म जहाँ पुग्छु त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुनजेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा सेनाले जनता मारेको पाउँदा क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु कतै धम्की पाएँ कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु – लेखबहादुर कार्की ।
विश्व मानव सभ्यताका निम्ति गर्नेभन्दा गराउने ठूलो हो । संसारलाई आँखा देखाउने व्यक्ति अमृ्ल्य नीधि हो । त्यसैले पनि ऊ समाजको अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न र नियाल्न त सबैसँग यी दुई चर्मचछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै ठूलो कुरा हो । यसो गर्न भित्री मनको आँखाबाट मात्र सम्भव छ । यस्तै मनका आँखाका धनी लेखक तथा कविको नाम – लेखबहादुर काकी । वि। सं।२००७ साल मंसिर १५ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ बाराहा गाविस वडा न”३ मा जन्मेका र हाल उदयपुर लगायत देशका कुनाकाप्चा घुम्दै र वस्तुस्थिति बुझ्दै जनताको पक्षमा कविता र फुटकर लेखहरू लेख्दै आएका फिरन्ते कवि कार्कीले २०५८ साल भदौ १८ गतेदेखि कविता र फुटकर लेखहरू लेख्न थालेका हुन् । अहिले उनले घुमफिर र लेखन कार्यमा आफ्नो जीवन पूरै संलग्न पारेका छन् । एम।ए। बी।एड। बी।एल।जस्ता कुनै पनि औपचारिक शैक्षिक ज्ञान हासिल नगरेका साधरण लेखपढ भएका कार्कीको घुमफिर र स्वाध्यायनको दायरा निकै फराकिलो रहेको कुरा उनका मन नै कल्पाउने रचनाहरूले पुष्टि गर्दछन् । नेपाली साहित्यको ढुकुटीमा कवि लेखबहादुर कार्कीले “जीवन पुस्तिका संग्रह” २०६५ नामको कविता कृति दिनु आफैंमा एक अनुपम उदाहरण हो । हृदय कल्पाउने तागत भएका स्रष्टा कार्कीको कलम प्राचीन संस्कृत पौराणिक राष्ट्रिय इतिहास र जनयुद्ध कला साहित्य र विशेष गरेर राजनीतिप्रति मुखरित भएको छ । घुमफिरमै जीवन विताउँदै आएका स्रष्टा कार्की ऋण काडेर निकालेको “जीवन पुस्तिका संग्रह” २०६५ नामको कविता कृति जनतालाई बेच्दै र संग्रहका कविता र अन्य कविताहरू सुनाउँदै बाँचेका छन् । उनका आधा दर्जन जति लेख र कविताका पाण्डुलिपिहरु प्रकाशनको पर्खाइमा रहेको यस पंक्तिकारले देख्न र बुझ्न पाएको थियो । परिष्कृत भाषा र शैली उनका रचनामा पाइँदैनन् तर परिष्कृत भाव भने अवस्य पाइन्छ । जागिरे जीवनले भौतिक सुख दिए पनि शान्तिका लागि भने जनताको पीरमार्कालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने उनको कथन छ । त्यसै कारणले गर्दा पनि उनी कलमकै भरमा बाँचेका छन् भन्न सकिन्छ । सिमेण्ट कारखाना उदयपुरले ४ वर्षसम्म जागिर दिए पनि उनी त्यत्तिमै सीमित रहन सकेनन् । कारण समाजमा व्याप्त थिचोमिचो शोषण-दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन सकेनन् भन्ने कुरा उनका कविता पढ्दा झर्लंङ्ग हुन्छ । रात सकिएपछि अवश्य उज्यालोको उषाकाल आउँछ । हरतरहले पीडित जनताको चर्याइरहेको घाउमा मलहमपट्टी लगाए पछि अवश्य पीडा कम हँुदै जान्छ र घाउमा खाटा बस्छ । त्यहीँ उज्यालो भविष्य देखापर्दछ । शोषितपीडित जनताप्रति गम्भीर चासो राख्नु राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता सचेत रहनु समाजप्रतिको दायित्वबोधको आभाष हुनु अग्रगामी राजनैतिक चेतनाले ओतप्रोत रहनु र सामन्तीसंस्कार दासमनोवृत्ति र सामाजिक एवं आर्थिक शोषणले लाटो पारिएका मनहरू ब्युँझाउनु अनि निरास जनताका मनहरूमा आँट र उत्साह छर्नु कवि कार्कीका प्रमुख विशेषता हुन् भनी ठम्याउन सकिन्छ । कार्की पेशेवर लेखक हैनन् । त्यो छवि उनमा नहोला तर उनी गाउँघर ब्युँझाउने ठेक्का आफैँले पाएको ठान्दछन् र उनी आजसम्म आफ्नै कलमको पराक्रमले बाँचेका छन् । कारण उनी २४ घण्टामा १६ घण्टा जति हिँड्छन् र जहाँ जेले छोयो कविता लेख्न थालिहाल्छन् । त्यसैले उनी पेशेवर कवि पेशेवर लेखक जस्ता देखिएका छन् । तर पैसाको पछि दगुर्ने अरु पेशेवर कवि पेशेवर लेखक जस्ता उनी हैनन् । कार्की दुःखको काँडा घारीमा टेकेर हिँडिरहेका छन् । आजभन्दा उनान्सठी वर्ष अघिदेखि यिनी अनवरत दुःख पिउँदै छन् ।
उदयपुरका अर्का कवि गम्भीरबहादुर थापाले जीवन नै बोरा ओडेर र बोरा लगाएरै जनता जगाउँदै जीवन विताए । त्यस्तै कविता लेख्दै र जनता जगाउँदै हिँड्ने तर बोरा नै धारण चाहिँ नगर्ने अर्का साधकका रुपमा जन्मिएका हुन्- लेखबहादुर कार्की । युद्ध परिवर्तनका लागि हुन्छ । नौलो आभाष भेट्नका लागि हुन्छ । देश र जनताको मुक्तिका लागि हुन्छ । युद्ध रहरको विषय हैन बाध्यताको विषय हो । बन्दुकी युद्धमा ज्यान लिने र दिने काम हुन्छ । नेपालको जनयुद्धमा ज्यान लिने र दिने क्रम चलिरहँदा कवि लेखबहादुर कार्की लेख्छन्…।
म त मरेँ दुश्मनको गोली खाई
छोरो मर्यो भन्देऊ न बुवालाई
भात पनि पाक्दै थियो हेर त्यस बेला
सेनाले पारी हाल्यो त्यत्ति खेर फेला ।
नेकपा माओवादीको जनविद्रोह ः उदयपुरको घटना पृष्ठ ः २
नेपालीहरू एकआपसमै लडेर मर्नुपर्ने विवस परिस्थिति थियो । जनताको युद्धमा लागेर काँधमा राइफल भिरेर मर्नु वीरताको मरण हो । सामन्तहरूको पाउ मोलेर जिउँनु कायरताको मरण हो । कायरताको मरणभन्दा वीरताको मरण कयौँ गुणा उत्तम हो भन्ने ठानेर कवि लेखबहादुर कार्कीले दश वर्षे जनयुद्धलाई हृदयदेखि नै स्वागत गरेका छन् । तर रोगै नलागीकन मर्नु परेको विवसतालाई भने ओकल्न छाडेका छैनन्…
अझै पनि पृथ्वीले कत्ति भोग खान्छ
नेपालीको मरण भयो नभैकन रोग
यस्तो कुरा विचार गर्दा आउँछ छाती चिरिएर
दश वर्षसम्म लड्यौ राइफल भिरेर । …उदयपुरको घटना पृष्ठ ः ५
दश वर्षे जनयुद्ध थामियो तर निष्कर्षमा पुग्न सकेका छैन । युद्धविरामसँगै नौलो सूर्योदय भयो भन्ने सबैलाई लागेको थियो । तर भनेजस्तो र सोचेजस्तो भएको छैन । नेपाली नेतानेतृहरूको राजनीति बुझेर बुझी नसक्नुको छ । जति आयोग बने पनि निम्छरा व्यक्तिहरू नै जल्न वाध्य छन् । यसै क्रममा अझै खुन बग्ने आशंका गर्दै कवि भन्दछन्…
फेरि पनि पर्छ क्यारे गरिव जनता रुन
नेपालमा बग्छ क्यारे नदी जस्तै खुन
नेपालको झारपात सबै राम्रो
आफ्नो दाजुभाइको लडाइँ नराम्रो । …उदयपुरको घटना पृष्ठ ः ६ र ७
विदेशीमुखी अराजकता निम्त्याउने पनि नेता त्यही पराकाष्ठाको अराजकता निर्मूलका निम्ति जनता होम्ने पनि नेता । युद्ध आन्दोलनको मैदानमा मर्नपर्छ जनताले तर बाटो मात्र देखाउँछन् नेताले । जहाँ जो मरे पनि जनता नै मरे गरिव बाउआमाकै सन्तान विचल्नीमा परे । नेपाल र नेपाली पछि पर्नुमा नेपालमा जन्मेका झारपात सरहका अदूरदर्शी नेताहरू हुन् भन्ने ठहर कवि कार्कीको छ । हुन त एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भनेझैँ ज्ञानेन्द्रको लात नखाई नेताहरूको चेत खुलेन र माओवादीको हात नभई बाह्र बुँदे सहमती भई शान्ति प्रकि्रया अघि बढेन । यसरी नै सबै थरीका मतभेद जनताको नाममा भुलेर नेतानेतृहरू जनताको लागि एक ठाउँमा हुने हो भने नेपाल र नेपालीलाई दुःख दिने आँट विदेशी कुनै दलालको हुने थिएन । नागरिक सर्वोच्चता र जनताको स्वाधिनता विरुद्ध लाग्ने सामथ्र्य कसैमा हुने थिएन । यसै सन्दर्भमा कवि कार्की भन्छन्…।
०५२ सालको लडाइँ नेताले गराइ
०६३ सम्म जनता धेरै मराइ
यो सबै हेरी ल्याउँदा नेताको खेला
जनतामा आउँदैछ है सचेत हुने बेला । …उदयपुरको घटना पृष्ठ ः ९
हेर्ने र देख्नेलाईभन्दा भोग्नेलाई कयौँ गुना पीर हुन्छ । त्यही पीडित वर्गलाई अझ पीडा थप्नुको सट्टा पीडा कम पार्ने काम हुन्थ्यो भन्ने मत कविको छ । युद्धमा ज्यान सुम्पेका सहिदको विचल्नी वर्णन गरी साध्य छैन । कम्तिमा ती सहिदको सपना साकार भइदिएको भए त परिवार जनहरू मनमा तनमा लागेको चोट विस्रन्थे होलान् भन्दै कवि कार्की थप्छन्…
सहिदका बावुआमा कहाँ थिए होलान्
छोराछोरी मर्दाखेरी कत्ति रोए होलान् ।
यस्तो कुरा सोची ल्याउँच्दा आउँछ मुटु चिरी
मरेका मान्छे आउलान् कहिले फिरी …उदयपुरको घटना पृष्ठ ः १०
कवि असन्तोषका कुरा मात्र लेख्दैनन् । सन्तोषका क्षणहरू पनि केलाउँछन् । उनी मैदानदेखि हिमालसम्म घुम्दैहिँड्दै कलम चलाउने व्यक्ति परेका हुनाले ठावैपिच्छेको अनुभूतिलाई टपक्क टिपेर कलात्मक रुप दिन खप्पिस छन् । प्रकृतिले मनमा आनन्द दिँदाको क्षणमा प्रकृतिकै महिमा गान गाएर उनी थाकेका छैनन्।
हिमालको काखैमा चौरी गाई चरेको
नदीनाला त्यस ठाउँमा धेरै झरेको ।
नेपालको गौरव हेर हाम्रो हिमाल
चमरेपट्टि देखिन्छ चारपाटे रुमाल । हिमालको गीत पृष्ठ ः १०
कवि लेखबहादुरलाई अर्का कवि गम्भीरबहादुर थापाले जन्माएका हुन् । समाजमा देखिएका विसंगत पक्षलाई झटारो हान्न उनै गुरुकवि गम्भीरबहादुर थापाले पनि छाडेका छैनन् ।
सिराहाको सेठ राजविराजको रेट
उदयपुर गाईघाटको गेट ।
मतलवी बेइमानी भेट
न्याय निसाप नैहेत ।
उल्टा निसाफ करदेत
किन यस्तो माटै त्यस्तो । गम्भीरबहादुर थापाका कवितांश
विसं१९८१ साल असार १४ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ डुम्रे गाविस वडा नं ६ मा जन्मेका र देशका कुनाकाप्चा घुम्दै र वस्तुस्थिति बुझ्दै जनताको पक्षमा कविता लेख्दै र सुनाउँदै भौतिक रुपमा हामीबाट विदा भएका फिरन्ते गुरुकवि गम्भीरबहादुर थापा र लेखबहादुर कार्कीको गन्तव्य एकै हो । तर गम्भीरबहादुर थापामा जति त्याग र सादापन थियो त्यत्ति लेखबहादुर कार्कीमा भेट्न नसकिएतापनि गम्भीरबहादुर थापाकै चेला वा अनुयायी लेखबहादुर चाहिँ पक्कै हुन् भन्न सकिन्छ ।
१ आफ्नै घरमा खानु नेपाली खानु आफ्नु मानु
धेरै निकै नेपाली लाहुर विदेश किन जानु
२ उदयपुरे राजनीति इमान्दार छैन
लेखिएको सत्य हो झुट्टा कुरा हैन । गम्भीरबहादुर थापाका कवितांश
झुल्के घामसरि हामी पृथ्वीमा नाङ्गै उदायौँ र एक दिन सम्पूर्ण धनमाल र आफन्तहरूलाई छाडेर हामी पुनः नाङ्गै अस्ताउँछौँ भन्ने दार्शनिक चेत कविमा छताछुल्ल छ । जस्तो कर्म छ त्यस्तै भोगिन्छ । महाकवि लक्ष्मीप्रसादहरूले असल कर्म गरेका थिए त्यसैले उनीहरूबाँचिरहेका छन् र युगयुग बाँचिरहने छन् । असत् कर्म गर्नेहरू मरेको र बाँचेको कुनै अर्थ छैन भन्ने मत कवि कार्कीको छ । बुद्धिमान प्राणीको हैसियतले असत्य व्यवहार गरेर पतनमुखी बन्न मान्छेले सुहाउन्न । मान्छेले केही लिएर जान सक्दैन । सबै कुरा दिएर नै जानुपर्छ । जसले जति दिन सक्यो ऊ त्यत्ति नै पूज्य हुन्छ भन्ने विचार अघि सार्दै कवि भन्छन्…।
बुझ्नुहोस् सबले यस पृथ्वीमा कोही छैन हाम्रो भनी
एउटा वृक्ष रहेछ बुझ है चरो बसेको पनि ।
यो कुरा सत्य सत्य भन है झुट्टा होला कि भनी
नाङ्गै आयौँ यस पृथ्वीमा नाङ्गै हो जान्छौँ पनि । श्लोक भाषा ः पृष्ठ- १६
जनताको लागि जनताको बलले आएको व्यवस्था नै लोकतन्त्र हो । नेपालमा आएको लोकतन्त्र भोका र दरिद्र नेताहरूको पेट भर्ने माध्यम बनेको देख्दा कविमन रुष्ट छ । त्यसैले हाम्रा नेतानेतृको बुद्धिको विक्रो खोल्न नसक्ने लोकतन्त्र फावेन भन्न कवि चुकेका छैनन् । उनी भन्छन्…।
गरिबलाई लोकतन्त्र थाहा छैन
धनीलाई नभै भा छैन ।
जनता धेरै मराउँछ
नेताले भिरबाट लडाउँछ । लोकतन्त्र ः पृष्ठ- १७
नेता सप्रै मात्र नेपाल र नेपाली सप्रन्छौँ भन्ने मत अघि सार्दै नेताहरूले सत्ता प्राप्तिको खेल त्याग्नुपर्ने ठहर कविको छ । नेतानेतृ भारतमुखी भएकाले भारतले नेपाललाई हेपेको कुरा बताउँदै उनी भन्दछन्……
भारतले नेता चेपेको
नेपाल राष्ट्र भारतले हेपेको
नेता भारतलाई साम्राज्यवाद भन्छन्
भारतले नेपालको जरा खन्छन् । दरवार ः पृष्ठ- १९
राजनीतिको कुप्रभाव सबै ठाउँमा परेको छ । शिक्षा क्षेत्रलाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर वुद्धिको काम हुनुपर्छ । भोलिका उज्ज्वल नक्षत्र आजका बालबालिकाहरूलाई उचित शिक्षादीक्षा दिने ठाउँमा पनि राजनीतिको प्रभाव परेको देख्दा कविमन रुष्ट छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा देशको राजनीतिले खेलेको भूमिकालाई नियाल्दै त्राहीमाम भई कवि अपिल गर्छन्…।
पैसामा हामी नबिकौँ शासन नीति नसिकौँ
अध्यक्ष शिक्षक मिलेर स्कूल जाला विग्रेर ।
स्कूलमा हुन्छ राजनीति गर्छन् सबै नियम मिची
शित्तल हुन्छ छाँयाले बालक पढ्छन् मायाले । स्कूलको कविता ः पृष्ठ- २०
लोकतन्त्र धनीलाई ढलिमली र गरिबलाई काउछाको जन्तर भएको भनाइ अघि सार्दै कवि भन्छन्………
धनीलाई आयो लोकतन्त्र गरिबलाई भो काउछाको जन्तर
नेपालमा नेता धेरै छन् नेताले नेपाल बेचेछन् । धनीको कविता ः पृष्ठ- २० र २१
गिरिजाप्रसाद कोइराला राजा बचाउन चाहन्थे तर माओवादी राजतन्त्र नै मास्न चाहन्थे । गणतन्त्र नै ल्याउन माओवादी सरकारमा गएको हो । फलस्वरुप दिल्लीमा भएको १२ बुँदे सहमतिअनुसार गणतन्त्र आयो भन्ने बुझाइ कवि कार्कीको रहेको छ……
राजा भन्ने नेपालमा ठूलो गौरव हो
गिरिजाले भन्न थाले राजा मास्ने को
माओवादीले भन्न थाले नेपालमा राजा खराब छ
गिरिजाले भन्न थाले राजा मासे नेपाल धराप छ । माओवादी र राष्ट्रवादी ः पृष्ठ-२१
अन्तमा स्वतन्त्र र समृद्ध नेपालको निर्माण गर्ने चाहनाले ओतप्रोत वृद्धकवि लेखबहादुर कार्कीको सपना पूरा गर्न हामीले कम्मर कसेर लागेमा मात्र नेपालआमाका सच्चा सन्तती कहलिन सक्छौँ । राजनीतिमा प्राकृतिक सम्पत्तिमा सामाजिक आर्थिक अवस्थामा देखिएका जटिलताहरू र विकृतिहरूलाई निर्मूल पार्ने महान् अभियानमा सरिक भएका वृद्धकवि लेखबहादुरलाई आफ्ना प्रौढ अभिव्यक्ति जनसमुदाय समक्ष राख्ने र जनता जगाउने अभियानमा हामीले पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउनु वााछनीय छ भन्दै कवि आफ्नो गन्तव्यमा पुगून् भन्ने शुभकामना दिन चाहन्छु ।
२०६६।१०।२५ तपेश्वरी- १ उदयपुर
