Skip to content


प्रशान्त महासागरका बलिष्ठ छालहरूलाई चिर्दै एउटा पानीजहाज उत्तर दिशातर्फ बढिरहेको थियो । जहाजको अग्रभागमा बसेर टाढाटाढाका दृश्यहरूलाई एक जापानी क्याप्टेनले ध्यानपूर्वक हेररिहेका बेला ऊ एक्कासि चिच्याउन थाल्यो, “सावधान ! तुफान आउँदैछ ।”

जहाजभित्र खैलाबैला मच्चियो । सबैले आकाशतर्फ दृष्टि दिए । आधा घन्टाभित्रमै त्यस तुफानले जहाजलाई आफ्नो चपेटामा लिन सक्छ भन्ने अड्कल सबैले काटे । क्याप्टेनले दूरवीक्षणको सहायताले चारैतिर गौर गरेर हेर्न थाल्यो । पूर्व दिशामा एउटा टापु देखिएकाले सोही टापुतर्फ जहाजलाई सुरक्षार्थ क्याप्टेनले मोडिदियो ।

त्यसबेला उठेका छालहरूले जहाजलाई नराम्रोसँग चाकाचुली खेलाइरहेको थियो । मानौँ, आँधीले आफू त्यस ठाउँमा पुग्नुअगावै आफ्ना केही भत्खौरेहरूलाई पठाएको हो । क्याप्टेन र जहाजका कर्मचारीहरू त्रस्त थिए । परन्तु त्यसै जहाजको एक कर्मचारी हेमन्तकलाई भने त्यस्ता भत्खौरे छालहरूले केही असर गर्न सकेको थिएन । ऊ एक साहसी युवक भएकाले परपर नजर दौडाउँदै डाल्फिनका उछलकुद नृत्यलाई हेररिहेको थियो ।

तुफान आइपुग्नुभन्दा पहिले नै जहाज त्यस अज्ञात टापुमा पुगी किनार लाग्यो । उत्तर-पश्चिम कोणमा तेजिलो धर्के प्रकाशलाई उगेल्दै तुफानले डरलाग्दो सङ्केत दिइरहेको हँुदा जहाजका सबै कर्मचारीहरू तुफानबाट जोगिन टापुको एउटा गुफाजस्तो ठाउँमा आश्रय लिन पुगे । परन्तु हेमन्तकचाहिँ एक्लै यताउता घुम्न थाल्यो । जहाजबाट हेर्दा टापु जति सानो देखिएको थियो, वास्तवमा त्यति सानो होइन रहेछ । टापु निकै ठूलो क्षेत्रफलमा फैलिएको थियो ।

तुफान थामिएपछि मात्र जहाज होस्लाङ बन्दरगाहतर्फ बढ्ने भएकाले हेमन्तकलाई घुमफिर गर्न प्रशस्त समय प्राप्त भयो । त्यसैले ऊ साथीहरूलाई त्यहीँ छोडेर निकै पर पुग्यो । ऊ निरन्तर अघि बढिरहेका बेला एउटा विशाल खडा चट्टाने पहाडले उसको मार्गलाई छेकिदियो । मानौँ, ‘अब उसको गन्तव्य यहीँ समाप्त भएको हो ।’ त्यसैबेला केही घना वृक्षहरूले घेरएिको एक स्थानमा हत्तपत्त कसैको नजर नपुग्ने गरी अति सुन्दर र कलात्मक ढंगले बन्ााइएको एक व्यक्ति मात्र प्रवेश गर्न सक्ने सुरुङद्वारमा उसको नजर पुग्यो । कौतुहलवश भनौँ या अज्ञात आकर्षणले तानिएर हो त्यसै सुरुङभित्र उसका पाइलाहरू अघि बढे । करबि आधा घन्टापछि सुरुङ मार्गलाई छिचोल्दा ऊ यस्तो ठाउँमा पुग्यो कि त्यहाँको दृश्य देखेर चकित भयो ।

“यहाँ त मानव बस्ती पो रहेछ । कस्तो रमणीय ठाउँ,” हेमन्तक खुसी हुँदै बर्बरायो । वास्तवमा जताततै रङबिरङका फूलहरू, कतै मनोहर बगैँचा, पातलो बस्ती, सफा अनि सुकसुकाउँदो सडक, जे हेर्यो उही राम्रो । हेमन्तक दंग परेर एकोहोरो अघि बढिरहेको थियो । उसलाई जहाजतर्फ फर्किन पटक्कै मन लागेन ।

हेमन्तकले आकाशतर्फ हेर्यो । बादल त छाँटिँदै पो रहेछ । आँधी आउने लक्षण पूरै हराउँदै गयो । साँझ परसिकेकाले ताराहरू प्रस्िटँदै थिए । चन्द्रमालाई छिटफुट बादलका टुक्राहरूले घरी कप्लक्कै निल्थे भने घरी हुलुक्कै उगेली दिन्थे । पर समुद्रमा अघि आफूले छोडेको पानीजहाजको ध्वान्द्रे सिठ्ठीको स्वर सुनियो । सायद त्यस आवाजले हेमन्तकलाई बोलाइरहेको हो । त्यो आवाज बारम्बार आइरहेको थियो अनि केहीबेरपछि हार खाएझैँ गरी विस्तारै टाढिदै पनि गयो । हेमन्तकले त्यसतर्फ कुनै ध्यानै दिएन । मानौँ, अबउप्रान्तदेखि उसको स्थायी ठेगाना यसै भूमिबाट चिनिने छ ।

रमणीय स्थलहरूमा घुम्दाघुम्दै हेमन्तकलाई समय बितेको पत्तै भएन । भोक, प्यास र थकाइले उसलाई सताउन थालेकाले ऊ एउटा मनोहर आवास गृहमा पुगी ढोकामा ढक्ढक्यायो ।

“कसलाई खोज्नु भयो ?” एउटी सुन्दर युवतीले ढोका खोल्दै प्रश्न गरी ।

युवतीको मधुर वाणी अनि बान्की परेको सौन्दर्यलाई देखेर हेमन्तक ट्वाल्ल पर्यो । उसले यस निर्जन टापुमा आफ्नो मातृभाषा सुन्न पाएकाले ऊ दंग पर्यो । हेमन्तक ट्वाल्लिएको देखेर युवतीले पुनः उही प्रश्न गरी, “कसलाई खोज्नुभयो ?”

आफूलाई सम्हाल्दै हेमन्तकले प्रतिप्रश्न गर्यो, “के तपाईं नेपाली हो ?”

“होइन नि ! म त ऋजुयन हँु,” युवतीले छोटो जवाफ दिई ।

“अनि तपाईं नेपाली भाषा बोल्नुहुँदै छ त !” हेमन्तकले पुनः प्रश्न गर्यो ।

“हो र ? हामी त यही भाषा बोल्छौँ,” युवतीले आफ्नो गालामा खोपिल्टा पर्ने गरी हाँसिदिई ।

“तपाईंको नाम ?”

“मारिया ऋजु ।”

“यो कुन ठाउँ हो ?”

“यो देशको नाम ऋजु हो ।”

“तपाईं विवाहिता हो ?” मारियाको घाँटीमा पोतेजस्तो केही पदार्थको माला देखेर हेमन्तकले प्रश्न गर्यो ।

हेमन्तकको प्रश्न सुनेर ‘के हो विवाहिता भनेको ?’ भन्दै मारिया पुनः मरीमरी हाँस्न थाली । उसले ‘विवाहिता’ भन्ने शब्दको अर्थ र आशय नबुझेकी त होइन तथापि उसको देशमा विवाहको चलन पाँच सय वर्ष पहिले नै हराइसकेको हुनाले ‘विवाह’ भन्न्ो शब्दको प्रयोग नै त्यस ठाउँमा हुन छाडिसकेको थियो ।

मारियासँग धेरै कुरा गर्ने इच्छा हुँदाहुँदै पनि हेमन्तकलाई भोक, प्यास अनि थकाइले लखतरान पारेकाले कुराको प्रसंगलाई बदलेर उसले गाँस र बासको कुरालाई अगाडि सारििदयो । मारियाले उसलाई घरभित्र आउने इसारा गरी । हेमन्तक मारियाको पछि लाग्यो । एउटा कोठामा हेमन्तकलाई बसाइदिएर मारियाले भोजनका अनेक सामग्रीहरू हेमन्तकका अगाडि बडो श्रद्धाका साथ राखिदिई ।

हेमन्तक खाना खाइरहेको थियो, मारिया उसैको छेउमा बसेर भन्न थाली, “तपाईंले बोलेको भाषा र हाम्रो यहाँको भाषा एउटै हुनुको एक कारण छ । आजभन्दा करबि हजार वर्ष पहिले नेपालबाट केही परविारहरू साह्रै दुःख पाएर यस टापुमा आई बसोबास गरेका थिए । उनीहरू यस ठाउँमा आउँदा यो टापु बिल्कुल मानवविहीन थियो । उनीहरूले नै यो टापुलाई हराभरा बनाए । रहँदा-बस्दा क्रमिक रूपले बस्तीहरू बढ्दै गए । एक राज्यको स्थापना भयो । पुर्खा थलोको भाषा अनि उतैको रीतिरविाज र कानुनले नै यहाँ पनि स्थान पायो । सती जाने प्रथाले यहाँ पनि पिछा छोडेन । नारीहरूको त्यसबेलाको बिजोगको के बयान गर्नु ? त्यसमाथि पनि स-साना नानीहरू टुहुरा हुँदा ती टुहुराहरूको लालनपालनमा कसले राम्रो ध्यान दिने ? उनीहरूको दुःख र पीडा अक्षरमा दुरुस्त रूपान्तर गर्न कसैको सामथ्र्य थिएन । त्यसैले सती प्रथा हटाउनका लागि नारीहरूले करबि पाँच सय वर्ष पहिले ठूलो संघर्ष गरे । आखिर त्यसै संघर्षले यहाँको नियम र कानुनलाई आमूल परविर्तन गर्यो । यहाँका सबै नागरकिहरू एकै ठाउँमा भेला भई एक नयाँ व्यवस्थाको रूपरेखा तयार पारे । त्यस अनुसार किन कसैको सती जानका लागि उल्टै अर्काकी कमारी हुनु भन्ने सोच राखी यो विवाहको प्रथा नै हटाइदिएको हो । हुन त सती प्रथामा मात्र रोक लगाउँदा त हुने थियो तर नारी अत्याचार र घरेलु हिंसाको मूल जरो नै विवाह भएकाले त्यस मूल जरोलाई नै उखेलेर फ्याँकिदिन सबैको सहमति भयो । अहिले हामी नारीहरू कुनै पुरुषबाट प्रताडित छैनौँ । ढुक्कमा छौँ अनि आनन्द । हामी जुन पुरुषसँग सहवास गर्न रुचाउँछौँ, निस्िफक्री प्रकृतिको नियममा रमाउँदै उसैसँग सम्बन्ध पनि बढाउने गछौं । त्यो सम्बन्ध गर्भधारणको अवधिसम्म मात्र कायम हुने गर्छ । जुन महिलालाई सन्तानको इच्छा हुन्छ, हाम्रो देशको नयाँ कानुन अनुसार सरकारी निकायमा गएर म सन्तान उत्पादनका लागि इच्छुक छु, स्वीकृत गरपिाउँ भनी निवेदन दिनुपर्छ । त्यसपछि यहाँको सरकारले देशमा मृत्युदर कति भयो भनी पहिले मृत्युदर हेर्छ र सोही अनुसार निवेदनहरूलाई क्रमिक रूपले स्वीकृति दिँदै जान्छ । यदि कुनै महिलाले सरकारी कोटाबाहेक बिनास्वीकृति गर्भधारण गरी भने उसले कि त गर्भपतन गर्नुपर्यो या सरकारबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपर्यो । मारिया एकोहोरो बोलिरहेकी थिई । हेमन्तक खाना खाँदै बडो रोचकताका साथ उसको कुरा सुनिरहेको थियो ।

मारिया भन्दै थिई, यही नियमले गर्दा हाम्रो देशमा करबि एक सय वर्षदेखि अहिलेसम्म ५० लाख जनसंख्या कायमका कायमै रहेको छ । मैले पनि एक महिनाअगावै निवेदन दिएकी थिएँ, आजै स्वीकृत पनि भयो । तर, मैले कुनै पुरुषलाई अहिले छानेकी छैन । यहाँ जति बच्चाहरू पैदा हुन्छन्, ती सबैको थरचाहिँ ऋजु हुने गर्छ । आमा र बच्चाको सम्पूर्ण लालनपालन, पढाइ आदिको खर्च सरकारले नै उपलब्ध गराउँछ । विवाहको प्रथा हटाएकाले हाम्रो देशमा छुवाछूत र जातिवादको विषालु हावा कहिल्यै बहँदैन । तपाईंलाई यस देशको नियम, चलन नै थाहा रहेनछ । यसबाट तपाईं विदेशी हुनुहुँदो रहेछ भन्ने कुरा मैले सहजै अनुमान लगाएँ । हाम्रो देशमा विदेशीलाई इजाजतबिना बिल्कुलै प्रवेश निषेध गरेको छ । तपाईं यहाँ कसरी आउनुभयो, मलाई थाहा छैन । जेहोस्, यदि तपाईं साँच्चै नै इजाजतबिना यो देशमा आउनुभएको हो भने भोलि घाम झुल्किनु भन्दा पहिले नै यो देश छोडेर आफ्नो बाटो लागिहाल्नूस् । नत्र यहाँको प्रहरीले देख्यो भने तपाईंलाई कठोर सजाय दिनेछ । मृत्युदण्ड पनि हुनसक्छ ।

मारिया ऋजुको कुरो सुनेर हेमन्तक त्रस्त भयो । बित्थामा अघि पानीजहाजलाई छोडेछु भनी उसले पछुतो मान्यो । अब जहाज पनि त्यस ठाउँमा छैन होला ? कसरी आफ्नो देश र्फकनु ? भन्दै ऊ अन्योलमा पर्यो ।

“म यही ऋजु देशको नागरकि भएर बस्छु हुन्न र ?” हेमन्तकले एक प्रस्ताव राख्यो ।

“यो त साह्रै असम्भव कुरा हो । यहाँ विदेशीलाई कुनै स्थान छैन । एक विदेशीलाई यहाँको नागरकि बनायो भने उसले आफ्नो देशको अनेक कुप्रथाहरू यहाँ फैलाउन सक्छ । त्यसमाथि पनि अर्को एक प्रमुख कारण के हो भने, एक ऋजुयन नारीको मातृ हक हनन हुन जान्छ । त्यसैले यो सम्भव हुन सक्दैन ।

भोलिपल्ट बिहानै हेमन्तक सडकमा पक्राउ पर्यो । ऊ इजाजतबिना ऋजु देशमा प्रवेश गरेको अभियोगमा उसको गर्धन छिनाइदिने आदेश भयो । सजाय सुन्नेबित्तिकै हेमन्तक रोयो, करायो । ‘हामी एकै भाषी हौँ’ भनी भाषाको आड लिन खोज्यो । तर, दयावाद, नातावाद अनि भ्रष्टाचारले देशको नियम र कानुनलाई फितलो बनाउँछ भन्दै हेमन्तकलाई चौबाटोमा घोप्टो पारी एक बलिष्ट व्यक्तिले घाँटी छिनाउन खुकुरी उज्याउँदै भन्यो, “अब तँ सार्क माछाको आहारा हुनुभन्दा एक मिनेट अगावै आफ्नो इष्टदेवलाई स्मरण गर ।”

हेमन्तकले त्यसबेला इष्टदेवको स्मरण गर्नुको साटो पहिले आफैँले लाखौँ गैरनागरकिहरूलाई केही पैसाको लोभले धमाधम नागरकिता वितरण गरेको सम्झन थाल्यो । उसले सोच्यो, “सायद यही पापले होला आज मैले यो दुर्गति भोग्नुपर्यो ।”

मनमा उत्पन्न भएको ग्लानिले उसले आफ्नो कुलदेवताको पनि स्मरण गर्न नसक्ता आवेशमा आई ऊ एकाएक जोडसँग चिच्यायो, “छिटो छिना मेरो गर्दन ।”

हेमन्तक जोडसँग कराएको सुनी रेखाले ‘के भयो ?’ भन्दै उसलाई घच्घच्याउन थाली । हेमन्तको आँखा खुल्यो । उसले डरलाग्दो सपना देखेको कुरा आफ्नी श्रीमती रेखालाई बेलिविस्तार सुनायो ।

बिहानको १० बज्यो । अफिस जानलाई हेमन्तक घरबाहिर गेटमा पुगेको मात्र के थियो, रेखाले झ्यालबाट कराउँदै भनी, “ओ हाकिम साहेब!कुनै निर्णय गरेर देशलाई खाडलतर्फ धकेल्नुभन्दा पहिले रातीको सपनालाई स्मरण गर्नुहोला ।” हेमन्तक सरासर कार्यालयतर्फ लाग्यो ।

नेपाल साप्ताहिक ३९०

1 thought on “ऋजुयन”

  1. It is a new concept having
    It is a new concept having society without marriage system for gender equality. It is also an excellent theory for population balance. Congratulation for these innovative ideas.
    Jiwan

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *