Skip to content


जब सबै रहर र उद्देश्यहरू समाप्त हुन्छन्, त्यतिखेर मानिस मर्नुभन्दा बाँच्नुको पीडाले मर्दो रहेछ । ऊ बेलाबेला आफूलाई विगतका पानाहरूमा चिहाउने गर्छे । जिन्दगी कति निरस र कुण्ठित थियो, ऊ अनुभूत गर्छे । उसलाई फेरि त्यता फर्किन मन लाग्दैन । हुने भए सम्झना आउने सारा झ्यालढोकाहरू बन्द गरििदन्थी । एकान्तमा सम्झना आउँछ । त्यसैले एकान्तबाट आफूलाई बचाउँदै मानिसका भीडहरूमा सुखद अनुभूति खोज्न भौँतारिन्छे । तर, मानिस त हो, जहाँको भए पनि स्वभाव र चरत्रि कहाँ फरक हुँदोरहेछ र ?

ऊ अमेरकिा आउँदा ऊसँगै उसको दुर्दान्त विगत पनि पछ्याउँदै आएको थियो । यसको पीडा ऊसँगै थियो । अमेरकिाले त्यसमा थप नूनचूक दल्यो । उसले यहाँ पनि महिलालाई हेर्ने दृष्टिकोणमा फरक पाइन । कामको खोजीमा भौँतारँिदा उसले थाहा पाई, महिला उपभोग्य सामग्रीजस्तै रहेछन् र यहाँ जेको पनि मूल्य चुकाउनु पर्दो रहेछ ।

एक दिन एउटा मान्छेलाई भेटी । हेर्दा ऊ भलाद्मी होइन भन्ने लख काट्न मिल्दैनथ्यो । उसले राम्रो जागिर दिन्छु भनेर लग्यो । सारा घर घुमायो र भन्यो, “तिमीले मेरो घरको काम गरेको यति र अतिरिक्त काम गरेको ५० प्रतिशत थप ।” ऊ अकमक्क परी । के हो यो अतिरिक्त काम ? उसले बुझिन । सायद यहाँको चलन होला भनी र प्रश्नवाचक भावले उसको अनुहारतिर हेरी । उसले बुझेको भावले उसको कम्मर समात्यो । विचरी ! बल्ल बुझी आइमाईको अतिरिक्त काम र पारश्रिमिकको रहस्य । उसको सात्तो उड्यो । बेहोसीमै कसरी कसरी त्यहाँबाट निस्केर हाइवेमा दौडिई, धेरै दौडेपछि मात्र होसमा आई । ज्यान जोगिएछ ! ऊ आश्वस्त भएपछि छेउको सार्वजनिक धारामा घटघट पानी पिई र कोठामा गएर भोकै सुती । मानसिक तनाव झेल्नु र भोकभोकै सुत्नु उसको नियति नै भइसकेको थियो । कैयौँ दिन ऊ यसरी नै भाँैतारएिकी छ, मानिसको भोको हेराइबाट जोगिँदै भोकभोकै । उसले मनमनै भनी, “कस्तो विडम्बना ! छि, मान्छेको वासनाको भोक मेटाएर आफ्नो पेट भर्नुपर्ने !”

तर, सुशान्ता ! ऊ अहिले नामजस्तै शान्त छ । अब उसले जीवन जीउने कला र जीवन बाँच्ने आधार पनि पाएकी छ ।

हामी एउटै अपार्टमेन्टमा बस्छौँ । काम पनि हाम्रो उस्तैउस्तै हो । फरक कति भने यो काम म रहरले गरिरहेकी छु । मेरा परविार, श्रीमान्, म, छोराछोरी वर्षौंदेखि यतै बस्दै आएका छौँ । श्रीमान् एउटा सफ्टवेयरमा काम गर्नुहुन्छ । कमाइ हामीलाई पुग्नेभन्दा राम्रो छ । छोरा-छोरी पढ्दैछन् । यी सारा कुराहरूबाट ढुक्क भएपछि मलाई लाग्यो मैले पनि केही काम गर्नुपर्छ । अमेरकिामा आएर शुद्ध गृहिणी भएको सुहाउँदैन । यही सोचेर म यो वृद्धाश्रममा काम गर्न थालेँ, यहाँ यसलाई ओल्डएज होम भन्छन् ।

सुशान्तालाई मैले यही वृद्धाश्रममा भेटेकी हुँ । आवश्यकताले हामी फरक-फरक भए पनि अनुभूतिले फरक छैनौँ । किनभने, म नारी हुँ, उसका कुरा बुझ्छु । बेलाबेला ऊ अतीतका पन्नाहरू पल्टाउँछे । ऊ माइतमा हुन्जेल कुनै राजकुमारीभन्दा कम थिइन । विवाहअघिसम्म रहर र इच्छामा कुनै ‘कम्प्रोमाएज’ गर्नु परेन, सिन्को पनि भाँच्नु पर्दैनथ्यो भन्थी । तर, अचानक विवाह भएर पतिको घर भित्रिएपछि उसका ती चञ्चलता, रहर र भावनाहरू एकाएक अपराधी हुन पुगे, तिनलाई हत्कडी लगाइयो । “दिदी माइतीमा हुँदाका दिनहरू सुन्दर सपनाजस्ता थिए, विवाह भएपछि नर्क भए ।” मैले उसको आँसुमा गोली लागेको घाइतेको मर्नुअघिको छटपटी देखेँ ।

कुरालाई अन्यत्र मोड्दै सोधेँ, “कसरी आयौ यहाँ ?”

उसले आफ्नो अतीतका फाइल खोली र थन्काएका बिलौनाहरू मेरा काखमा फुत्तफुत्त फाल्दै गई । “दिदी म आफ्नै पतिको बलात्कार सहन नसकी यता आएकी !” ऊ छताछुल्ल भएर पोखिँदै थिई । यसले मेरो मनमा आठ रेक्टरको भुइँचालो गएको अनुभव भयो । “हरेक रात ऊ मातेर आउँथ्यो र मेरो माइतीलाई तथानाम गाली गर्दै मलाई भकुर्थ्यो । अनि तँ यस कामका लागि मात्र योग्य छस् भन्दै बलात्कार गर्थ्यो । म एउटी महिलाले सहनुको सीमा नाघिसकेको थियो । नेपाल बस्न दिएनन् । माइतीको सहयोगले यहाँ आएँ,” उसले एक सासमा आफ्नो आत्मकथा भनी । यसले मेरो सास रोकिएजस्तो भयो । उसले भनी, “नेपालमै बसिरहेकी भए मैले आत्महत्या गर्नुपर्थ्यो ।”

ऊ भन्दै थिई, यहाँ पनि कैयौँ दिनसम्म एजेन्टको दैलो ढुकेर हत्तु भएकी थिई । खालि त्यस्तै घर मात्र पाइने । हरेक बिहान १० बजे एजेन्टको दैलो ढुक्न पुग्यो र राती भोक, प्यास र सुर्ताले सीमान्त गलेपछि धाराको पानी घटघट खाएर सुत्थी । फेरि भोलिबाट त्यही दैनन्दिनी ।

“मैले हरेस खाएकी भए, सायद म आफ्नो अनुहार ऐनामा हेर्न योग्य हुने थिइनँ होला । दिदी ! परपुरुषअघि निःवस्त्र हुन कसरी सक्छन् महिलाहरू ?” एकछिन चुप लागी र फेरि सम्झेजस्तै गरेर भनी, “हुन त पेटको भोकले कति दिनसम्म साथ दिन्छ र ! सायद मेरो पनि नियति यस्तै हुन्थ्यो होला ।” तर, उसको नियतिले साथ दियो एक दिन, उसको भाग्य खुल्यो । एउटा एजेन्टमार्फत ऊ यो ओल्डएज होममा आई । उसको जिन्दगीले एउटा नयाँ मोड पायो ।

हामी एकअर्काका एकदमै नजिक भइसकेका छौँ । त्यसैले हामी जति गम्भीर कुरा गर्छौं, त्यत्ति नै हल्का ठट्टा पनि । एक बिहानै ऊ मेरोमा आई । अक्सर ऊ नै मकहाँ आउँछे । मैले स्याहार्ने बूढीआमै अलि बढी नै अशक्त छिन् । उनलाई एक्लै छोड्न मेरो जिम्मेवारीले दिँदैन । उनका छोराछोरी बिदामा घर बसेका बेला मात्र मलाई फुर्सद हुन्छ ।

धेरै भयो सुशीको मुखबाट नेपालतिरका प्रसंग उच्चारण नभएका । उसमा म अर्को पनि परविर्तन देखिरहेकी छु । अचेल ऊ आफूले स्याहार्ने एउटा बूढाको कुरा उठाइरहन्छे । वास्तवमा उसले स्याहार्नुपर्ने दुई बूढा छन्, ८० र ६० का । दुवैको स्वभावबीच आकाश-जमिनको फरक छ । ६० वर्षे बूढो मर्न पाए खेलै खत्तम भन्ने सिद्धान्तमा बाँचिरहेको छ । हरेक क्षण घोर निराशामा डुबेको भेटिन्छ, झोक्राइरहन्छ । कसैसँग त्यति बोल्दैन पनि । तर, अर्को बूढो अहिले पनि तरुनीका कुरा गर्दा उसको अनुहारमा घाम उदाएको भान हुन्छ । यौवनले उहिल्यै नेटो काटी सक्यो तर अनुभूति जीउँदै छ । “मर्न लाग्दा पनि क्या रोमान्टिक,” सुशी भन्थी, “यो बूढो पुरानो हिन्दी फिल्म आनन्दको राजेश खन्नाजस्तो पो लाग्छ है दिदी !” सुशी अचेल समय उसकै प्रशंसामा खर्चिन्छेे, कुनै बेला आफ्नो पतिको निन्दा गरेजस्तै । बूढोलाई उसको मर्न नसकेको बैँसले यति जीवन्त बनाएको मेरो अनुमान छ । ऊ आज पनि २५ वर्षे ठिटाले जस्तो ठट्टा गर्छ । सुशी भन्थी, “केस फुल्यो तर मन अझ तरुनै भनेकै यही रहेछ ।”

त्यस दिन मैले ऊ चाँडै आएकीमा भनेँ, कति छिट्टै बूढाहरूलाई भ्याएर आएकी । मेरा कुरामा हल्का आपत्ति गरी सुशीले, “दिदी भ्याउनु भनेको त अलिक छाडाछाडाजस्तो भएन र ? मुख कुल्ला गर्नुपर्ला ।” मैले हाँस्दै भनेँ, “उल्टो बुझ्नेले जे अर्थ लगाउँदा पनि हुन्छ तर मैले बाबैहरूलाई खुवाइपियाई सकेर आयौ भन्न मात्र खोजेकी हुँ ।” त्यस दिन उसले त्यो राजेश खन्ना बूढामाथि आवश्यकताभन्दा लामै प्रवचन दिई । सुशी कुरा गर्न सिपालु छे । उसको वक्तृत्वकला प्रशंसनीय छ । नेपालमै भए, कुनै क्याम्पसमा पढाउँथी होला या एउटी राम्री महिला अधिकारकर्मी हुन्थी । तर, श्रीमान्को यातनाको उपहारस्वरूप बिचरा यहाँ बूढाहरूको सुसारे भएकी छ ।

त्यस दिन पनि उसले बूढाको खुलेर प्रशंसा गरेेकी थिई । भन्दैथिई, चाहिनेभन्दा अलिक बढी नै रोमान्टिक भएको छ । रानी, रानी भनेर फूलमा मौरी भन्केझैँ उसको अघिपछि भन्किरहन्छ । “बेलाबेला त दिदी, म बूढो हेर्न बसेकी कि मलाई हेर्न बूढो बसेको हो अलमलमा पर्छु !” ऊ भन्थी ।

बूढो उसलाई रानी भन्थ्यो । यसको कथा पनि सुशीले रोचक शैलीमा सुनाएकी थिई । एक दिन बूढोले भन्यो, “हाई पि्रटी ! तिम्रो भाषामा क्वीनलाई के भन्छन् ?” उसले भनी, “रानी ।” अनि, बूढाले घोषणा गरििदयो, “फ्रम टू डे, यूआर बिकम रानी ।” उसलाई मनमनै हाँसो पनि उठ्यो । रानीको ठाउँमा नौकरानी भनिदिनुपर्ने रहेछ । कम्तीमा काम अनुसारको नाम त मिल्थ्यो । तर, यसमा आपत्ति गर्नु पञ्चायतकालमा राजाको गोर्खा दक्षिणबाहु अस्वीकार गर्नु बराबर ठानिन्थ्यो सायद । यसरी ऊ रानी हुनपुगी । ऊ सुशीका पछाडि अंगरक्षकझैँ घुमिरहन्थ्यो । उसलाई लाग्थ्यो, यो जिउँदै पिण्ड खान लागेको बूढाले मेरो के नै बिगार्छ, हदै गर्दा हात, पाखुरासम्म सुम्सुम्याउँछ । बूढाका हात कहिलेकाहीँ प्रतिबन्धित क्षेत्रतिर बढ्न खोज्थे, ऊ थाहा नपाउने गरी रोक्थी र आफ्नो हातमा लिन्थी । ऊ भन्थी, “बूढो बेलाबेला पात्तिन खोज्छ । त्यसैले होला यो अर्को बूढोभन्दा कता हो कता जिउँदो दिलको छ । एक दिन बूढाेले मेरो कम्मरमा हात घुमायो र भन्यो, तिमीलाई भेटपछि मलाई आफू बूढो भएकामा पहिलोचोटि सबैभन्दा बढी पश्चात्ताप भयो । यसो भन्दा बूढाका आँखामा हजार भोल्टको उज्यालो चम्किएको थियो । ऊ भनिरहेको थियो, रानी ईश्वरले तेरो अन्तिम इच्छा के भनेर सोध्यो भने, म मेरो उमेर थोरै दिनलाई मात्र भए फर्काइदेऊ भन्थेँ । थाहा छ दिदी किन अरे । ऊ मसँग बिहा गर्छ रे !”

