Skip to content


समयसँगसँगै थिचिदै गएका सपना
सानासाना आँखामा देखिने इन्द्रेणी
समय सँगसँगै अगोचर हुँदै गएका
कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै
चिसोले कठ्याङ्ग्रिएका मानिसहरू
आफैँले बनाएको मोटर र रेलले किचेर मरेका आत्माहरू
आफैँले उडाएको हवाइजहाजको
स्वप्नयात्रामा बिताएको जवानी
सानो घर, खरबारी र ढुङ्गेधारा
मसिना बुट्टाले सजाइएका झ्यालढोका
र कलापूर्ण टुँडालहरू
लेखेका सिलोक र भरेका भाका
हालेका मतपत्र, उमारेका फूल
हुर्काएका डिंगाबाछा, खनेका डहर, बनाएका साँघु
रोपेका वरपीपल
चिनेका चौतारी
जोगाएको पानीको मूल
समय सँगसँगै प्लास्टिकको थुप्रोमुनि
थुप्रोमुनि अर्को थुप्रोमुनि अर्को थुप्रो
कसैले पनि नचिनेर
लासमाथि लास, त्यसमाथि थुप्रै लास
आफ्नै विचारले क्षत्विक्षत् पारी फ्याँकिदिएका
लासको चाङ ।
हुन त ती कुहिनै नपर्ने गरी थिचिएर गए
सतहमा नदेखिने गरी
हुन त कोइला बने तिनीहरू फेरि मिचिएर गए
कोइला पनि थिचिएर हीरा बने तिनीहरू
ऊर्जाशील, चम्किला, थोरै, दुर्लभ
उनीहरू नै त हुन् मेरा पावरहाउस
जब चम्कनेछन् स्वयं
नष्ट हुनेछ अँध्यारो ।
हेर्दा पावरहाउसमा कतै देखिन्न जस्तो छ यो पावरहाउस
तर भित्रभित्रै प्रवाहित हुन्छ त्यो कतै
यता हेर कमरेड
ओ मेरो समयका भयानक कमरेड
श्यामलको मूर्ति उभ्याइएको जमिनमुनि
कोही छ रुवाइएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *