हुन्छ !
म तिमीलाई
एउटा सिङ्गो प्रेम दिन्छु
फेरि हुरी चल्नुअघि
भीषण वर्षा हुनुअघि
म तिमीलाई-
तिमी सँगसँगै हिँड्ने एउटा अर्को मुटु दिन्छु
सूत्र हराएर अलपत्र गणित
चाँदीको हतियारले टुक्र्याइएको बादल
बन्धन टोकेर उडिरहेको चखेवा
अर्थ हराएर अन्धो धर्मग्रन्थ
जहाँ जतिबेला बग्छ सिमाना नभएको रिस
त्यहीँ कतै
म तिमीलाई सङ्लो प्रेम दिन्छु
फेरि आगो लाग्नुअघि
समुद्र निसास्सिएर आफ्नै गहिराइमा खस्नुअघि
म तिमीलाई
तिमीसँग गाउँदै हिँड्ने अर्को एउटा ओठ दिन्छु
मूर्ति बन्न ताछिएको अलपत्र ढुङ्गो
सीमाहीन बोझ सहेर मौन-नास्तिक पहाड
साँझ निलेर डकारिरहेको अजीर्ण रात
आफ्ना खुट्टासँगै चिप्लिएर चिच्याइरहेको नदी
जहाँ पनि मनलाग्दो गरी खस्ने ताराहरूको इच्छा
त्यही कतै
म तिमीलाई मागेजस्तो प्रेम दिन्छु
फेरि आँधी आउनुअघि
आगो आफ्नै कामुकतासँगै जल्नुअघि
म तिमीलाई
तिमीसँगै संसार चियाउने अर्को एकजोर आँखा दिन्छु
सम्झिएको बेलामा
हुन्छ !
म तिमीलाई
एउटा सिङ्गो प्रेम दिन्छु
प्रेमको गहिराइमा अल्झेको
संसार जित्न सक्ने
सिङ्गो उज्यालो अक्षर दिन्छु ।
-पोखरा