मैले भनेथेँ, “गर न त अहिले पनि के बिग्रेको छ र ? बूढाको जायजेथा राम्रै छ क्यार !” ऊ ठुस्केजस्तै गर्दै बच्चाजस्तो मेरो काखमा घुस्रेकी थिई ।

आज शनिबार, बिदाको दिन । यहाँ शनिबार र आइतबार बिदा हुन्छ । प्रायः म सप्ताहन्तका यी दुई दिन परविारसँगै बिताउन बोस्टनबाट न्युयोर्क जान्छु । आज पनि म एउटा हातेब्याग च्यापेर बाहिर निस्केकी मात्र थिएँ, सुशान्त टुप्लुक्क आइपुगी ।

“म हिँडेँ, अब सोमबार बिहान भेटौँला ।” तर, उसले मलाई निस्कन दिइन । मेरा हात च्याप्पै समाई बच्चाले आमाको हात समाएजस्तै । “दिदी एकछिन भए पनि मेरो कुरा सुनेर जानुहोस् प्लिज !” ऊ आज साँच्चिकै गम्भीर देखिन्थी । मलाई तानेर भित्र लगेर ओछ्यानमा बसाई र आफू पनि बसी अनि भनी, “दिदी मैले बिहे गर्ने निर्णय गरेँ ।” म तीनछक्कभन्दा पनि माथिल्लो गन्तीको छक्क परेँ । सोधेँ, “कोसँग ?” उसले अलि संकोच र लाज मिसिएको लबजमा भनी, “त्यही बूढोसँग ।” अहिले म छक्क पर्ने सबैभन्दा अन्तिम अंकमा पुगेँ ।

उ भन्दै थिई, “त्यसले मेरो हात समाएर भन्यो, म तिमीलाई माया गर्छु, तिमी मसँग विवाह गछ्र्यौ ?” बूढो गम्भीर थियो, “म अब धेरै बाँच्दिनँ तर अब तिमीबाट पत्नीसुखको अनुभूति बोकेर मर्न चाहन्छु ।” मैले उसलाई भनेँ, “म ४० वर्षकी महिला, तपाईं ८० वर्षको वृद्ध । यो कसरी सम्भव हुन्छ ?” अनि उसले भन्यो, “मायामा सबै सम्भव हुन्छ । मलाई तिम्रो शरीरको होइन, भावनात्मक सुख चाहिएको छ ।” मैले धेरै विचार गरेँ दिदी । मलाई अब यौवनको आनन्द लिनु छैन, त्यो आनन्द त मेरो पतिले उहिल्यै मारसिक्यो । रहर भन्नु पनि केही छैनन् । तर, आवश्यकताचाहिँ नमरेसम्म चाहिँदो रहेछ, बूढो मेरो आवश्यकता हो । बाँकी जीवन बाँच्नु हो, जसरी सुखी हुन सकिन्छ त्यसरी । मलाई बूढोसँग सुख हुन्छ भन्ने लाग्यो र यो निर्णय गरेँ । मलाई यो जिन्दगी बाँच्ने आधार चाहिएको छ, बूढो मेरो आधार हो ।”

म मुसुक्क हाँसेँ र उसलाई अँगालो मारेँ । अनि बाहिर पर्खिराखेको गाडीमा बस्दै सोचेँ, सुशान्ताले ठीकै गरी, उसको दुनियाँमा कोही थिएन । यस जीवनमा अब उसलाई फक्रिनु पनि थिएन, त्यसैले बूढो रूखमै सही पाउलो त हाल्न पाई ! मैले बिदाइको हात हल्लाएँ र बधाईस्वरूप हवाई चुम्बन दिएँ ।

नेपाल साप्ताहिक ३८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *