Skip to content

इन्द्रेणीले नेपाल सम्झायो

  • by


वास्तवमा साढे १२ बजे प्रस्थान गर्ने योजना थियो । त्यसैले म अफिसबाट बिदा लिएर हतार-हतार गाँस टिपेर बसेको थिएँ । तर, मेदिनी अधिकारीजी आइपुग्दा डेढ बज्यो । खोलोजस्तो सुलुलु बग्ने समयलाई रोक्न सक्ने कसले ?

आफ्ना सरसामानहरू मेदिनीजीको कारमा राखेर श्रीमतीलाई वाई भनेपछि हामी यात्रामा निस्कियौँ । उहाँको कार हाम्रो गन्तव्य छुन अमेरिकी सडकले दिएको सीमाभित्र बेतोडले हुइँकियो ।

सुरुमा ब्लेक लेन, त्यसपछि रुट फिफ्टी अनि फोर नाइन्टी फाइभ हुँदै टू सेभेन्टी प्रवेश गरेपछि हामीलाई साँच्चै लामो यात्रामा जाँदैछौँ भन्ने अनुभूति हुन थाल्यो ।

मेदिनीजीसँग मेरो विशेष चिनजान वाल्टिमोरको एएनएको सम्मेलनमा भएको हो । तर, मेरो अनुमान ठीक भएन । उहाँले भन्नुभयो, “सन् २००२ को स्यान्टिली सम्मेलनमा तपाईंले सम्राट उपाध्यायसँगै रचना वाचन गर्नु भएको होइन ? म त्यसभन्दा पनि अघि सन् २००० मा एटलान्टाको नासाको अन्तर्राष्ट्रिय भेलादेखि नै चिन्छु ।”

मैले झलक्क सम्झेँ, हो त ! मैले त्यतिबेला अप्रकाशित पाण्डुलिपि पाउलीबुलुबाट दुईवटा निबन्ध पढेको थिएँ । सम्राटले ‘एरेस्टिङ् गड इन काठमाण्डू’ र ‘गुरु अफ लव’बाट केही अंश सुनाएका थिए । त्यसपछि लाम लागेर सम्राटका पुस्तकहरू किनेका थिए पाठकले । दर्शकहरूले मेरा किताबका लागि पनि सोधेका थिए । तर, मेरो त्यतिबेला कुनै पुस्तक उपलब्ध थिएन बिक्रीका लागि । त्यो त्यत्तिकै भयो । अझ एटलान्टामा त मैले नेपालबाट नै पहिलोपल्ट अमेरकिाको भूमिमा पाउ टेकेको थिएँ ।

यसपटकको कुरा, पहिलोपल्ट वेस्टभर्जिनिया जान लागेको उत्सुकता र नौलो ठाउँप्रतिको चाख मनभरि छताछुल्ल थियो । मेदिनीजीले स्टेरङि् घुमाउँदै एएनएमा संलग्न भएयताका अनुभवहरू सुनाउनु थाल्नुभयो । कतिपय घटनाको साक्षी म आफैं भएकाले धेरै कुरा नवीकरण भएजस्तो लाग्थे । कुनै कुरा नयाँ भएकाले घत मानीमानी सुन्थेँ ।

रुट टू सेवेन्टी सकिएपछि हामी रुट सेवेन्टी अनि सिक्स्टी एट लिएर अघि बढ्यौँ । अब पहाडी बाटो सुरु भएको थियो । ठाउँले नेपालको झझल्को दिन्थ्यो । एउटा पहाडलाई काटेर मोटरबाटो बनाइएको देख्दा मञ्जुश्रीले तरबारले चोभार काटेर काठमाडौँ सहरको जग बसाएको किंवदन्तीको झल्को दिन्थ्यो । मैले त्यसबेला मनभरि नेपाललाई सम्झेँ ।

झन्डै दुई घन्टाको सडकयात्रापछि हामीले हाइवे छाडेर एउटा नेपालकै झल्को दिने कम्बरल्यान्ड नामको वस्ती र बजारमा प्रवेश गर्यौँ । अनि, अमेरिकी सभ्यताको एक सूचक फ्रेन्चाइजको अपूर्व नमुना र आकर्षणको केन्द्र म्याक डोनाल्डमा पस्यौँ र तारेका कुखुराका पकौडा र तारेको आलु अनि कफी लिएर पुन फेयरमन्टतिर हान्नियौँ, जहाँ त्यसै साँझ फेयरमन्ट राज्य विश्वविद्यालयका प्रेसिडेन्ट थोमस क्रेपलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनु थियो ।

वास्तवमा यो भ्रमणको उद्देश्य प्रेसिडेन्ट क्रेपलसँग भेट्नु थियो र त्यो भेट जुराउने अवसर उनैले आयोजना गरेको रात्रिभोज थियो । ६ बजेको रात्रिभोजका लागि हामी त्यसअगावै पुग्न जरुरी थियो र सफा बाटो अर्थात् ट्राफिकजाम नभएकाले मजाले निर्धारति समयभन्दाअगाडि नै पुग्न सकिने अड्कल मेदिनीजीको थियो । म यसैले ढुक्क थिएँ । किनभने, गाडी हाँक्ने उहाँ नै हुनुहुन्थ्यो ।

झल्झली नेपालको सम्झनामा रुमल्लिँदै नागबेली, उकाली-ओराली बाटो हुँदै हामी साँझको बत्ती बल्ने बेलामा फेयरमन्टमा अवस्िथत डा तुलसी जोशीको भव्य म्यान्सन (घर)मा पुग्यौँ । घडीको सुई ६ बजेको छेउछाउमा हुँदा हामी उहाँको स्वागत खाँदै घरमा प्रवेश गर्यौँ ।

र, नेपालबाट कुनै विद्यार्थीले ल्याइदिएको कोसेली, दालमोठ, मिठाई र फेयरमन्टको स्वादिलो पानीले आतिथ्य ग्रहण गर्यौँ ।

मैले घरमा फोन गरेर भनें, हामी धनकुटा आइपुग्यौँ । श्रीमतीले सुरुमा कुरो बुझिनन् तर मैले अर्थ्याएँ । तुलसीजीको घर पुग्दा साँच्चै धनकुटा पुगेजस्तै अनुभूति भएको थियो । चिसो हावा, पहाडी उचाइ र त्यो उचाइबाट देखिने टाढाटाढाका पहाडी दृश्यले साँच्चै धनकुटाको याद दिलाउँथ्यो ।

झन्डै साढे ६ बजे हामी प्रेसिडेन्टको आवासमा राखिएको पार्टीका लागि निस्कियौँ । हामी प्रेसिडेन्टको पार्टीमा आएको बुझेर गार्डहरूले गाडी पार्किङ् त्यहाँ गर्नुहोस् भनेर औँल्याएर देखाइदिए । अमेरकिाको नियम र व्यवस्थापनबाट हामी पहिल्यै अवगत थियौँ, यसले झन् प्रभाव पार्यो ।

प्रेसिडेन्टको भव्य भवनको गेटदेखि नै निम्तालुहरूको लाम थियो र हामी पनि त्यही लाममा मिसियौँ । भित्रको वातावरण मनमोहक थियो । डा तुलसीले हामीलाई विभिन्न व्यक्तिहरूको चिनारी गराउनुहुन्थ्यो । कोही प्रोफेसर, कोही दाता, कोही पत्रकार आदि, इत्यादि । अत्यन्त प्रतिष्ठित र छानिएकालाई मात्र त्यस पार्टीमा निम्त्याइँदा रहेछन् । जस्तो- त्यस विश्वविद्यालयमा भएका छ सय प्राध्यापकहरूमध्ये चार/पाँच जनालाई मात्र निम्तो थियो । डा जोशीलाई नजिकैबाट चिन्ने प्रोफेसर र अरू केही मित्रहरूसँग हाम्रो चिनाजानी भयो । नेपाल र नेपाली भन्नेबित्तिकै उनीहरू बढी उत्सुक र जिज्ञासु भएर विभिन्न कुरा सोध्थे । नेपालको राजनीतिक अवस्था कस्तो छ ? तिमीहरूको देशमा कहिले शान्ति आउँछ ? अरूतिर जस्तै प्रायः सबैले सोध्ने यो प्रश्न र हाम्रो ‘राम्रो हुने आशामा छौँ’ को रेडिमेड उत्तरको प्रयोग यहाँ पनि गरियो ।

पार्टीको भीड पातलिँदै गएपछि प्रेसिडेन्टसँग हाम्रो भेटघाटको चाँजो मिल्यो । डा जोशीले हाम्रो परचिय दिनुभयो र फेयरमन्ट विश्वविद्यालयमा सञ्चालित नेपाली छात्रवृत्ति कार्यक्रमको विषयमा चर्चा भयो र आगामी दिनमा अझ व्यवस्थित बनाउने विषयमा थप बैठकहरूबाट तय गर्ने कुरा भयो । एएनएले छात्रवृत्तिका लागि जगमा काम गरेको र त्यसको कार्ययोजनालाई सुरुदेखि नै डा जोशीले अघि बढाउनुभएको तथ्य स्वयंमा महत्त्वपूर्ण थियो । प्रेसिडेन्टले एउटा साह्रै महत्त्वपूर्ण प्रश्न गर्नुभयो, यहाँ शिक्षाप्राप्त गरेपछि कति नेपाल र्फकन्छन् ? जवाफमा मेदिनीजीले बताउनुभयो, अहिले नेपालको राजनीतिक अवस्था ठीक नभएकाले अलि कम र्फकन्छन्, नभए प्रायः शिक्षा हासिल गरसिकेपछि आफ्नै देशमा सेवारत रहन्छन् । प्रेसिडेन्टको यस चासोले नेपालबाट पढ्न अमेरकिा आएका ती तमाम नेपाली विद्यार्थीहरूको अनुहार सम्झिएँ, जो भिसा लिने बेलामा म पढाइ सकेर नेपाल र्फकन्छु भनेर वचनबद्धता व्यक्त गर्छन् तर पढाइ पूरा भए पनि नभए पनि नेपाल र्फकंदैनन् । अझ ती अभिभावकहरूको विवशता सम्झिएँ, जो ऋण काढेर छोराछोरीलाई अमेरकिा पढ्न पठाउँछन् र अमेरकिाको व्यावहारकि समस्या नबुझी तीन महिनापछि नै ऋणको ब्याज बढ्यो भन्दै पैसा पठाइदेऊ भनेर ताकेता गर्न थाल्छन् ।

पार्टीबाट र्फकेपछि राती अबेरसम्म फेयरमन्ट राज्य विश्वविद्यालय, नेपाली छात्रवृत्ति विषयमा कुराकानी भयो । ३७ वर्षदेखि फेयरमन्ट विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने डा जोशीको लगाव र उहाँकै पहलमा ३० जना नेपाली विद्यार्थीहरूको ग्रयाजुएसन त्यस विश्वविद्यालयबाट छात्रवृत्ति कार्यक्रम अन्तर्गत भएको तथ्यले म अत्यन्तै प्रभावित भएँ ।

भोलिपल्टको प्रथम आधा दिनको समय विश्वविद्यालयको परिभ्ररमण गर्न तथा नेपाली विद्यार्थीहरूसँग भेटघाट अनि डा जोशीले नेपालको चिनारी प्रस्तुत गर्ने कार्यक्रममा सहभागी भएर यात्राको समाप्ति गर्दै भर्जिनियाको आफ्नै कुटुरोतिर फर्कनु थियो ।

बिहान पुनः म्याकडोनाल्डकै शरणमा पुगियो ब्रेकफास्टका लागि । ब्रेकफास्टपछि डा जोशीको सहयोगमा डाउन टाउन तथा त्यसपारकिो डाँडामा गएर टाढाटाढासम्मका दृश्यहरूलाई क्यामरामा कैद गर्यौँ र केही विद्यार्थी भाइबैनासँग भेटघाट गर्दै विश्वविद्यालय परसिरमा थियौँ । जहाँ प्रेसिडेन्ट संयोगले भेटिए र नेपाली विद्यार्थीहरू र हामीले केही कुराकानी गर्ने र सामूहिक तस्िबर लिने अवसर पायौँ ।

हामी डा ज्ाोशीले नेपालबारे गर्नुहुने स्तुतिलाई सम्झाउने स्कुलतर्फ लाग्यौँ । वास्तवमा डा जोशीकी अमेरिकी पत्नी त्यही स्कुलमा पढाउनु हुँदोरहेछ । त्यस स्कुलमा डा जोशी, मेदिनीजी, मलगायत फेयरमन्ट विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूले समेत नेपालको चिनारी गरायौँ र स्कुले स-साना नानीहरूले राखेका बालसुलभ जिज्ञासाहरू शान्त पार्न प्रयास गर्यौँ । डा जोशी यसरी नै अमेरिकी बालबालिकालाई नेपालको चिनारी गराउन स्कुल/स्कुल जानु हुँदोरहेछ । यस कुराबाट हामी सबै प्रभावित भयौँ । यसरी डा जोशी वर्षौंदेखि नेपालको सांस्कृतिक राजदूतका रूपमा त्यहाँ काम गररिहनुभएको छ । यो आफैँमा प्रशंसनीय काम हो ।

घडीको सुई २ बजेबाट ओरालो लागिसकेको थियो र हामी फिर्ता हुन हतारनिे बेला भइसकेको थियो । तर, स-साना स्कुले नानीहरूको जिज्ञासा अन्तहीनझैँ थियो । तर, हामीसँग समय थिएन, फेरि अर्कोपल्ट भेट्ने वाचा गरेर फर्कियौँ, मनभरि एक किसिमको असन्तुष्टि रहिरह्यो ।

अब बाँकी एउटै काम थियो, फर्कनु, हामी त्यसमै लाग्यौँ । डा तुलसी जोशीको धनकुटाबाट अब हामी रुट ११९ हुँदै रुट ७९ समातेर हिजोकै बाटोबाट ओरालो र्झनु थियो । फेरि त्यहीँ डाँडातिरै पेट्रोल भर्ने ठाउँमा एकएक कप कफीको जोहो गर्यौँ र सिमसिमे झरीको मीठो अनुभूति बोकेर ओरालो लाग्न थाल्यौँ ।

अचम्म, कल्पनै नगरेको पूर्ण इन्द्रेणी हाम्रोसामु देखा पर्यो र हामीलाई पछ्याइरह्यो । यात्रामा इन्द्रेणीको साथ पाएको यो पहिलो अवसर थियो । मैले फेरि नेपाल सम्झेँ ।

मैले बाटाभरि डा जोशीलाई सम्झिरहेँ । आफूले नेपालका लागि जीवनभर योगदान गर्दा पनि सरकारी ओहोदावालाले जस नदिएकामा उनी दिक्क भएर अमेरकिा पसेका रहेछन् । अनि, मैले फेरि सम्झेँ, केही व्यक्तिको सनकका कारण प्रतिभाहरू आफ्नो माटो छाडेर कसरी विदेश पलायन भइरहेछन् ।

नेपाल साप्ताहिक ३८७

Leave a Reply

Your email address will not be published. Required fields are marked *