Skip to content


हलो जोत्दा जोत्दै
फोन आयो पार्टीको
आफू त अब
काठमाण्डौं गइन्छ
मन्त्री नि भइन्छ
नूनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बेस्सरी बढाइन्छ
कमिसन नि पाइन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।

खलो पोत्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
राजधानी गइन्छ
मन्त्री नि भइन्छ
मान्नेलाई चुनेर
नमान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई ठीक पारिन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ
जसरी हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।

घाँस काट्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भइन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रष्टचारी, दुराचारी
सबको बिल्ला लाइन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।

हाँस मार्दै गर्दा
फोन आयो नेताको
आफू त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भइन्छ
महँगो टाइ-सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
ह्विस्की र पोर्क खाइन्छ
डलर नि पाइन्छ
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *