महाकवि लक्ष्मीप्रसाद देवकोटानै त्यस्ता साहित्यिक युगपुरुष हुन् जसका परिचय दिँदा राष्ट्रले गौरव अनुभव गर्छ । उनी राष्ट्रको आलोक हुन्, नेपाली साहित्य इतिहासका सुनौला पृष्ठ हुन् । ती गौरवशाली व्यक्तिलाई समयमै राष्ट्रले चिन्न नसकेको तितो यथार्थ भने नेपाली समाज र साहित्य प्रेमीहरूलाई सदैव विझाइरहने कुरा हो । उनको विलक्षण प्रतिभालाई कम आँक्ने हिम्मत कसैमा थिएन, त्यसैले उनी कदरका पात्र भए । राज्यले उनलाई जुनप्रकारको सहयोग पुर्याउनुपर्दथ्यो र सम्मान प्रकट गर्नुपर्दथ्यो त्यो चाहिँ गर्नसकेन । दुःख र विडम्बनाको कुरा त्यही नै हो ।
देवकोटाको गरिबीलाई अतिसयोक्ति गरिएपनि उनको आर्थिक अवस्था त्यो हदसम्म सम्पन्न थिएन जसमाथि निर्भर रहेर उनी आफ्नो सम्पूर्ण समय काव्य रचनामा खर्चिन सकुन् मानवीय गुणहरूले भरिपूर्ण उनको सम्वेदनशील स्वभाव, व्यवहार र स्वच्छन्द रम्ने उनको लहडीवानी निश्चयनै अथ आर्जनको प्रतिकुल थियो । यस्तो अवस्थामा उनीप्रति गहन चासो देखाएर राज्यले आर्थिक टेवा दिनुपर्दथ्यो र त्यस्ता अमूल्य निधिको संरक्षण गर्नुपदथ्यो । यदि त्यस्तो हुनसकेको भए साहित्यिक आकाशका ती जगमगाउँदा तारा त्यत्ति छोटो समयमै अस्ताउने थिएनन् कि !
देवकोटालाई आज हामी महाकवि भनेर सम्बोधन गर्छौं । उनका कृतिहरू मुग्धकण्ठले प्रशंसा गर्दै पढ्छौँ र समीक्षा गर्छौं । के राज्यले उनलाई यो पदवी प्रदान गरेको हो ? वा कुनै व्यक्ति विशेषले दिएको हो ? दिएको भए ती पहिलो व्यक्ति को हो ? यो कुतुहलताले लगाएको काउकुती मेटाउने क्रममा यस पंक्तिकारले केही साहित्यकारहरूसँग सम्पर्क गर्दा यस सम्बन्धि लेखहरू पढ्दा सबैको एकैमन पाइएन । कसैले कोटा सिर्जना गरेर ‘महाकवि’ पदवी राज्यले नै प्रदान गरेको हो भने त कसैले यो जनस्तरबाट नै सम्बोधन भएको हो भने ।
यथार्थ चाहिँ के रहेछ भने धेरैजसो साहित्यका पाठकहरूलाई देवकोटाले ‘महाकवि’ पदवीको बाट प्राप्त गरे भन्ने बारेमा खासै ज्ञान रहेनछ । यो प्रश्न राख्दा कतिले अनभिज्ञता प्रकट गरे भने कतिले ढुलमुल जवाफ दिए । यसको अर्थ यस सम्बन्धमा खासै अनुसन्धान भएको रहेनछ ।
डा. चुडामणि वन्धुले मधुपर्क देवकोटा विशेषाङ्कमा दिएको अन्तर्वार्तामा इश्वर बरालले नै वि.सं. २००४ मा आफ्नो लेखमा देवकोटालाई सबैभन्दा पहिले महाकविको उाधि दिएका हुन् भन्दछन् जुनबेला इश्वर बराल समालोचनाको क्षेत्रमा वामे सर्दै थिए । यही कुरालाई साहित्यकार नरेन्द्रराज प्रसाईंले अन्नपूर्ण पोष्ट २८ कात्तिक ०६६ मा प्रकाशित आफ्नो लेखको शिर्षक “देवकोटालाई ‘महाकवि’ इश्वर बरालले दिए” भनेर किटानसाथ पुष्टि गरेका छन् । उनी भन्छन् २००४ सालमा उनले (बराल) देवकोटालाई महाकवि लेखेपछि उनका नाउँमा त्यही सम्मान चलेर गयो र देवकोटालाई लेख्ने गरेको युगकवि वि.सं. २०१० को हाराहारीमा सिद्धिचरण श्रेष्ठमा सारिएको थियो ।
यो कुरासँग देवकोटासँग अति निकट रहेका श्यामदास वैष्णव सहमत देखिनुहुन्न । मधुपर्क देवकोटा विशेषाङ्कको अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ त्यतिबेलाको आधिकारिक संस्था भाषानुवाद परिषद् र नेपाली भाषा प्रकाशन समितिले ‘शाकुन्तल महाकाव्य’ पहिलोपटक प्रकाशित गरेपछि विद्वान बद्रीनाथ भट्टराईले आदरपूर्वक महाकवि भन्नुभएको थियो, त्यसपछि स्वतः महाकवि हुनुभयो । विद्वान प्राध्यापक यादवप्रसाद पन्तको भनाइमा वि.सं. २००८ मा भारतीय ग्रन्थकार राहुल सांकृत्यायन नेपालमा आउँदा भएको वृहत् साहित्यिक गोष्ठीमा । उनले लक्ष्मीप्रसाद देवकोटा कविमात्र नभएर ‘महाकवि’ हुन् । तिनमा भारतका पन्त, प्रसाद, निरालाको संयोजितरूप देवकोटामा छ । त्यसपछि सबैले देवकोटालाई ‘महाकवि’ भन्न थाले ।
यसै क्रममा प्रसङ्ग जोड्दा ‘दायित्व’ पूणर्ाङ्ग ०६६ मा महेश्वर शर्माको भनाइमा पनि यही कुरा उल्लेख भएको पाइन्छ । उनी भन्छन् “भारतीय महापण्डित राहुल सांकृत्यायनले हिन्दी साहित्यका तीन प्रख्यात् कविरत्न पन्त, प्रसाद, निरालाको एउटै रूप हो ‘देवकोटा’ भनेर उच्च मूल्याङ्कन गर्दै उनैले ‘महाकवि’ को पगरीसमेत गुताइदिएका हुन् । यथार्थमा शैली, शेक्सपियर र कालिदासको पनि संयुक्तरुप देवकोटामा देख्न सकिन्छ भन्ने पनि विज्ञहरूको भनाइ छ ।
मधुपर्क विशेषाङ्कमा साहित्यकार शिव रेग्मी भन्छन् “नेपालमा सर्वप्रथम महाकवि शब्दले लक्ष्मीप्रसादलाई नै पुकारियो” तर कहिले र कोबाट भनिदिएको भए जिज्ञासु पाठकहरूको जिज्ञासा धेरै मत्थर हुनेथियो । साहित्यकार दधिराज सुवेदी आफ्नो लेखको शिर्षक “घरका महाकवि, परका विश्वकवि” शिर्षकमा आफ्नो फरक मत जनाउँदछन् । “भारतका राहुल सांकृत्यायनले तीन कवि पन्त, प्रसाद र निरालाको सट्टा स्पष्टसँग मुना मदन, शाकुन्तल र लक्ष्मी निबन्ध सङ्ग्रहको वेजोड प्रतिभाको उचाइ देखाएर लक्ष्मीप्रसादलाई महाकवि भनिदिए । सोको स्थान पाउन योग्य ठहरिए । तिनै कृतिहरूले उनी सिङ्गो एक देवकोटा हुन पुगे ।
त्यस्तै साहित्यकार प्रदीप नेपाल भन्छन् महाकवि सहानुभूति हैन सम्मान पत्र हो । राहुल सांकृत्यायनको भनाइ नै देवकोटाको यथार्थ परिचय हो । मेरा एकजना मित्र पुष्प कोइराला राहुल सांकृत्यायनको दृढ सोचलाई पुष्टि गर्दै त्यसैमा सहमति जनाउँछन् ।
यसरी महाकवि उपाधि कसले प्रदान गर्यो भन्ने कुरामा विवाद देखिए पनि जनस्तरबाट नै महाकवि पद प्रदान गरिएको भन्ने कुरामा धेरैको मन ढल्केको पाइयो । साहित्यकार रमा शर्मा पनि यही मतसँग सहमत देखिन्छिन् । त्यस्तै साहित्यकार नित्यराज पाण्डे, देवकोटालाई महाकवि भनेर जनताले मानिसकेको स्पष्टोक्ति ठोकुवा गर्दछन् ।
कुनै रोचक कुरा उठाऊँ । एकपटक गफैगफको सिलसिलामा केदारमान व्यथित र देवकोटा हिँडेर नै वालाज्यू वाइसधारामाथि पुग्दा, लामो हिँडाइको थकाइले दुबैलाई भोक लागेछ । दुबैसँग नगद रहेनछ । देवकोटाले पसल देखेछन् आफ्नो परिचय बताउँदै म लक्ष्मीप्रसाद देवकोटा हुँ, मलाई महाकवि पनि भन्छन् भनेछन् । भोक मेटाउन पसलेले उनको मिठो बोलीमा मुग्ध भएर बदाम दिएछन् ।
त्यस्तै बनारसमा बस्दा टिकादत्त धितालसँग देवकोटाको धेरै राम्रो सम्बन्ध जोडिएको थियो । धिताल मार्फत् कविता विक्री गराएर दिन गुजारेका थिए देवकोटाले । वि.सं. २०१२ मा नयाँ नयाँ कविता लेखि छपाउन देवकोटाले धिताललाई चिठी लेख्दा चिठीको पुछारमा लेखिने सम्बोधनमा लक्ष्मीप्रसाद देवकोटा मात्र लेखे, महाकवि लेखेनन् ।
पश्चिमी ग्रन्थकार विख्यात लेखक डममोरे अन्तिम अन्तिम अवस्थामा पशुपति आर्यघाटमा देवकोटालाई भेट्न गएका व्यक्ति हुन् । उनी परिचित मोरेलाई अन्तिम पटक देवकोटाले आफ्नो पीडा व्यथा विसाउँदा भन्छन् “म कविमात्र थिएँ । म नेपालका लेखकहरूमा सबैभन्दा अभागी कवि हुँ…………..’ ।
यस्तै यस्तै प्रसङ्गबाट देवकोटा अरूहरूबाट नभइ अर्थात् जनस्तरबाट नै महाकवि भनिएका हुन् र राज्यको यसमा कुनै जिम्मेवारी थिएन भन्ने कुरालाई लिएर तर्क अगि सर्दछ ।नेपाल साँस्कृतिक सङ्घका कार्यालय सचिव रवि ओझा भने श्री ५ महेन्द्रको शासन कालमा गजेटबाट नै देवकोटा ‘महाकवि’ घोषणा गरिएका हुन् भन्दछन् ।
यो कुरालाई खण्डन गर्ने आधार सर्वसाधारण पाठकसँग नभएको होइन । तासकन्द सहरमा आयोजित विश्व लेखक सम्मेलनमा भाग लिन सोभियत सङ्घ गएबापत कविराजा महेन्द्रले देवकोटाको आठ महिनाको तलब रोक्का गरिदिएका थिए । जुन सर्वथा अनुचित थियो । यही घटनालाई कोट्याएर राजा महेन्द्रबाट देवकोटालाई महाकवि पदवी प्रदान गरे भन्ने कुरामा कुनै तुक नभएको सर्वसाधारणको मनमा लाग्नु र यसले च्वास्स बिझाउनु स्वभाविकै हो । अझ यो प्रसङ्गलाई बढी कोट्याउँदा साहित्यकार भैरव रिसालले आफ्नो मनको छट्पटाहट पोख्दा भन्दछन् “एकेडेमीका चान्सलर राजा महेन्द्र नै थिए, एक कवि हृदयका राजा ! गीतकार राजा !! उसैका लागि फेरि उसैका लागि पत्नि वियोग शोक साहित्यका नायक तर यतातिर थलिएका देवकोटाको आठ महिना तलब रोकियो !!!”
कुरा जेसुकै भएपनि तत्कालीन राज्यशासनले देवकोटाको अद्वितीय प्रतिभालाई समयमै चिन्न नसकेको वा चिनेर पनि उपेक्षा भाव राखेको हो कि भन्ने शङ्कालाई ठाउँ दिने प्रशस्त आधारहरू छन् । विशेष समारोहको आयोजना गरेर राज्यले उनलाई महाकवि भनेन । उनका कृतिहरू पढेर भाव विभोर हुँदै पाठकहरूले आ-आफ्नो हृदयको मञ्चबाट नै देवकोटालाई ‘महाकवि’ घोषणा गरे । राज्यले कोटा सिर्जना गरेर गर्ने महाकवि पदवीभन्दा धेरै ठूलो ‘महाकवि’ पदवी उनले प्राप्त गरे ।
यस हिसावले व्याख्या गर्दा नेपाली जनता बुद्धिजीवी र साहित्यकारहरूले देवकोटालाई अति श्रद्धा र सम्मान स्वरूप प्रदान गरिएको उपहार वा पुरस्कार महाकवि पद हो भन्न सकिन्छ । सत्य तथ्यको खोजीमा आइपर्ने मुख्य बाधक तत्व भननेको प्रचलित विश्वासलाई त्यान सक्ने अयोग्यता नै हो । देवकोटाको बारेमा धेरै मिथकहरू चलेका छन् । जस्तो कि उनी साह्रै गरिब थिए, जुवाडे थिए, लहडी र सनकी थिए आदि आदि । यति सम्म भन्न सकिन्छ उनको घर र आय व्यय व्यवस्थित अलि थिएन । उनको भाइ मधुसुदन रक्स्याहा थिए । रक्सी खान सुरू गरेपछि थपाथप भइरहन्थ्यो, चुरोट खानेमा दाजुभन्दा कम थिएनन् । फरक यति थियो दाजुलाई जुनसुकै चुरोट चल्थ्यो, तर भाइ मधुसुदनलाई क्राइभेन नै चाहिन्थ्यो । त्यसमा सुधारको खाँचो थियो । उनी (लक्ष्मी प्र.) अर्थशास्त्री तथा वाणिज्य वेत्ता थिएनन् । तलब बुझेका दिन रमाइलोको निमित्त मिठाइ खाने र खुवाउने आदत थियो । सहयोग सहायता नभएको व्यक्तिलाई उनी हृदयबाट नै सेवा गर्दथे । कवि भिमनिधि तिवारीको “काम्यो लुग लुग त्यो गरिब विचरा त्यस्मा दया गर्छ को” भन्ने प्रश्नको मानों समस्या समाान गर्न नै उनी जन्मिएका थिए । त्यस्ता विचरा देख्दा देवकोटा आफूले लगाइराखेको कोट फुकालेर दिन्थे, अथवा खल्तिमा भएको सबै रुपियाँ पैसा दिन्थे, अनि घरमा पुगेर गाली खान्थे । यस्ता कथ्यौरीहरू धेरै छन् ।
कतिपय यस्ता किस्साहरू सत्य भएपनि चनाखो हुनुपर्ने कुरा चाहिँ के हो भने यस्ता प्रचलित विश्वासहरूले सीमाहरूलाई रेखाङ्कन गर्न खोज्छन्, सोध खोजलाई गहन बनाउने प्रयासमा आत्मरति प्रदान गरर बाधक बन्न सक्छन् । तसर्थ देवकोटाको जीवनीको बारेमा होस् वा कृतिहरूको अनुसन्धान र समिक्षा गर्दा यस्तो कुरामा चनाखो हुनैपर्छ । कतिलाई देवकोटाले ‘महाकवि’ पदवी कसरी प्राप्त गरे भन्ने विषय गौण लाग्न सक्छ । यसले उजागर गर्न खोजेको सवल पक्ष प्रति चाहिँ आँखा चिम्लन मिल्दैन । त्यो पक्ष के हो भने अनुसन्धानको सिंढीमा देवकोटा अझै तल छन् ।
शनिबार, गोरखापत्र
श्रावण ८, २०६७
