Skip to content


नयाँ सडकको
पिँढीमा बसेर
नयाँ नेपालको मेरो
शरीर निहालेँ
तिल चामल फुलेका मेरा
कपालमा कालो दलेर
मैले बुढ्यौली कम गरेको थिएँ
नयाँ सडकमा
बसेर मैले आफैँले आफैँलाई निहालेँ
घडी हेरेँ दिउँसोको
एक बजेको रहेछ
घडी कहाँ बनेको रहेछ ?
हेरेँ मेड इन जापान
वा, जापानिज घडी
म दङ्ग परेँ
जुत्ता निहालेँ
मेड इन हङकङ
एवं क्रममा मैले
आफ्नो कौतूहल मेटाउँन
मैले लगाएका सबै चीजहरू
क्रमशः निहालेँ
सर्ट, पाइन्ट, गन्जी, कट्टु आदिआदि
कोही भारतमा बनेका थिए, कोही चीनमा
हातमा बोकेको ब्याग निहालेँ
त्यो पनि चीनमा बनेको रहेछ
म नेपाली भएकोमा गर्व छ मलाई
र मेरो नेपालको नयाँ सडक
मलाई निकै प्यारो लाग्छ
म दिनहुँ यहीँ बस्छु

मैले शरीरमा लगाएका लुगाहरू निहाल्छु
म र मेरो लुगाभन्दा बाहेक
मसँग एउटा चिनो छ नेपालको
सबै अड्डा अदालतमा दिनहुँ काम लाग्ने
यो चिनो मेरो खल्तीमा सधैँ हुन्छ
हुन त
मेरो गौरव भनेकै यहीँ हो
एउटा नागरिकता र अर्को सगरमाथा
सगरमाथा नाङ्गै रहे पनि
हामीलाई स्वाभिमान सिकाएर नाङ्िगएको छ
तर म नाङ्िगन सक्तिन त्यसरी
किनकि मेरो इज्जत जान्छ अरे !
मैले मेरो इज्जत जोगाउन
विदेशी खोल ओडिरहेको छु
सगरमाथाले भने मलाई बारम्बार
नाङ्िगने सल्लाह दिन्छ
सपना होस् या विपना
आफ्नो स्वाभिमानको खातिर
म अब साँच्चिकै नाङ्गिने नै छु ।
त्यही नयाँ सडकको पिँढीमा
म आफ्नो निर्वस्त्र शरीर लिएर
बस्ने छु,
म बौलाएको ठान्नेहरू
मेरो वरिपरि झ्याम्मिरहेका हुने छन्  ।

-काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *