Skip to content


यतिबेला म
गौतमबुद्धको आँगनमा उभिएर
युद्धको घोषणा गरिरहेछु
युद्धका लागि मसँग
गौतमबुद्धभन्दा धेरै बूढो
खियाले खाइसकेको बन्दुक छ
जयस्थिति मल्लले कोरेको
जातीयताको धमिलो रेखा छ
उनैले बनाएको
भत्किन आँटेको विभेदको पर्खाल छ
म त्यही पर्खालको छेऊमा उभिएर
अस्तित्व युद्धको तयारीमा छु
अनि कहिल्यै नभेटिने गन्तव्यको यात्रामा छ
आफ्नै घरको धुरी उधारेर
अंशबण्डाको सीमारेखा कोरिरहेछु
यसैको खातिर
बूढो बन्दुक बोकेर
युद्धको तयारीमा छु ।
तिमी र हामीबीचको युद्धिपछि
न म हुन्छु न त तिमी हुन्छौ
केवल गर्भभित्रै बाबु गुमाएर
टुहुरा भएका थुप्रै नानीरूप हुनेछन्
अनि हाम्रो आफ्नै तस्विर झल्कने
मारुनी, धाननाच, चण्डीनाच
रोदी, द्यौसीभैलो र तामाङसेलो
केही केही बाँकी रहने छैनन्
अनि बाँकी रहनेछन्
युद्धको डँडेलोले खरानी भएका रित्ता घरहरु
गाउँघन्द अलि पर जङ्गलमा विस्थापित
मिर्मिरेमा आँखा मिच्दै पँधेरो जाने
केही विधुवाहरु
रुँदै तिनीहरूकै पछि लाग्ने
केही दुब्ला बालबालिका
अनि निष्पट्ट अँध्यारोमा
सलेदो सकिएको
कुपी एक हातमा र अर्को हातमा लट्ठी बोकेर
संघारमा टाउको ठोक्काउँदै
नयाँघरको ढोकाभित्र
प्रवेश गर्दै गरेका बाबुआमाहरु
पारि पाखामा फुल्नै बिर्सिएका
दुई चारवटा
गुँरासका रुखहरु
बिहे नहुँदै मुग्लान पसेका
युवाहरुको प्रतीक्षामा सुस्ताइरहेको
उदास चौतारोमात्र बाँकी रहनेछ
यति हुँदाहुँदै पनि म युद्धको तयारीमा छु
किनकि यसबाहेक मसँग
अन्य विकल्प छैन
अहिले उज्यालो भूमिगत छ
र छ सर्वत्र अँध्यारै अँध्यारो ।
खोटाङ बतासे-७, रात्माटा

हालः विराटनगर-१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *