Skip to content

होली: हाम्रो मस्तको चाड !

  • by


बसन्तको चाड आहा,बसन्तनै जस्तो!
    खेलुँ-खेलुँ,हेरुँ-हेरुँ,लाग्छ किन यस्तो? 
    बुढा-बुढी,केटा-केटी,तन्नेरीको चर्को!
       होली भन्ने रमाइलो,चाड हामी-हरुको!    

साथीभाई मिली खेल्दा पानी चिसियो,
खानेपानी छैन बरै!फोहोर मिसियो!
    लोला-रँग हाल्दा सोच,दिल नघोचोस्!
    अनूशासन् भित्र बस,दुख नपरोस्!  

रंगीएका, भिजिएका, रँग-अँग भरी!
     आपसमा प्रेम-वार्ता,दिल-खुस गरी
     प्रक्रितीको मिठाशमा,शान्ति वरिपरि!
          केटा-केटी उफ्रन्छन् र हाँस्छन् मरीमरी!   

हुरी चल्छ चैत झरी, मन्द-बैशाखमा!
    मौसमले होली खेल्छ,घर आँगनमा! 
    तेरो-मेरो छैन त्यहाँ,फुल्छन् साना फूल!  
         माहुरीले मह काड्छ,पूतलीको हूल!

आपसको रीस-राग हटी जाने होकी?
     राजनीति,धर्मनीति सबै मिल्ने छ की?
     देशै यौटा मँगलमा जान्छ होली खेली,
          मुस्कुराँउछन् हिमाल त,लच्की नदी-वेली! 

खेतिपाती उब्जनीको,शुरु हुन्छ वेग,
    डाँडा-पाखा सँगीतले गुँजने छ भेग! 
    मस्ती मस्ती फाँटमा छ,धन्य वशुन्धरा!
         उल्लाश र उमँगले नाच्छन् गरै-गरा!   

नदि-नाला तन्नेरी झैँ मस्की,मस्की बोल्छन्!
    अर्ध-नग्न,लाजै-मारी हिमाल-चोली खोल्छन्!
    पहाडमा झर्ना-झरी सुस्काउन थाल्छन्,
          बसन्तमा देव-देवी सिँन्दूर्-टीका हाल्छन्!

रुख-हरु नाङैँ नाँगा,लाजै छैन हेर!
दुइचार मैना लूगा हेर्छन्,फेर्छन् उत्निखेर! 
     धान-बाला लहलह खेत सुत्केरी झैँ,
     अनाज र अन्न पस्की,ढल्छन् बरी लै! 

प्रेम-लीला,माधुर्यता परम्परा गाथा!
नेपाल र नेपालीको,अमूल्य छ नाता! 
     ईश्वरीय देवभुमी प्रक्रितिको साथ,
     बुद्ध-हाम्रो मुटुभित्र-शिव हाम्रो माथ!       

धर्ती पनि होली खेल्छे गर्मी-वर्षा-हिँउ,
जाडो निक्कै कठाँग्रिने,तूसारो नै दिउँ?
    पानी पर्छ नरोकिने, कैले?मीठो घाम,
    फुमि-फिरी नथाक्ने यो धर्ती चारै-धाम!    

भावना र आत्मियता समाजमा आउन्,
मुलुकमा शान्ति-प्रेम,विकाशले छाउन्!
    स्वस्थ-रँग,सुरक्षा र शिक्षा अब जागुन्,
    अन्ध-अज्ञान्,अविश्वाश,डाँडा-काटी भागुन्!

रँगै-रँग,छाउँ हामी,दिल-खुशी-ज्योति!
बत्ती-बालौँ झल-मल्ल घर-दैलो पोती!
    जन-जाति,तेरो मेरो,किन तानातान?
    जाति मान्छे छान तिमी,बन भाग्यवान!

शुद्ध-मन्त्र ‘शान्ति’ हाम्रो,अशुरको नाश
आत्म-शुद्धी सँस्कारले गरी रहोश् बाश!
   विलाशको जीवनमा-सेवा भाव आओश्,
   बाडी-चुँडी,नियममा,प्रेम भाव छावोस्!  

दैवी-होली खेलेका छौँ,ईस्वरीय-लीला,
सत्व-रज-तम मिल्यो,मान्छे रुप-चोला!
    दुई-चार दिन रमाईलो,बोकी थोत्रो झोला!
    हिमाल्-बाट समुद्रमा बग्यौँ खोलै-खोला!   

रँगी-विरँगी होली खेल्छ्न् साधा-निष्ठ-त्यागी!
समताको बाटो उस्को सत्य-शान्त-योगी!
    आकाशैले होली खेल्छ तारा खस्छन् कैले!
    व्रह्माण्डै यो घट्ने-बढ्ने,पुग्ने को हो पैले?   

कालो-सेतो-खैरो रँग खेल्दै छौँ है हामी,
सँसारमै समानता,देखौँ,बनौँ,ज्ञानी!
    गरीव र धनी-रँग,सबै एक हो कि?
    उदारले बाचौँ अब धन-मन खोली!

होली खेल्छन् कोही लूगा,गेरु-स्वेतधारी!
कोही रौँ-का होली खेल्छन्,फाल्छन्,पाल्छन् दारी!
  चट्ट,सारी ‘टाईट-जिन्स’-मा सोल्टिनीको कूर्था!
  मौसम-मौसमका फरक् नाना,पुग्यो-लायो-फिर्ता!  

झण्डाको कोही होली खेल्छन् पार्टी घेर्छन् कोही!
छेपारो झैँ कुरा फेर्छन्,देख्ने-हाँसो-गोही! 
   जनताको होली खेल्छन्,दानवै झैँ त्राश!
   मूसो जस्तो धुत्ने-चोरी,पर्दा छैन आश!    

नैतिक-को होली खेल्छन्?धर्म-अर्थ गुरु!
राजनीति योटै-आँखा भन्छन् अन्धाहरु!
    आफैँ-खाँउ,आफैँ-लाँउ स्वार्थी रोग लाग्यो!
    सँयम र चरित्रता किन पाखा लाग्यो?

धर्मै गर्ने गुरु पनि छ्यापाछाप गर्छन्,
म नै ठूलो-मेरै राम्रो,किन होला भन्छन्?
    अर्थ-गुरु,शिक्षा-गुरु ‘डा.’-मै हाँ हाँ गर्छन्!
    शिँह,गिद्ध,ब्वाँसो जस्तै,’डाँ’कु-चोरी गर्छन्!  

कु-शिक्षा र सँपत्ती चैँ,सूचनाले खायो!
सज्जनको-सँस्कारको,कसले गुण गायो?
   बाबु-नानी खेलुन्,पढुन्-हाम्रै आँगनमा!
   पिचकारी,पुस्ठकारी मिठो भावनामा!   

वासनाको होली खेल्छन्,बुज्रुकहरु पनि!
आउने-जाने ‘चौरासी यो’ छैन केही भनि!
    प्रकृति र पुरुषमा देखि,बुझि,जानी! 
    तप,साधनामा रत,सद्गुरु ज्ञानी!        

ढुँगा किन मूर्ति बन्छ?रुप-सीप खोली!
जडलाई चैत्यन्नता दिन्छ कला-होली!
    भावना जो बस्दै जान्छ,संस्कारको विज!
    पहाडको ढुँगा पनि-बन्छ देव,जीव!  

सन्देश यो आँफैलाई,भोलि-हिजो-आज,
हिमालमा पग्ल्यो-पानी,समुद्रमा छाल! 
      गरिबीले रँगिएको सँस्क्रितीको गर्व!
      सौगात यो विश्वलाई,हाम्रो होली पर्व!  

अनन्तगोपाल रिसाल (26th Feb 2010)

Leave a Reply

Your email address will not be published. Required fields are marked *