Skip to content

चित्त दुखेको त्यो सन्दर्भ

  • by


विश्वेश्वरप्रसाद कोइरालासँग मेरो पहिलो भेट बनारसमा भएको हो । केदारमान व्यथित र म भागेर त्यहाँ पुगेका थियौँ । तर, दुर्भाग्य त्यही पहिलो भेट नै दाँतमा ढुंगा लागेजस्तो भयो ।

म, बीपी र व्यथित बसेर नेपाल तथा कलकत्ताका घटनाक्रमका बारेमा सामान्य छलफल गर्यौँ । बीपी बडो सौहार्द्रपूर्ण तरिकाले खुलेर कुराकानी गररिहनुभएको थियो । त्यत्तिकैमा एकाएक व्यथितको छटपटी बढेको मैले महसुस गरेँ । यसका पछाडिको एउटै कारण थियो, बीपी मसँग बढी नै आत्मीय भएर बोलिरहनु । खुला-खुलस्त तरिकाले कुराकानी भइरहेको थियो ।

सोचेँ, केदारमानले पक्कै पनि बीपीसँग एकान्तमा कुराकानी गर्न चाहेका हुन् । मैले एउटा नाटकको अभिनय गरेँ । आफू अत्यन्त थाकेको र निन्द्रा लागेको स्वाङ पार्दै सुतेँ । त्यत्तिकैमा म पूर्ण रूपमा सुतेको छु कि छैन भनेर व्यथितले यसो झाक्कलझुक्कल पनि पारे । तर, मेरो अभिनय बेजोड थियो । उनले पत्तो पाउन सकेनन् ।

बीपीले मेराबारेमा केदारमानसँग सोधपुछ गर्नुभयो । केदारमानले भने, “यी मसँग धेरै पहिलेदेखि सँगै काम गरेका मान्छे हुन् । तर, यिनलाई जासुससँग मिल्या मान्छे भन्छन् ।” मेरो त होसहवास नै रहेन । म त आफूलाई प्रजातन्त्रका लागि समर्पित मान्छे सम्झन्थेँ । उठौँ, सुतेको अभिनय गरेको छु, नउठौँ खपिसक्नु भएन । यसो सम्झेँ, अरू पो कुरा गर्ने हुन् कि ! किन अझै अभिनय नगरौँ । तर, त्यसपछि मेराबारेमा अरू कुरा भएन । व्यथितको त्यही भनाइले मलाई पछिसम्म पोलिरह्यो र दुखित बनाइरह्यो । बीपीको आत्मवृत्तान्तमा हामीहरूका बारेमा त्यसभन्दा बेग्लै ढंगले वर्णन गरिएको छ । त्यसले पनि मेरो चित्त दुखाउने काम गर्यो । त्यसैले खास कुरा के हो ? नढाँटीकन भन्नैपर्छ ।

यो २००४ सालतिरको कुरा हो । राणाहरूको एकआपसमा पानी बाराबार थियो । एउटाले अर्कोलाई देख्नै नसक्ने र अर्कोले झन् सहनै नसक्ने । मोहनशमशेर अलि कडा खालका शासक थिए भने पद्मशमशेर नरम । बीपी त पद्मशमशेरलाई दुर्बल शासकको दर्जा दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “दुर्बल शासक प्रजातन्त्रका लागि असल हुन्छ ।” त्यसैले हामीहरू मोहनशमशेरका कट्टर विरोधीजस्ता देखिएका थियौँ । यसैबाट केही फाइदा उठाउन सकिन्छ कि भन्ने सोच पद्मशमशेरमा हुँदो हो ।

राजनीतिमा बडो खतरनाक खेल खेलिँदोरहेछ । कुरैकुरामा आफ्ना विरोधीलाई सिध्याउनेसम्मका कुरा चले । कतिसम्म भने मोहनशमशेरलाई सिध्याउने खेलमा उनका आफन्तहरू नै लागे । तर, पद्मशमशेरले यो कुरा मानेनन् । उनी अलि शान्त प्रकृतिका मान्छे थिए । भने, “वंशहत्या गर्दिनँ ।” हामी आफैँले यो कुरा सुनेकाले राणाहरूभित्रै पनि केही राम्रा मान्छे रहेछन् भन्ने लाग्यो ।

केही समय जेल परेर रिहा भएपछि मलाई चारभञ्ज्याङबाहिर जान नपाउने उर्दी थियो । अचेल भन्छन् नि नजरबन्द, हो त्यस्तै थियो मलाई । पछि त देख्नासाथ गोली ठोक्ने आदेश आयो । त्यसपछि मलाई केदारमान व्यथितले नै पद्मशमशेरसँग नजिकको सम्बन्ध स्थापित गरििदए । उनले मलाई राणाहरूका वास्तविक आन्तरकि समस्याहरू बडो रोचक ढंगले सुनाउँथे । उनले मलाई पद्मशमशेरको दरबारमा लगे । पद्मशमशेरका छोरा वसन्तशमशेर त्यहीँ थिए । राणाहरूबीचको तनावका बारेमा पहिलोपटक मैले त्यहीँ चाल पाएको थिएँ ।

पद्मशमशेरले भने, “तिमीहरू यहीँ बस्यौ भने कारबाहीमा पर्न सक्छौ । त्यसैले, यहाँ नबस, चारभञ्ज्याङ काटेर जाऊ ।” पद्मशमशेरका छोरा वसन्तले हामीलाई यहाँबाट भगाउने बन्दोबस्त मिलाउने वचन दिए किनभने उनका बाबुका विरोधीहरूले हामीलाई सिध्याउने खेल रचेको उनले पनि चाल पाएका रहेछन् । त्यसपछि बाबुको आदेशमुताबिक उनले नै हामीलाई एउटा रिभल्वर र पाँच हजार रुपियाँ नगद दिएर काठमाडौँबाट भगाए ।

हामी दुई जनामध्ये मैले रिभल्वर र उनले पैसा बोकेर भाग्यौँ । नेपालको बोर्डर पार गर्न हामीलाई ज्यादै कठिनाइको सामना गर्नुपर्यो । कतिपय ठाउँमा त हामी भोकभोकै पनि सुत्यौँ । कतिपय ठाउँमा क्रान्तिकारी नेता भनेर स्वागत पनि गर्थे । यसरी हामी दुई जना भागेर बनारस पुगेका थियौँ । बनारस पुगेपछि त उनले बीपीलाई त्यस्तो कुरा पो गरे । त्यसैले मलाई केदारमान बडो रहस्यमय व्यक्ति लाग्थे ।

राजनीतिमा यस्तो भइरहन्छ । यसक्रममा म उदयपुरका रुद्रप्रसाद गिरीलाई बरोबर सम्झिरहन्छु । नातामा उनी तुलसी गिरीका दाइ पर्थे । ००७ सालअघि उनी महोत्तरीका गभर्नर थिए भने पछि मन्त्री पनि भए । उनकै निर्देशनमा म उदयपुरको जेल तोडेर साथीहरू छुटाउन त्यहाँ पुगेको थिएँ । त्यहीँ मेरो उनीसँग घनिष्टता बढ्दै गयो । उदयपुरमा संगठन विस्तारका क्रममा पुगेका साथीहरू त्यहाँ पक्राउ परेका थिए ।

मैले सेलरोटी, अनर्सा आदि नेपाली परिकार साथीहरूलाई पुर्याउने निहुँमा खुर्सानीको धूलो पनि सँगै गोजीमा बोकेर गएको थिएँ । पहरा दिइरहेको पुलिसको आँखामा त्यही खुर्सानीको धूलो हालेर उसैको बन्दुक खोसी साथीहरूलाई छुटाएर जयनगर ल्याएँ किनभने त्यसबेला जयनगर हाम्रो मूल केन्द्र थियो ।

मैले यो प्रसंग किन कोट्याएको हुँ भने रुद्र गिरीको तुलनामा तुलसी गिरीको योगदान नेपाली कांग्रेसमा नगन्य नै थियो । तर, तुलसी गिरीको राजनीतिक प्रगति नेपाली कांग्रेसकै कारण चुलियो किनभने उनले राजनीतिक दाउपेच जानेका थिए । चाकडी र अघिपछि गर्ने कलामा उनी निपूण थिए । रुद्र गिरी त्यस्तो गर्न जान्दैनथे । उनी पछि पर्दै गए । यस्ता व्यक्तिहरू नेपाली कांग्रेसमा बग्रेल्ती छन् । त्यसैले राजनीति पनि टाठाबाठा र लप्पनछप्पन गर्न जान्नेहरूकै निम्ति रहेछ । सोझासीधाहरूका निम्ति त्यो उपयुक्त ठाउँ रहेनछ ।

अहिले त पुराना कुराहरू पनि सबै विस्मृतिमा पुगिसके । धेरै कुरा सम्झनै सक्दिनँ । एउटा सानो दुर्घटनाले मेरो स्मरण शक्ति नै पूरै हराएर गयो । अब त कसैले ती प्रसंगहरू कोट्याइदियो र नाम भन्यो भने यसो जोड्न मात्र सक्छु, रिल घुमेजस्तो पुराना घटनाहरू स्मरणमा आउँदैनन् । त्यसैले अब मलाई घटनाहरू बंग्याउनु र आफूलाई माथि पार्नु जरुरी छैन । जीवनमा मैले त्यस्तो कहिल्यै गर्दा पनि गरनिँ । त्यस्तो गरेको भए अप्ठ्यारो बेलामा राजनीति गरेको मान्छे, सजिलो पर्दा वकालततर्फ लाग्ने थिइनँ होला ।

नेपाल साप्ताहिक ३७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *