Skip to content


सा, रे, ग, म. प, ध, नि. सा, सङ्गीतका यिनै सात सुरबाट संयोजन पश्चात् निकालिने आवाज । ध्वनिबाट विभिन्न रागहरूको निर्माण गरिएको कुरा सामवेदमा प्रस्तुत गरिएको भेटिन्छ ।

सङ्गीतसम्बन्धी सृष्टिलाई दृष्टिगत गर्ने हो भने भगवान शिवको हातमा डमरु, विष्णुको हातमा शंख, कृष्णको हातमा बाँसुरी, सरस्वतीको हातमा वीणा, राधाजी लगायतका अष्ट सखीहरू ललिता, विशाखा, चित्रा, सुदेवी, चम्पकलता, इन्दुलेखा, तुङ्विधा र रङ्गदेवीले आफ्ना हातमा तानपुरा, वीणा, ढोलक, सारङ्ग झ्यालीसहितको साजबाज लिएर सङ्गीतका प्रमुख रागहरू गायन र बादन गर्नुले पनि गीत सङ्गीतको परिकल्पना ईश्वरबाटै संसार सृष्टि हुँदाका बखत गरिएको हो भनी ठोकुवा गर्न सकिन्छ । त्यसैले पनि सङ्गीतलाई प्रकृतिको उपनाम दिएको हुनसक्छ ।

स्वर्गका राजा इन्द्रको सभामा मेनका, रम्भा, उर्वसी, तिलोत्तमा जस्ता सुन्दर नृत्याङ्गना, सङ्गीत विज्ञ अप्सराहरू हुनु, नारद ऋषिले वीणा वादन गर्नु, हनुमानले झ्याली बादन गर्नु, रावण र कंसको दरबारमा समय समयमा गीत सङ्गीत एवं बाद्य वादनको ताल बादन गराइनु, अन्य ऋषिमुनि तथा भगवानका भक्तहरूले विविध साजबाजको बादन गरिनुले पनि गीत सङ्गीतको परम्परा एउटा संस्करकै रूपमा विकसित हुँदै एकपछि अर्कोमा सर्दै आएको हो भन्न सकिने थुप्रै ठाउँहरू सुरक्षित रहेको पाइन्छ । ईश्वरको यो सुन्दर संसार, सुन्दर संसारसँग आत्मसात गर्दै जन्मिएका हामी चेतनशील सुन्दर मान्छेले आफू जन्मिँदै काखी च्यापेर ल्याएको अनगिन्ती संस्कारहरूमध्ये गीत सङ्गीत र साहित्यको संस्कार पनि भू-मण्डल निर्माण हुँदा सँगसँगै भित्रिएकोले पनि गीत सङ्गीत मान्छेलाई मात्र नभएर पशुपक्षी, बोटबिरुवा लगायत प्रकृतिलाई पनि प्रिय लागेको !

सङ्गीतको पौराणिक, मध्य र आधुनिक कालसम्मको यात्रालाई जोडघटाउ गर्दा करोडौं गीत सङ्गीत सिर्जना भएको देखिन्छ । ताल लय र सुरर्ला सही ढङ्गबाट संयोजन गर्दा अमृत वर्षा भएको ऐतिहासिक साङ्गीतिक दस्ताबेज काव्यका रूपमा, गीतका रूपमा, सङ्गीतका रूपमा र राग रागीनीका रूपमा आजको यस संसारमा समेत सुरक्षित रहेको छ ।

सङ्गीतको सात सुरलाई विभिन्न तालमा तालबद्ध गरी लय र सुरलाई लामबद्ध गरी सयौं राग रागिनी निर्माण गर्ने, सिर्जना गर्ने, सरजक, स्रष्टा, सङ्गीत सूत्रका महानायकहरूले संसारमा जन्मिएर तत्कालीन परिस्थिति, समय र कालअनुसार नयाँ नयाँ सङ्गीत सिर्जना गर्दै अहिलेको २१ औँ शताब्दीसम्म सुरक्षित ल्याई पुर्‍याई दिएको इतिहास पनि हाम्रा अगाडि ताजा भएर रहेका छन् ।

ताल सुर र लयलाई संयोजन गर्दा निस्कने स्वर, आवाज, ध्वनिले दीप प्रज्वलन गराउन सक्ने, वषर्ाद गराउन सक्ने, अन्न बालीमा वृद्धि गराउन सक्ने, पशु धनबाट दुग्ध पदार्थको क्षमताको वृद्धि गराउन सक्ने क्षमता सङ्गीतले राख्दछ भन्ने कुरा प्रमाणित पनि भइसकेको छ । यसरी प्रवाह हुने, गुञ्जिने, ध्वनिले मलेरिया (ज्वरो) ठिक पार्ने, दाँत, कान, टाउको, दुखाई क्रमशः माखा, हिडोल, सोहनी, कामोद, परज, मुल्तानी, भैरवी, मालकौश, पीलु, पूर्वीतोडी, धानी, विहाग, मेघमल्हार रागका बारेमा विभिन्न सङ्गीत महानायकहरूले आ-आफ्नो शैलीमा व्याख्या र वर्णन गरेकोसमेत पाइन्छ ।

यस्तो गीत सङ्गीतको गुणकारिता र विशेषतालाई मनन गरी गीतको मर्म, सङ्गीतको धर्म र स्वरका बान्कीलाई बुझेर धर्म संस्कृति, भेषभुषा, जानजातिलाई साक्षी राखेर नेपालको पहिचान गराउने गरी सिर्जना गरिएका उत्कृष्ठ गीत सङ्गीत हामी कहाँ कति सिर्जना भएका छन् ? को सँग रहका छन् ? क-कस्ले गायका छन् ? को – कसले लेखेका छन् ? त्यसको सही अभिलेख हाम्रो देशमा नरहेको अवस्था छ ।

वर्तमान अवस्थामा नेपाली मौलिक गीत, सङ्गीत साहित्य, कलालाई संरक्षण सम्वर्द्धन गर्ने समेतका विषयमा सम्पूर्ण गीत, सङ्गीत र साहित्य, कला पे्रमीहरूको गहकिलो आवाज उठाउन र उठ्न सके, सुनमाथि सुगन्ध हुने कुरामा दुई मत रहन्न ।

गीत, सङ्गीत, साहित्य र कलाको कुनै जात, रङ्ग, भेद हुँदैन । विश्वमा पूर्ण स्वतन्त्र भएर जीवित रहेको वस्तु सङ्गीत मात्र हो गीत मात्र हो, साहित्य मात्र हो । निरन्तर बजिरहेको, प्रसारण भइरहेको शास्त्रीय सङ्गीतको कार्यक्रमलाई एकाएक रोकेर रेडियो नेपालले सङ्गीतलाई गरेको अन्याय देख्दा मन कुडिन्छ यसरी मन कुड्याउने कति होलान् । गीत सङ्गीत साहित्य र कलालाई पक्षपाती ढङ्गबाट प्रस्तुत गरिएका अनगिन्ती उदाहरणहरू हाम्रा सामु रहेको छ ।

शनिबार, गोरखापत्र
पौष १८, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *