छोरी विभा
म काठमाडौँबाट अमेरिका आइपुगेको महिना दिन हुन लाग्यो ।
अष्ट्रिनमा छु । तिमी वासिङ्टन डी.सी.मा छ्यौ । हामी निकै टाढा छौँ । प्रत्येक दिन फोन सम्पर्क हुन्छ । वैज्ञानिक चमत्कारले गर्दा एउटा व्यक्ति अर्को व्यक्तिबाट जतिसुकै टाढा भए पनि नजिकै हुन्छ । विश्वगाउँ भएको छ, म गाउँले । गाउँका चौतारामा सुस्ताउन पाउँदा रमाइलो लाग्छ । यतिबेला म तिमीसँग पत्रबाट अन्तरहृदय खोल्दैछु । गाउँ होइन ।
छोरी ! म कसरी भनौँ अमेरिका मन पर्यो वा मन परेन भनेर । तिमी सोध्छ्यौ यस या नोमा मसँग । यति सजिलो उत्तर छैन । यो प्रश्नको उत्तर घुमाउरो पाराले दिन सकिन्छ तर कम्प्युटरको भाषामा ठ्याक्क दिन मिल्दैन । यस्तो हुँदाहुँदै पनि म तिमीलाई तिम्रो प्रश्नको यथाशक्य उत्तर दिने जमर्को गर्दैछु । सटिक जवाफ होस् भन्ने मेरो चाहना छ । म के हुँ ? के खोज्छु ? केमा रमाउँछु ? जवाफ विक्षुब्ध छ । मको संसार भिन्न छ । इहलौकिक र पारलौकिक वितृष्णाहरू यायावरीय फन्का मारिरहेका हुन्छन् । व्यक्ति तिनै अर्धचेतन मूर्छनाहरूमा नयनाभिराम आनन्द लिइरहेको हुन्छ । ऊ जान्दैन, ऊ केमा खुसी हुन्छ । केमा दुःखी हुन्छ । हाँसो र आँसु मात्रै सत्य होइनन् । सुख र दुःखको सत्य निरूपण दुस्कर छ ।
संसारका प्रायः मानिसहरूको कल्पनाको चरम स्वर्ग हो अमेरिका । कसैले माया गर्छन् । कसैले दुत्कार छन् । कोही त्यहाँ पुग्न अपहत्ते गर्छन् । त्यहाँ जान र रमाउन चाहनेहरू आफ्नो घरद्वार, जग्गा जमिन, लोग्ने-स्वास्नी, चटक्कै छोडेर दूतावासमा पसारो पर्छन् । दिने र त्याग्न हुने जति सबै कुरा समर्पण गर्न तयार हुन्छन् । यसरी सर्वस्व समर्पण गर्दा पनि सबै त्यता जान योग्य हुँदैनन् । योग्यता दाताको नीति र इच्छामा निर्भर गर्दछ । यस्तो कठिन परीक्षामा उत्तीर्ण हुनेहरू अमेरिका पुग्छन् । नहुनेहरू थेचिन्छन् । हामी नेपाली । निधारमा राता अक्षता, घाँटीमा फूलको माला, हातमा भिसा र पासपोर्ट बोकेर अमेरिका पुग्न चौ चौ गरेका थुप्रै नेपालीहरू एयरपोर्टमा देखेको थिए । अमेरिका आएपछि नेपालीहरूजस्तै मेक्सिकन, इन्डियन, चाइनिज, थाई, कोरियन आदि थुप्रै विदेशीहरू अमेरिकालाई आफ्नो देशभन्दा उच्च ठानेर यतै रमाएको देखेँ । यसरी विपन्न र अर्ध विपन्न देशका नागरिकहरू किन यहाँ रमाउँछन् ? के छ यहाँ ?
मेरो अनुभव ः अमेरिका म हो । यहाँ सर्वप्रथम म आउँछु । मैले खानुपर्छ । खान कमाउनु पर्छ । थकाइ लाग्छ काम गर्दा । आराम चाहिन्छ । मन लागेका कुरा गरेर आराम गर्न सकिन्छ । पिएर । नाचेर । गाएर । सुतेर यस्तैयस्तै । म को इच्छा पूरा गर्न व्यक्ति काम खोज्छ । क्षमताअनुसार उसले काम पाउँछ । समय लाग्न सक्छ तर उसले काम पाउँछ । हाम्रो देशमा जस्तो हात मल्ने काम हुँदैन । हुन्छ-हुन्छ । हुँदैन-हुँदैन ।
म पछि पत्नी छोराछोरी आमाबाबु आउँछन् । सम्पत्ति आर्जन सन्तानको लागि होइन स्वको लागि हुन्छ । अंश दिन पर्दैन । खोज्न पाइन्न तर बाबुआमाको सम्पत्ति बचेछ भने छोराछोरीले पाउँछन् । आफ्ना सन्तानसँग ठ्याक नखाए सम्पत्तिवालाले अरूलाई सम्पत्ति दान गर्नसक्छ । आफ्नु पाल्तु कुुकुरका नाममा त्यो धन राख्न सक्छ । उजुर बाजुर लाग्दैन ।
हाम्रो देशमा छोराछोरीको भविष्यका लागि द्रव्य आर्जन गरिन्छ । यहाँ त्यसो होइन । सम्पत्ति कमाउन कम्पिटिसन, कार फेर्नमा र खानपिनको औकात देखाउन प्रयोग हुन्छ । तेरोभन्दा मेरो कार राम्रो । तँभन्दा म राम्रो रेष्टुरेन्टमा जान्छु, आदि ।
यहाँ दुई वर्ग देखेँ । काम गर्ने र नगर्ने । काम गर्ने वर्गमा स्वीपरदेखि सचिवसम्म पर्छन् । कसले के काम गर्छ भनेर सोध्दैन कसैले । जो काम गर्छ ऊ त्यहाँ सम्मानित हुन्छ । यसरी सम्मानित हुने, व्यक्तिको अस्तित्वमा कसैले हिलो छ्याप्ने दुस्साहस गर्दै गर्दैन । जो काम गर्दैन, ऊ त्यहाँ फटाहामा दर्ता हुन्छ । धन भएका तर काम नगर्ने मानिसले यहाँ पटक्कै सम्मान नपाएको देखेँ मैले ।
नारी र बालकको सम्मान भएको देखेँ । नागरिक स्वतन्त्रता । लोग्नेले हाम्रोमा जस्तो स्वास्नीलाई जथाभावी भन्न, अराउन, दबाब दिन, मानसिक पीडा दिन र अधिकार हडप्न पाउँदैन रहेछ यहाँ । यतिसम्म कि लोग्नेले आफ्नो श्री सम्पत्ति बेच्दा, रिन लिँदा, तिर्दा गृहलक्ष्मीको स्वीकृति चाहिनेरहेछ ।
क्यालिफोर्नियामा मेरो एक जना साथीले आफ्नो पाँच कक्षामा पढ्ने छोराले स्कुलको होमवर्क गरेन भनेर एक थप्पड दिएछ । छोराले मलाई बाबुले पिट्नुभयो भनेर सुरक्षा निकायमा फोन गरेछ । उसको घरमा सुरक्षा अधिकारीहरू तुरुन्त आएछन् र बाबुछोरालाई सम्बन्धित ठाउँमा पुर्याएछन् । बाबुलाई अबदेखि म छोरालाई पिट्ने छैन भन्ने लिखित कबोल गराएर छोडेछन् । यो उदाहरण हो । बालक-बालिका, युवा-युवती, आमा-बा । आफ्नो क्षेत्रमा सबै स्वतन्त्र छन् । एकले अर्काको अधिकार हनन गर्न पाउँदैन । गर्दैनन् । छोराछोरी-आमाबाको मुख ताक्दैनन् । निश्चित समयसम्म सरकारले भरणपोषण, अध्यापन गर्छ । समय पुगेपछि उनीहरू साथी खोजेर अलग्गै बस्छन् । छोराछोरी र आमाबाबुको नियमित भेट हुन पनि सक्छ, नहुन पनि सक्छ ।
हाम्रोमा संयुक्त परिवार छ । परिवारका पचासौँ सदस्य पनि एकै भान्सामा अटाउँछन् । यसबाट फाइदा पनि छ । वृद्धहरूको सेवा पुग्छ । यहाँका सिनियर नागरिकको संरक्षण-पालनपोषण सरकारले गर्छ । कुन व्यक्तिले कस्तो सेवा पाउँछ भन्ने कुरा व्यक्तिले बल हुँदा सरकारलाई तिरेको करमा भर पर्दछ । अर्थात् धेरै कर तिरेकाले धेरै सुविधा पाउँछन् । थोरै तिर्नेले थोरै सुविधा ।
छोरी,
यी र यस्तै नौला कुरा सुन्दा वा देख्दा मलाई अनौठो लाग्छ । म प्रत्येक कुरालाई नेपालको परिवेशसँग दाँज्न खोज्छु, सक्तिनँ । मिल्दैन । पटक्कै मिल्दैन । नेपाली प्रवृत्ति र परम्परालाई यहाँको संस्कारसँग दाँज्न खोजेर कहाँ हुन्छ र ?
म बेलाबेला झोक्राउँछु । कामको सम्मान, स्वतन्त्रता, इच्छाभोजनजस्ता कुराले मेरो दुर्बल मनलाई लोभ्याउँछन् र भन्छन् ए ! नेपाली मनुवा, बस, यतै बस । अमेरिका भूस्वर्ग हो ।’ म स्वर्गको लोभमा पर्दिनँ । सुखेच्छाको उत्कट चाहना हुँदाहुँदै पनि कुन संस्कृति ठीक, कुन बेठीक भनेर रनभुल्ल हुन्छु ।
किन मोह अमेरिकाको ?
म लसएन्जेलसको इन्टरनेसनल एयरपोर्टमा झरेँ । राम्रो लाग्यो । बाथरुम पसेँ । होइन, रेष्टरुममा तातोपानी, चिसोपानी, सेक्ने, पुछ्ने, ताप्ने सबै सित्तै । नौलो लाग्यो । सुखानुभूति । रत्नपार्कदेखि त्रिभुवन विमानस्थलको रेष्टरुम भोगेर भर्खरै यता आएको म यहाँको अत्याधुनिक रेष्टरुम देखेर तीनछक पर्दै भनेको थिएँ- ”यस्तो पनि हुनसक्दोरहेछ रेष्टरुम’ म नेपाली रेष्टरुम र यहाँको रेष्टरुमको तुलना गर्न खोज्छु । तुलना गर्न खोजेको थाहा पाएर कलम लेख्न मान्दैन । भन्छ- ‘कहाँको राजाराम, कहाँको गने भण्डारी’ ।
त्यहाँबाट म प्लेन चढेर अष्ट्रिन पुगेँ । रात सुतेँ । पत्तै भएनँ । बिहान भयो । उठेँ । रेष्टरुमभित्र पसेँ । चमत्कार । भनेँ- – फाल्ने ठाउँ पनि यति सुन्दर) के विधि सुविधा । यही काम म दिङ्लाको जङ्गलभित्र हातमा लोहटा बोकेर सिध्याउँथे । आज यस्तो ठाउँमा त्यही काम गर्न पाइयो । हामी मर्निङवाकमा निस्कियौँ । घुम्यौँ फर्कियौँ । हाम्रा पाउँमा जुत्ता थिए । एक घण्टा रनवन चाहारेर घरभित्र छिर्यौँ । साथी लमकलमक हिँड्न थाल्नुभयो कार्पेटमाथि । म उभिएँ । जुत्ताको फोहोर कार्पेटमा लाग्ला भनेर डर लाग्यो । जुत्ता हेरेँ । केही थिएन । म पनि कार्पेटमाथि चढेँ । हिडेँ । आम नेपालीहरू कार्पेटमा बस्न पाउँदैनन् । जो बस्छन्, उनीहरू कार्पेटलाई सुव्यवस्थित गर्छन् । एकघण्टा वन जङ्गल घुमेका जुत्ताले कार्पेटमा टेक्ने कुरा नेपाली समाजमा अकल्पनीय मानिन्छ । म झस्केँ ।
म नेपालमा मित्रहरूलाई मजस्तै ठान्थेँ । यहाँ उनीहरू अमेरिकन भइसकेछन् । अपनत्व अल्झियो । मन बल्झियो । आत्मिक असक्षता उदायो । म क्षत्विक्षत् भएको विरुप मूर्ति बनेँ । एउटा मूर्ति जो बोल्दैन, सबैले सम्मान गर्छन् ।
मूर्ति घुम्न हिँड्यो । म डुल्न उनीहरूसँग गएँ । नौला डिजाइनका गाडी । भित्र छिर्न म सकसकाएँ । पसँंे । बसेँ । गाडी कुद्न थाल्यो । म हेर्न थालँंे । आवासगृहहरू, फराक सडक । व्यस्त गाडीहरू, पोथे्रेवन । भीमकाय घर । सबैतिर सिनित्त ।
बेलुकाको खाने समय भयो । दाल, भात, तरकारी पाकेन । बार्वक्युमा मासु फ्राइ भयो । सित्तन बन्यो । पोलेको मासुसँग चाहिने परिकार बने । हामीले धेरै खाएको देखेर अँधेरी रात झन् कालोमुस्लो हुन थाल्यो ।
छोरी !
म तिमीसँग यी खानपिनका कुरा किन उठाइरहेको छु भनेँ सामान्यभन्दा सामान्य नेपालीले अमेरिकी जनजीवन बुझ्न र पढ्न सकुन् । प्रश्न उठ्न सक्छ, के सबै अमेरिकावासीको खानपान यस्तै हुन्छ र ? मैले घुमेका ठाउँहरूमा बस्ने अमेरिकावासीको दैनिकी यस्तैयस्तै देखेँ खानपानको । सामान्य तलमाथि हुनेकुरा अलग हो ।
एकदिन अष्ट्रिनवासी नेपालीको दिनचर्चा देखेर मैले भनेको थिएँ- ‘दिनभरि काम, रातभरि झ्वाँम । शोक न सुर्ता, भोक न भकारी । काम अनि मस्ती । स्व चिन्ता पर अर्थात् आफूबाहेक सबै पर ।’
कामको सबैले सम्मान गर्दा रहेछन् । काम गर । मरुञ्जेल गर । दायाँबायाँ नगर । गर्न पाइँदैन । कामको समय सिध्याउ । गाडी चढ । मन परेको ठाउँमा जाउँ । नभए घर र्फक । बनाऊ, खाऊ, सुत, घुर ।
एकदिन मैले अष्ट्रिनको लेकसाइडमा पुगेर जलकुण्डमा हेरेँ । त्यहाँको सफा पानीमा थुप्रै नेपालीहरूको प्रतिबिम्ब सल्बलाइरहेको देखेँ । ती छायाँ मान्छेहरू मसँग भन्दै थिए- ‘कान्दाइ ! तपाइँ यतिबेला अमेरिकाको अष्ट्रिनमा हुनुहुन्छ । हामीलाई पनि डाक्नु होस् न । हाम्रा पाखुरा बलिया छन्, काम गर्न सक्छौ । भोज गर्ने धोको छ ।’ पानीमा हेर्दाहेर्दै ती कल्पनाका प्रतिबिम्बहरू विलुप्त हुन्छन् । म सोच्छु-मामको लागि अमेरिका आएर काम गर्दै सुखी जीवनयापन गर्न खोज्ने नेपालीहरूलाई म कसरी अन्यथा भनौ । म उनीहरूको इच्छाशक्ति र स्वाभिमानलाई सम्मान गर्छु । उनीहरूका लागि केही गर्न सक्तिनँ ।
