देश भएका हामी देशबिहीनहरू
जागिर खाएइका बेरोजगारहरू
नेता बनेका नेतृत्वहीनहरू
सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू ।
हामी सबैले दाह्रा किटेर
मुड्की उठाएर भनौँ
एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ
उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट
यो त्रिकालदर्शी समयले के आश गर्ने ?
आफ्नै पाइला हिँड्ने यो घाम/छायाले
हाम्रै भाग्य र भविष्यको कस्तो परिकल्पना गर्ने ?
आफ्नो थाप्लोमा आफैँले
तातो भुतभुते खन्याएर
हामी आफैँ दनदनी बलिराखेका छौँ
आफैँले आफ्नो बाटो भताभुङ्ग भत्काएर
उद्देश्यहीन, हामी वेवारिसे दौडिराखेका छौँ
निर्भय छाती खोलेर हामी आफैँले भनौँ
हामी हाम्रै सोचहीन भकुण्डे टाउकाहरू बटुलेर
कुन सर्वोन्नत लक्ष्य पहिल्याउन यात्रापथमा लम्किराखेका छौँ ?
पराईलाई पानीको मुहान सुम्पेर
हामी तिर्खा क्रान्ति बौलाइराखेका छौँ
आफ्नो स्वाधिन, सार्वभौम अधिकारलाई
आफैँले बाढीको फूल लत्याएर
हामी हुतीहारा/कायर उफ्रिराखेका छौँ
आफ्ना यश्वस्वी पुर्वजहरूको पौरखलाई हिकेर
हामी पराईका पाइला पैंचो पुजिराखेका छौँ
र, आफ्ना ज्योतिर्मय नयनमा गान्धारी पट्टी बाँधेर
हामी अन्धकारलाई आफ्नो ठानिराखेका छौँ ।
हामीलाई हेरेर आकाश चिन्तित छ
हामीलाई सुम्सुम्याएर धर्ती मुर्छित छ
के हामी नक्कली आकृतिका बुख्याँचाहरू हौँ ?
हामी के छेपाराले भट्याउने निरर्थक कथा हौँ ?
अदम्य साहसका वंश
हामी सृष्टि शिरका श्रीपेच
खै ! आज हाम्रो अदम्य आँटको तेज ?
हामी उन्मुक्त पछीका गीत
हामीभित्रै छ हाम्रो हित/अहित
मनभरि उदाउने घाम/जूनलाई चुँडेर
वनभरि नाच्तै डुल्ने स्वतन्त्र प्वाँख भुलेर
कठै ! चर्‍याइरहेका छन् हाम्रा हरियाली मनहरू
रोइरहेका छन् निर्झर नदी/हिमालहरू
यी रातका थोत्रा रित्ता धोक्रा बटुलेर
होशहीन हामी लाटाकोसेराहरू
आफ्नै आँगनको उज्यालो घाम खुँदेर
पत्करको रत्यौली नाचमा हामी उद्देश्यहीन कुदिराखेका छौँ आज ।
आत्मसम्मानको शिर कटाएर
मुटु पराइको पाउमा चढाएर
समयको उज्यालो भाग्य र भविष्यलाई
हृवारहृवार्ती खरानी उडाएर
दुश्मन/देशघाती कोलाविध्वंसीहरूले दिउँसै रात बनाउँदासमेत
कायर हामी हुतीहारा गाँडेभ्याकुरहरू
पीपलपाते ओठ फर्काएर तेर्सिरहेकाछौँ ज्यूँदा लाश बनेर
धिक्कार होस् यो हिर्दोक/पामर युग !
देशको अवशेष सित्तैं बुत्याएका
यी हन्तकालीहरूको अपराध बोझ
आउने युगले बोक्नुपर्ने छ बेकसुर परिबन्दको भारी
हामी कसैका हैनौं
कोही हाम्रा हैनन्
हामी न्यायका लागि
र, न्याय मात्र हाम्रो हो ।
अरूको विषाक्त आदेश परिपालना गर्न
हामी आफैँलाई समाप्त पार्ने बारुद/गोला बोकेर
आफैँले आफूलाई विध्वंस फटाइराखेका छौं आफ्नो अस्तित्व
प्रलोभनले लादेर गधा बनाइराखेको छ हाम्रो बुद्धि
र, हामी खलाँती बुद्धहरू
आफ्नै जन्मभूमिलाई अन्यायको साङ्लोले भलिभाँती पाता फर्काएर
दिग्विजयी उद्घोष बौलाइराखेका छौँ युगौँदेखि ।
हुरीका चराजस्तै
हामी एक्लाएक्लै अत्तालिरहेका छौँ
आफ्नो बास आफैँले लथालिङ्ग भत्काएर
हामी आफैँदेखि भयभीत/सन्त्रस्त छौँ
आफ्नो हृदयको स्वतन्त्र धुन मुरली परचक्रीलाई सुम्पेर
हामी मियो बिनाको दाइँ आँधी कुदिराखेका छौँ
यो कारुणिक क्रन्दनको राँको सल्काएर
तिमी देदिव्य नयन मुस्कुराइरहेका छौँ आकाश
घाम त्यहीँ छन् झरिझुप्प जून/तारा बोकेर
किन हो त्यो मौनता कहिल्यै भनेनौ खुलेर
हामी कसैका हैनौं
कोही हाम्रा हैनन्
हामी न्यायका लागि
र, न्याय मात्र हाम्रो हो
यस धरतीमा प्रकाशपूर्ण उत्सव रमाउन
हेऽ ज्योतिर्मय ज्योति !
तिमी पनि एकसाथ प्रेमानन्द मुस्कुराउँदै आऊ ।

-वशिष्ठधाम, निर्झर सिन्धुबस्ती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *