वर्षौंदेखि उसै गरी
दौडिरहेछन् -टुँडिखेलमा घोडाहरू !
घोडचढी सिपाहीहरू
हातमा लगाम लिएर दौडाइरहेछन्
आ-आफ्नै घोडाहरू
विजयी हुने होडमा !
पहिले पहिले
राजामहाराजाहरू सवार हुन्थे र
नजर गर्थे घोडेजात्रा
तर आजभोलि
भैंसी गोठालाहरू
साधारण किसानका छोराहरू
आउँछन टुँडिखेल
अनि हौंस्याउँछन् खेलाडीहरूलाई
समय र घोडचढीहरू
उस्तैउस्तै रहेछन् आखिर !
घोडचढीहरू लगामले
आफ्ना घोडा दौडाउँछन्
र समय आफ्नो लगामले
समाजलाईर् दौडाउँछ
आफ्नो रफ्तारसँगै
समय र घोडाको
यो दौडा दौड हेरेर पनि
म आफू असमर्थ छु निर्क्यौल गर्न
समयको रफ्तारमा दौडिरहेछ घोडा
वा घोडाको रफ्तारमा दौडिरहेछ समय ??
नुवाकोट