संस्कृति र संस्कार ः हिन्दू धर्म भन्छ -गोमाता (गाई आमा हुन्) उनीहरू मीठो मानेर गाईको मांस भक्षण गर्छन् । हामी भन्छौं- मातृदेवो भव, पितृदेवो भव । व्यवहारमा यस्तो हुन सकेको छैन र पनि यो हिन्दूहरूको आदिम संस्कार हो । अमेरिकामा ज्येष्ठ नागरिक आवासगृह देखेँ । सन्तान गए पनि हुने, नगए पनि हुने । तिरेको करका आधारमा पाउने सुविधाबाट बाँचेका छन् उनीहरू । हामी अंश दिन्छौ सन्तानलाई । उनीहरू दिँदैनन् । कर छैन । आफूखुसी । हामी भेट हुँदा नमस्ते गछार्ंै, हात मिलाउँछौँ । उनीहरू हलो, हाइ गर्छन् । गाला जोड्छन् । अँगालो मार्छन् ग्वाम्म ! नौलो लाग्छ मजस्ता लुतेलाई उनीहरूको नृत्याभिनय देखेर । रिसाउँदा, गाली गर्दा, भकुर्दा पनि हाँस्नु पर्ने, बेसैछ भन्नु पर्ने संस्कृति । बिहेपछि मृत्यु पर्यन्त मन मिले पनि नमिले सँगै हुन्छन् दम्पतीहरू हाम्रोमा । उनीहरूको कुरा बेग्लैछ । मन परुञ्जेल बस । नमिले छोड । नबस । अष्ट्रिनमा एक जना डाक्टरले जचाउँन गएका साठी वर्षे नेपाली बूढाबूढीलाई सोधेछ- ‘यतिका वर्ष तिमीहरू सँगै मिलेर बसेका छौ ?’ घुम्दाघुम्दै मैले देखेका यी सारै थोरै उदाहरणहरू हुन् ।
आफ्नो परम्परा र संस्कृतिको पुच्छर समाएर मात्रै नेपालीहरूलाई नेपालभित्र बाँच्न धौधौ परिरहेको छ । देशमा काम पाइँदैन । मन परेको परदेशमा जान मिल्दैन । के गर्ने अदना नेपालीले ।
तिम्रो अनि मेरो देश, नेपाल, नब्बे प्रतिशत नेपालीहरूले राम्ररी खान पाउँदैनन् । हातमुख जोर्न धौ धौ पर्छ । धेरै नेपालीहरू एकछाक खान्छन् । अर्को छाक पटुका कसेर टार्छन् । सरकार जस्तो हुन सकेको छैन सरकार । बत्ती छैन । पानी छैन । नियम कानुन छैन । जसको शक्ति उसको भक्ति । राजनीतिक दाउपेचले घुटुक्क घुटुक्क निलिरहेको छ, सोझा र निम्छरा नेपालीहरूलाई । जीवनयापन गर्न नसकेर अररिएका नेपालीहरूलाई अमेरिका पस्न प्रयास गर भनौँ कि नेपालतिरै बस भनौँ, म अलमल्ल छु । राष्ट्र, राष्ट्रियता, स्वाभिमान बोकेर कति दिन हौसिने ? शास्त्र भन्छ- यी नभई नहुने कुरा हुन् । पेट भन्छ- भोकै बस्न सक्तिँन । नानीहरू-माम माग्छन् ।
छोरी,
म तिमीलाई माथिका कुराबाट प्रश्नको जवाफ खोज्न अभिप्रेरित गर्छु । म अरूजस्तै एक नेपाली हु्ँ । देशको उन्नति हेर्न चाहन्छु । रमाउन खोज्छु । सबै रमाएको हेर्ने धोको छ । अरूका जस्तै मेरा थुप्रै चाहनाहरू सुसुप्त अवस्थामा मेरै अगाडि लम्पसार परेर सुतेका छन् । म स्वाभिमान बचाएर सुखसँग बाँच्न चाहन्छु तर मेरो मुलुकको वर्तमान अवस्थाले मलाई यसो गर्न दिँदैन । हात समात्छ । एकपटक लुसुक्क अमेरिका छिर्ने मन हुन्छ । अर्को पटक नाक रगडेर भए पनि मुलुकभित्रै बस्ने इच्छ हुन्छ । अनिर्णयको बन्दी भएको छ मेरो मन ।
कस्तो लाग्यो कल्पनाको स्वर्ग ः मृत्युपछि पुण्यात्माहरूले स्वर्गको उपभोग गर्न पाउँछन् भन्ने हिन्दूहरूको मान्यता छ । म अमेरिकी जनतालाई के भनौँ ? पुण्यात्मा या पापात्मा । पूर्वजहरू भन्छन्- पापात्माले इहलोकमा यातना पाउँछ थुप्रै । अमेरिकी लाइफ स्टायल देखेर मेरो एक मन भन्छ- ‘यी सबै मोरामोरीहरूले साँच्चै पुण्य नै गरेका थिए कि क्या हो ?
पाप र पुण्यका कुरा पुराना भए । खुइलिइसके । वर्तमानमा घुम्नु राम्रो होला । अमेरिका टेकेकै दिन म झस्केँ । त्यतिबेला म प्रकम्पित भएँ जतिबेला मैले वासवेसिनमा हात धुन जानिन भन्ने अनुभूति भयो । हेर्दै गएँ । डुल्दै गएँ । नित्य नवीन अनुभूतिहरू उदाङ्गदिै गए । पुनपर््राप्ति । सफा, फराक, लामा सडक अनि सडकपेटी, सडकमाथि पुल, पुलमाथि फेरि अरू पुल, बाटो क्रस गर्ने लाइट, डल्ले रूखहरू हिँड्दा मैले यस्तै देखेँ यहाँ । सडक नजिकै उभिएका आवासगृहहरू देखेँ । सारै फुर्तिला लागे आवासगृहहरू । भूकम्प प्रतिरोधक, ठिक्क, परिवार बस्न सुहाउने । नेपाली आवासगृहरूसँग तुलना गर्न मन मानेन । सबै यस्ता पुच्चे घर मात्रै छन् अमेरिकामा भन्नु मूर्खता हुन्छ । कुरा आवासगृहको हो यो । डाउनटाउनका घरहरू जुनसुकै सहरमा टोपी खस्ने देखेँ । उभो फर्किएर टुप्पो हेर्दा घाँटी दुख्यो । तला गन्न सकिनँ ।
मेरो मुलुक जहाँ प्रकृतिको साम्राज्यबाट यता आएको मैले जहिले जहाँ पुग्दा पनि रूखहरूको अवस्था अध्ययन गरेँ । कहीँ कतै पनि नेपालका जस्ता रूख देखिने सबै ठुटे । म धेरै मलहरूमा पुगेँ । ती मलभित्र छिर्दा नौलो अनुभूति भयो । यति धेरै सामान यति
व्यवस्थित ! मलहरूमा र अन्यत्र पनि क्रेडिटकार्डको प्रयोग देखेर म बबुरो छक्कै परेँ । कम आय हुनेहरूले पनि महँगा गाडी किनेर कुदेको देख्दा मन डाहले मुरमुरियो, अमेरिकामा चिहान खन्नुपर्छ, ट्वाइलेट सफा गर्नुपर्छ आदि आदि सुनेथेँ । यी र यस्तै काम मान्छेले गरेको देखिनँ । विज्ञानको चरम उन्नति भएको छ । आज अमेरिकामा विज्ञान अघिअघि हिँड्छ, मानिसहरू उसको पछिपछि हिँड्छन् अर्थात् मलमा, स्टोरमा, खेतमा, घरमा, जताततै कम्प्युटरको प्रयोग हुन्छ । मान्छेको काम कम्प्युटर अप्रेसन गर्ने मात्रै हो । मान्छे चाहिन्छ, काम गर्न होइन कम्प्युटर सञ्चालन गर्न यहाँ अन्तर्वार्ता अनलाइन हुन्छ । अमेरिका, चीन, जापानमा बस्ने नेताहरूले अनलाइन सेमिनारमा भाग लिँदा रहेछन् । पसलमा इबुक किनेर पढ्न पाइँदोरहेछ । थोरै पैसाले डोकाभरि सामान किन्न पाइँदोरहेछ । सय रुपियाँले कुरुक्षेत्र खरिद गर्न पाइने । अनौठो !
म अमेरिकनहरूको अध्ययनशीलताबाट ज्यादै प्रभावित भएँ । जहाँजहाँ उनीहरूसँग भेट भयो किताब पल्टाएकै देखेँ । रेष्टरुमको लाइनमा, ट्रेनमा उभिदा बाटो हिँड्दा, कारको सिटमा बस्दा, चस्मा तन्काएर पढिरहेका हुन्छन् उनीहरू ।
छोरी,
यहाँ आइपुगेका निकै नेपालीसँग भेट गर्ने मौका पाएँ मैले । कोही खुसी देखेँ । कोही चिन्तित । अभद्रबाट भद्रत्व प्राप्तिका लागि नाबालक छोराछोरी र पतिलाई नेपालमा छोडेर वषार्ंैदेखि अमेरिका बस्दै आएका होनहार चेलीहरू भेटेँ । के हो यो ? विडम्बना, वीतराग, ऐश्वर्य लोलुपता ।
नेपालबाट लोग्ने मायाको त्यान्द्रो फ्याँकिरहन्छ अमेरिकातिर । स्वास्नी त्यतै कतै स्टोरमा, रेष्टुरेन्टमा जोतिइरहन्छे । न कमाउँछे । न फर्किन्छे । वितृष्णा, व्यामोह, चामात्कारिक उच्छ्वास । मैले यहाँ नेपालको स्थापित बैङ्कको मेनेजरलाई स्टोरमा काम गर्दै गरेको देखेँ । क्याम्पस प्रमुखलाई स्टोरभित्र काममा संलग्न भेटेँ । अर्का कर अधिकृत काम खोज्दै थिए यहाँ ।
म मनुष्य तर प्राणी होइन । मेरा इच्छा, आकाङ्क्षा, उन्माद, व्यामोह, अतिक्रमण, सुख-दुःख, घर्षण, निनाद, उल्काज्वार, सबैसबै अरू प्राणीसरह नै हुन् । अझ स्पष्ट शब्दमा भन्नुपर्दा म नेपाली हुँ । आम नेपालीको चाहनाभन्दा छुट्टै कुना पसेर घोत्लिनु म मेरो कर्तव्य र सुझबुझ ठान्दिँन । म पनि यतै रमाउन चाहन्छु । कसरी बस्ने ? स्टोरको गेटमा बसेर कविता लेख्दै दिन बिताउने ? झिना मसिना काम गर्ने ? खट्ने अहँ म सक्तिनँ । नसके मात्र छैन ।
रातदिन मेसिनभन्दा चर्कोरूपमा घोटिएका मेसिन मान्छेहरू देखेर एकदिन पनि यहाँ आउने मेरो आँट हुँदैन । बाहिरी चकाचौध र आन्तरिक पीडाले म आवश्यक, अनावश्यक अपगुण्ठित हुँदै हाँस्दै घुम्दैछ, हेर्दैछु, डुल्दैछु ।
मभित्र द्वन्द्व छ । म सर्प र डोरी अथवा पानी र पृथ्वी छुट्याउन सकिरहेको छैन । लाटाले पापा हेरेजस्तो, अमेरिका हेरिरहेको छु । मभित्र चर्को घर्षण छ ।
जीवन जसरी पनि चल्न सक्छ । समुद्र तर्न केराको थाम, फल्याक, नाउ, पुल, नवीन वैज्ञानिक उपकरण जे सुकै प्रयोग गर्न सकिन्छ तर पारि पुगिन्छ नै भनेर ठोकुवा गर्न सकिन्न । तर्नेहरू तर्छन् । झर्नेहरू र्झछन् । मर्नेहरू मर्छन् । यस्तै ठान्छु जीवनलीला । जोसुकैले समुद्र तर्ने प्रयास गर्नुपर्छ ।
