जब खहरेले मलाई तिम्रो बारेमा साउती गर्दै केही सुनाए म जाबो पत्थरको के मुटु हुन्छ ? भनी पन्छिए,जब लतिकाले हौसिदै तिम्रो व्याख्या गर्न लागे म आँफै ‘म पत्थरको देबता होइन भन्दै दीप श्रेष्ठसँग गुनगुनाए’ जब मेरा खुट्टाका औलाहरु पत्थरसँग साक्षात्कार भए अनि बगेको रक्तको प्रभाव नगरी म पत्थरसँग बात गर्न लागे ।
मेरो आड,
मेरो भरोसा,
मेरो अस्तित्वले
जगत छ,तिम्रो जीवन छ,
फगत्
कहिले देबता भई तिम्रो शिरमा हुन्छु ।
कहिले तुच्छ पत्थर भई भिरमा हुन्छु ।।
आलिगन र बरखिलाफको दोधारमा हुन्छु ।।।
तैपनी,चुपचाप । म पत्थर ।।
तनसँग,
मनसँग,
जीवनसँग खेल्यौ
अनुमती र सहमतीको कुनै प्रवाह गरेनौ,
खाली
तिम्रो अस्तित्व राख्न म मुर्ती भए ।
तिम्रो प्रमाण थेग्न म शिला भए ।।
तिम्रो रक्षा गर्न म किल्ला भए ।।।
तैपनी,चुपचाप । म पत्थर ।।
अगेनु,
आगन,
गल्लीमा राखिए
तिम्रो निम्ती म जताततै टालिए,
कहिले म पारसमणी भई तिम्रो मनोकाक्षा बनिए ।
कहिले म हिरा मोती भई तिम्रो शरीरमा सजिए ।।
कहिले म टुटी फुटी भई तिम्रो सडकमा रङिए ।।।
तैपनी,चुपचाप । म पत्थर ।।
सोचे,
सम्झे,
मनन गरे ।
हामी नेपाली र पत्थरमा समानता
नापे,
लिए
तराजुमा राखे
उस्तै/दुरुस्तै
हेर्दा हेदै पत्थर बम्किए
सहकार्य,
सहमती,
सन्तुलन बिगारेर,
हिजो जनतालाई गरेको वाचा नभुल,
यदि
म पत्थर एक्लिए भने केको आडमा बाचिन्छ ।
म पत्थर टुक्रिए भने केको आडमा नाचिन्छ ।।
म पत्थर पग्लिए भने केको आडमा बसिन्छ ।।।
पत्थरले पिडाहरुका अर्धनाद सुनाए ।
पत्थरले चोटहरुका बेलिबिस्तार लगाए ।।
पत्थरले भाचिएका शरीर र दुखेको मुटु देखाए ।।।
यस पटक पत्थर निरन्तर बोलिरह्यो । म चुपचाप ।।
।। चेतना भया ।।
रचनाकाल २०६७।०४।२०
