गाउँ शहर पहाड तराई जताततै आहत छ
आऊ नया वर्ष गणतन्त्र नेपालमा स्वागत छ
धेरै लड़नुछ तिमीले यहाँ भिटामिन पिएर आऊ
राजनैतिक फोहर फल्नुछ कन्टेनर लिएर आऊ
गोली-बारुदहरूले अघायौ भो त्यहीं रोकेर आऊ
मुर्ख पटमुर्खहरू यहीं छौं विद्वान बोकेर आऊ
मुख चलाउने धेरै छौं मेहनती हात लिएर आऊ
सिङ्गो राज्य पाउनेछौ मात्र एक जात भएर आऊ
ध्वंस गर्न आफैं माहिर छौं विकास भएर आऊ
बहादुर गोर्खाली हौं लड़ेकै छौं निकास भएर आऊ
निभ्न जानेनौ बलिरह्यौं तिमी पानी भएर आऊ
बाठा यी बाठाहरूले देश खाए ज्ञानी भएर आऊ
मलिन नेपाली मुहारहरूमा कान्ति लिएर आऊ
हड्ताल र बन्दमा पास छौं शान्ति लिएर आऊ
व्यक्ति धेरै छौं यहाँ नपाइने व्यक्तित्व बनेर आऊ
नेता धेरै छन् अनिकाल परेको नेतृत्व लिएर आऊ
आशा टुट्यो सबैसँग यहाँ जोस भरेर आऊ
जनकारबाहीमा परौला नि होस् गरेर आऊ
अन्याय मनोमानी र घमण्डको चिहान खनेर आऊ
संघात्मक गणतन्त्र नेपालको संबिधान बनेर आऊ