यतिबेला म सजिलोका लागि पुलबाट तर्ने प्रयास गर्दैछु । तर्ने मौका नपाए भोलि मैले केराको थाममाथि चढेर जीवन समुद्र तर्नुपर्ने हुनसक्छ । केराको थाममाथि चढ्दा म समुद्रको बीचमा डुब्न सक्छु । त्यतिबेला तिमी अर्थात् मेरा सन्तति वा आफन्तहरू वारि बसेर हेर्ने छौ । रुने छौ । मेरो इहलीला समाप्त हुनेछ । अर्थात् म गएको गएकै हुनेछु । पारि पुग्छु भनेर केराको थाममाथि चढेको म पानीमा डुबेर मरेजस्तै हुन् दुर्बलका महत्त्वाकाङ्क्षाहरू ।
छोरी,
अतीत वर्तमान हो र वर्तमान नै भविष्य हो । म र मेरो अतीत तिमी हौ । तिम्रो अतीत नै वर्तमान हो । अतीतको काँधमाथि चढेर आज तिमी डीसीमा वल्र्डबैङ्कको जागिरे भएकी छ्यौ । म छोरीको उत्तरोत्तर प्रगति देखेर साह्रै आल्हादित भएको छु । यो मजस्ता दिङ्लालीहरूको लागि अहंको कुरा हो । महान् उपलब्धि ।
म तिम्रा प्रश्नको सटिक जवाफ दिने प्रयासमा छु । लहरो तान्दा पहरो गर्जिन्छ । सोझिँदैन कुरो । माकुराको जालोजस्तै बेरिन्छ । भनौँ के ? नभनौँ के ?
छोरी,
अमेरिकाका फराक’ चिल्ला र सफा सडकमा महँगा गाडीभित्र बसेर निकै घुमेँ । धेरै ठूला मलहरू हेरेँ । क्रेडिटकार्डको यत्रतत्र प्रयोग हेरेँ । मीठो-मसिनो खाएँ । उच्चतम आनन्दसँग सुतेँ । अमेरिकी जीवन स्टाइल हेरेँ । समय बुझेँ । पारिवारिक चिन्तन सुनेँ । बाटो हिँड्दै-पढ्दै गर्ने नागरिक देखेर अध्ययनको महत्त्व बुझेँ । श्रमको महत्त्व सम्झिएँ । यस्तैयस्तै ।
मैले नेपाल छोडेको एक महिना भयो । यतिबेला मलाई पानी, चरा र प्रकृतिको निनाद सुन्ने औधि रहर छ । किन भनेँ यहाँ चराहरू कराउँदैनन., पानी कड्किदैन, शून्य छ प्रकृति-निर्वस्त्र । मलाई नेपालका भीर-पाखामा सुुसेल्दै हिँड्न मन लाग्छ । पावन भागीरथीको मूलस्रोत हिमालयको काखमा बस्न मनलाग्छ । प्राकृतिक चित्र-विचित्र निनादमा स्वर थप्न मन लाग्छ । एकै छिनमा म मेरो भोजपुरको दिङ्ला पुग्छु । लप्सीघारी र गौचरनमा नाङ्गा पैताला गाईवस्तु धपाउन थाल्छु । त्यहीँ मन रमाउँछ । त्यही छन् साथी सङ्गती । भो छोरी, अमेरिकामा डलरको खेती नगरौँ ।
