Skip to content


केवल भोकलाई अघाउन
अनेकौं उपकरणहरू
परस्पर अनुवन्धित छन्
तल आगो छ
माथि ओदान छ
ओदानमाथि हाँडी छ
आगाको राँकोसँगै
हाँडीको तात्नेक्रम छ
तात्नुको सीमालाई पर्गेल्दै
पारखी हातहरू
हाँडीमा मकैका घान हाल्छन्
मकैका दानाहरू
पोलिदा पीडाले रन्थनिन्छन्
हाँडीको गर्भमा परस्पर जुध्छन्
कप्टेराले छेकिन्छन् / बिट नाघ्न सक्दैनन्
जीवन पोलिन्छन्
हार्नुको क्षणलाई स्वीकार्दै
बल थाक्छन् / तुजुकको विश्राममा
मकैका दानाहरू निर्जीव फूल बन्छन्
जीवनबिनाका यी फूल
आगो फुक्नेका
ओदान बसाल्नेका
हाँडी बसाल्नेका
कप्टेरा चलाउनेका
घान हाल्ने र निकाल्नेका
भोकका मीठा परिकार हुन्
जीवनको समाप्तिमै पनि
यी दाँतको घट्टमा अझै पिसिन्छन्
जिब्राको इसारामा अझै घिसिन्छन्
घाँटीको पहराबाट लड्दै
पेटको गुफामा पस्छन्
कणकणको अवशेष
पानीको घुट्काघुट्कामा बग्दै
सजीव मकैका दानाहरू
निर्जीव फूलहरूमा फक्रिएर
आफ्नै अस्तित्वबाट टाढा हुन्छन् ।

सरस्वतीनगर, काठमाडौं-६

Leave a Reply

Your email address will not be published. Required fields are marked *