समय गतिशील छ भन्ने कुरा तथा समयले ठूलो ठूलो घाउ पनि पुर्न सफल हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । मेरो दैनिकीमा गएको १२ र १३ गते मैले थप अक्षर कोर्न सफल नहुनुमा पनि एउटा कारण रहेको थियो मूल रुपमा भने विविध कारणहरू त आइनै हाल्छन् । मैले यो सेतो पानालाई धेरै कुरा सायद अवगत नगराउनु पर्ला यहाँ । किनकि ऊ त अन्तर्यामी नै पो छ नि हौ । मनमा यस्तै के के खेलाउँदै लेख्न थाल्छु म ।… हो साँच्चै मैले आफूलाई सामान्य नै बनाईसकेको छु । लाग्छ मलाई अहिले केही नै भएको छैन । हो केही भएको छैन । मैले आजको यो दैनिकी सुरु गर्नुभन्दा पहिले हिजो र अस्तिका केही सारांश अवस्य नै कोर्नुपर्ला कि जस्तो लागेर आउँछ ।
म सम्झिन्छु त्यो दशैंको टिकाको भोलिपल्टको दिन थियो होला सायद । म ज्यादै हर्ट भएको थिएँ । मैले बोलाएको थिएँ उनीलाई भेट्नका लागि । यो क्रम म विराटनगर प्रवेश भएको दिनदेखि नै थियो । तर त्यत्तिका दिन वितिसक्दा पनि उनीसँग भेट हुन सकिरहेको थिएन । फोनमा फोन र मेसेजमा मेसेजको क्रम बढीरहेको थियो उनीसँग । दिनको १ खेप नबोलिकन त खाएको नपच्ने झैं म चाहिँ भएको थिएँ । उनी के थिइन् उनी नै जानुन् । मेरो प्रयास थियो । तर उनले नभेट्ने भनिन् अन्त्यमा आएर । मैले थाकेर चिलले उडाएको चल्ला छाडेझैं उनीलाई भेट्ने आशा नै छोडिदिएँ । अब उनीसँग नभेट्ने निष्कर्ष निकालेर मनलाई सान्त्वना दिएँ । उनले कारण पनि भनिन् तर त्यो कारणमा कुनै दम थिएन । किनकि जसको कारणले उनले भेट्दिन भनिन् त्यो मेरै साथी बलराम थियो । तर उसले त्यस्तो केही नभनेको पनि मलाई भन्यो ।
मैले थप कारण अब बुझ्न चाहिन । एक किसिमले भनौं म हर्ट भएँ अथवा रिसाँए नै भनौं । भोलि वा पर्सिपल्ट उनले सिनेमा हेर्न जाने र त्यहीँ भेट्ने प्रस्ताव राखिन् । उनले मेरो प्रस्ताव बारम्बार अस्वीकार गरेको हुँदा मैले पनि त्यो प्रस्ताव अस्वीकार गरिदिएँ । गल्ती सायद मेरो त्यहीँ भयो कि मलाई थाहा छैन ।
काठमाण्डौ आउँदा बाटाबाट मैले १/२ वटा वियोगी sms गरिदिएँ । मैले एक मनले यो सम्पर्क अब टुट्नु पर्ने मन मनमा अठोट नै लिएको थिएँ । तर खै ! किन हो उनको आवाजमा त्यस्तो के खिचाव छ म बारम्बार उनीप्रति तानिन्छु । फेरि हाम्रो बोलचाल भो। त्यो फेरि पहिलेकोभन्दा झन् गाढा भयो । अब त मैले उसलाई एक किसिमले मेरो अन्तरङ्ग झैं सोच्न थालेको थिएँ ।
समयको कुरा हो मेरो मोबाइलमा freecall आउन रोकियो । तर हाम्रो गफ रोकिएन । त्यसमा पैसाले कुनै बाधा अड्चन दिएन । हालेको ५० रुपैयाँ एक पटकको बोलीमा सकिने अवस्थाहरू पनि उसको आवाजको त्यो आकर्षणले ल्यायो । यसरी पैसा फोनमा सकिन थालेकामा म आफैँ पनि सोचमा नडुबेको होइन । त्यसैले हामीले हप्तामा पालैपालो एकअर्काले गर्ने बानीको पनि विकास गर्ने प्रयत्न गर्यौं । केही हप्ता त त्यो क्रम रह्यो तर फेरि पनि केही समयपछि त्यो क्रम विथोलियो र पुनः पहिलेकै गति लियो ।
समयले अब कोल्टे फेरिसकेको मलाई थाहा थियो । अब उसको डेस्टिनेसन म थिइन । हो साँच्चै भनेको – म थिइन । मलाई यो कुराको आभाष भयो तब जब उसका केही sms हरूमा ‘हजुरलाई पनि’ भनेर ‘पनि’ जोडिएर आउन थाल्यो । मैले यसलाई खासै केही रुपमा लिइन । किनकि मलाई थाहा थियो उनले मेरो साथीलाई मन पराउन थालिन । मलाई मात्र थाहा भएर त भएन । मैले आफ्नो तर्फबाट पनि सकेको पहल गरेँ । उनलाई पनि पहल गर्न भनेँ । उनले पनि सकेको गर्दै गईन तर यता हाम्रो आवाजको सटाईमा अझै कुनै परिवर्तन आएको थिएन । उनीसँग कुरा गर्दा हामी यति खुल्ला भएर कुरा गर्थें सायद सुन्नेहरू भन्थे यिनीहरू प्रेमीप्रेमीका होलान् । तर वास्तविक नजरबाट हेर्दा न मलाई उसँग प्रेम भएको रहेछ न उनीलाई मसँग । अहिले म भन्छु कहीं आवाजसँग पनि प्रेम हुन्छ आवाज जसमा ठोस हुँदैन । आकार हुँदैन । स्वरुप हुँदैन । घनत्व हुँदैन । यो आत्मा हो । यो अमुर्त हो । यो त स्वच्छता हो । र यो हो हाम्रो मन ।
बितेका दुई दिन यस्तै यस्तै कुराहरू सोच्दै अधिक मानसिक तनाव र खिँचावमा डुबे मेरा दिन । एक किसिमको पीडा भएको अनुभव मनले गरिरह्यो । त्यस्तो पीडामा जसमा कोही आत्मीय साथी मबाट टाढा गएको छ छुटेको छ जोसँग मेरो कथम् भेट भए पनि वर्तमानमा जुन रुप छ त्यही रुपमा हुँदैन झैँ । मलाई यो भन्दा अघि मेरो आत्मीय साथी ‘बाबु’ यहाँबाट जागिरको सिलसिलामा विर्तामोड जानेबेलामा भएको थियो । ऊ र म बिगत १ वर्षदेखि १ कोठा एउटै चोटा तथा एउटै खाट र एउटै साथ लिएर जीवन संघर्षमा अगाडि बढ्ने क्रममा थियौं । ऊसँगको बिछोडमा मलाई यस्तै यस्तै मानसिक तनावको अनुभव भैरह्यो केही दिन । तर अस्ति र हिजोमा छुटेको केही थिएन । थियो त केवल सम्बन्ध र साइनोको परिभाषमा थोरै बद्लाव । मैले अब बिर्सेर पनि उनीलाई ‘कालु’ भन्नु तथा घरिघरि ‘प्यारी’ ‘मायालु’ ‘डार्लिङ्ग’ जस्ता प्रयोग गर्नु अब अत्युक्ति हुने अवस्थाको एक किसिमले अन्त्य हुने अवस्था थियो । किनकि ‘बाबु’ र उनी एक अर्का जिउने तथा मर्ने र सँगै जीवन यात्रामा अगाडि बढ्ने एउटा कसिलो सम्बन्धमा गाँसिदै थिए ।
मलाई त्यही सानो कुराको त्यत्रो पीडा अनुभव भएको मात्रै हो । तर त्यो फगतको पीडा अनुभव गराई थियो । किनकि दाल कहाँ झर्यो भागमा भने झैं ऊ त मेरै साथ छ थोरै मैले गर्नु पर्ने व्यवहार तौर तरिकामा परिवर्तन ल्याए हुने हो । तर मेरो मनले सायद यही कुरालाई स्वीकार्न दिमागसँग त्यति संघर्ष गर्नुपर्यो । विष्णु दाइले भन्नुभयो यु आर इन लभ । त के वास्तवमै म प्रेममा परेकै हो त भनी निकै समयको घोत्लाईपछि मलाई लागेको निष्कर्ष त्यही हो । आवाजसँग मेरो प्रेम भएको हो । तर आवाज निराकार हुन्छ निर्विकार हुन्छ र हुन्छ अतूल्य निष्चल र दाग रहितको आत्मा । सायद मलाई उसको त्यो आवाजसँग चै प्रेम भएको होला । किनकि मलाई उनले ३ दिनअघि मात्रै उनको तस्विर मेरो एक साथीको हात लगाएर पठाइन । तर मैले जति नै कोशीश गरेपनि उनको त्यो रुपले मेरो मनमा बसेको उनको आवाजको त्यो स्वरुपमाथि बिजय प्राप्त गर्न सकेन । म एकान्तमा आँखामा चिम्लेर उनलाई सम्झिन्छु । तस्विर हेरेपछि आँखाको त्यो स्वरुपलाई मनले मान्यता दिनुपर्ने हो नि । तर अहँ कानको मान्यतालाई आँखाको मान्यताले केही गरे हराउन सकेन ।
त्यसैले म निष्कर्षमा पुँगे उनको त्यो पवित्र मीठो मधुर आवाजसँग उनले नभने पनि मेरो प्रेम सदा रहिरहनेछ । तर पनि मैले उनीसँगको सम्बन्धमा केही फेरबदल भने गर्नैपर्छ । यही निष्कर्षका साथ मैले मेरा गएका दुई दिनलाई बिदा गरेको छु । हेरौं आउँदा दिनहरू कसरी अगाडि बढ्ने हुन् ।
http://krishnagiri.com.np/?page_id=6
