्केत गर्ने प्रक्रिया छ । यसै क्रममा- शक्तिपीठहरू व्यक्त-अव्यक्त प्रकृतिका पुञ्जस्वरूपमा हिन्दूमान्यताले पौराणिक एवं तान्त्रिक स्वरूपमा ग्रहण गरिएको ‘भूस्थलहरू’ अथवा ‘स्थान’ का रूपमा मानिन्छ । पुराणहरूको मान्यताले ती स्थानहरूका ‘अग्रज’ का रूपमा ‘श्रीगणेशको’ आहृवान गर्ने परम्पराको यथास्थितिको अवधारणाले ती स्थानहरू मातृशक्तिका पीठका रूपमा पूज्य हुने र त्यहाँका अधिपतिलाई ‘स्थानविनायक’ वा ‘स्थान गणेश’ का रूपमा मान्ने प्रथा नेपालमा समेत विद्यमान छ । मध्यकालमा यस्ता स्थानविनायकका लागि छुट्याइएका स्थलहरूको नामकरण ‘त्वाःइनाय’ वा ‘त्वारगणेश’का रूपमा मान्ने मातृशक्ति सम्प्रदायको प्रभाव क्षेत्रका उपज मान्न सकिन्छ ।
शक्तिपीठ तथा त्यसका अधिक्षकका रूपमा श्रीगणेशको मूर्ति स्थापना गर्ने परम्पराले- इच्छा, क्रिया र ज्ञान शक्तिका त्रिकोणात्मक स्वरूपलाई सौख्यदर्शनको मूल प्रकृतिको- ‘त्रि’ मय भावलाई व्यक्त गर्ने हुँदा श्रीगणेशलाई ‘मूला’ (कन्दमूलरूपमा पृथ्वीतत्त्वको परिचायक) हातमा लिएको भावमा मूर्ति तथा चित्रहरूमा व्यक्त गर्नुपर्ने प्रतिमा लक्षण शास्त्रको प्रमाण छ । तसर्थ, कामरू कामाक्षालगायत सबैजसो शक्तिपीठहरूमा प्रत्यक्ष-अप्रत्यक्षरूपमा श्रीगणेशलाई ‘कामराज’ वा ‘राजपुत्र’ का रूपमा प्रस्तुत गर्ने परम्परा छ । मन, बुद्धि र अहंकार यी तीनै तत्त्व मूल प्रकृतिबाट निष्पात मानिन्छ । सौख्यको पुरुष अव्यक्त-अस्पृश्य रहेझैँ यी गणेश शक्ति केन्द्रमा हुन्छ । तथापि-शक्तिका मूल स्वरूप र स्रोतलाई मातृ वा सृष्टि शक्तिका रूपमा ईश्वरीय भावले देवी भागवत्लगायत अन्य पुराणहरूले मनन गरेको पाइन्छ तर तन्त्रको मतमा देवी उपासना नै केवल एक मात्र शक्ति उपासना होइन । अपितु, गाणपत्य, सौर वैष्णव, शैव, शाक्त तथा बौद्ध र जैन पनि नैरात्म्य (आत्माविहीन वा स्वरूप विहीन) शक्तिका उपासक हुन् किनभने तन्त्रमा पुरुषलाई निर्गुण मानिने र निर्गुण-उपासना वर्जित मानिने हुनाले ती पुरुष शक्ति नै वास्तवमा स्त्रीरूपमा मातृका स्वभाव व्यक्त भएको देखिन्छ । तसर्थ-हिन्दू पुराणमतका देवपरिवारहरूमा ब्रहृमाको स्वरूपमा ब्रहृमायणी, रूद्रको स्त्रीभाव रुद्रायणी, इन्द्रको इन्द्रायणी, महेशको माहेश्वरी, नारायणको नारायणी, विष्णुको वैष्णवी, कुमारबाट कौमारी, नरसिंहका नारसिंही, वराहबाट बाराहीको स्वरूप आभिर्भाव भएको मानिन्छ । पौराणिक कथाले व्यवहारमा ल्याइएका गणमा ब्रहृमा, इन्द्र, महेश, विष्णु, बराह, कुमार र यमका स्त्री स्वरूपबाट आरक्षित महालक्ष्मीको बोध हुने परम्पराले अष्टमातृकाको पीठको न्यास भएको देखिन्छ । वास्तु प्रकरणमा आठवटा कुनामा आसीन रहने अष्टकोणको अधिष्ठात्रीका रूपमा अष्टमातृका मध्यकालीन नेपालको नगरवस्तुको रक्षिकाका रूपमा प्राचीन वास्तुकलाका रक्षिका-हारतीलाई उछिनेर स्थापित भएको देखिन्छ ।

मध्यकालीन नेपालले प्राचीन लिच्छविकालको षस्ठि देवकुल, मातृका गण यथा छ मातृका, सप्तमातृकाको भावलाई उछिने र कान्तिपुरमा अष्टमातृका, भक्तपुरमा नवदुर्गा तथा पाटनमा दशमहाविद्याका शक्तिपीठ, तत्कालीन शक्तिकेन्द्रका रूपमा तुलजाभवानीको केन्द्रस्थललाई मध्यमा मानेर आरक्षित गरिएको वास्तु परम्परा छ ।

शाक्त तीर्थ तथा पीठ
तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ । थोमस एटे्रकिन्सनको मतमा त नेपाल ५१ हजार भैरभैरवीको पीठ हो । यस अर्थमा नेपालमा एक लाख दुई हजार शक्ति पीठहरू विद्यमान छन् तर डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय (महापीठ निरुपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ । त्यस्तै, देवी भागवतले नेपाललाई ‘गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्’ भनेर ‘शक्तितीर्थ’ का महान् स्थल मानेको छ । माथि उल्लेख भएअनुसार हरेक शक्तिको सगुण र निर्गुण उपासना हुन्छ । गुहृयकाली यसको अपवाद होइन । पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई ‘उत्तराम्नाय’ की नायिका मानिन्छ । अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुहृयोपनिषद्ले गर्दै गृहृयेश्वरीको वासस्थललाई ‘शाक्ततीर्थ’ मानेको छ । महांकालसंहिताको कालीखण्डमा गुहृयकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ । यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुहृयकालीको चित्रमा महांकाल संहितामा छ ।

गुहृयश्वरी पीठ
तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ । दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ । बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड (नेपाल महात्म्यमा) मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ । परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल (ने.सं. ७६२-७९४) का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई कुण्डमय एवं सत्तलयुक्त बनाउने अभिभारा लम्वकर्ण भट्ट (लक्ष्मीनारायण भट्ट) लाई दिएको छ । भाषा वंशावलीले भने यसको प्रादुर्भाव कुनै बोडेका (खोकना ?) तेली (साल्मी) ले यस स्थानमा दर्शन पाएको कुरा उल्लिखित छ । प्रायः सबै जसो कथन श्रवणले पाशुपत क्षेत्रको एक गुहृयश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुहृयश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्छ । स्वयम्भू पुराणले पुरानो गुहृयश्वरी (हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।

नेपालमा शिवशक्तिका एकात्म्यलाई तन्त्र तथा पुराणहरूमा प्रतीक तथा मूर्त स्वरूपले विवेचना गरेको पाइन्छ । यसअनुसार गुहृयश्वरी मध्यकालदेखि दिव्यश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौँ जनसेवा, (विशालबजारको महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोडमा पनि स्थापना गरिएको छ । गुहृयश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझै सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम ‘गुहृयक’ नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई ‘गुहृयश्वरी’ भन्ने गरेको अर्को मत पनि छ । त्यस्तै यो तन्त्रले मूलाधार चक्र संरक्षिका भैदिनाले यिनीलाई गुहृयश्वरी भनेको र ‘गुहृया’ शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय ‘काली’ स्वरूपमा यिनलाई ‘गुहृय काली’ समेत भनिन्छ । तसर्थ, दसमहाविद्या परम्परामा यिनीको नाम सर्वप्रथम आउँछ, यथाः काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *