फाटेको टोपी कस्नेदेखि सुट-बुट र टाईले घाँटी कस्ने सबैका मुखमा ठूलो चर्चा पाएको थियो आन्दोलनले, लोकतन्त्रले अनि गणतन्त्रले पनि । दाउरा चिरे सरि टाउको फुटेको झल्झली देखेको गाउँले राजु जो भर्खर १० बर्सको हुँदो हो, उसले पनि मच्ची मच्चीइ गफ छुट्थ्यो हजुरआमा सामु नयाँ संरचनाको बारेमा ।
यस्तैमा एकदिन हजुरआमा उसकै लागि मकै भुट्दै थिइन् । ऊ नजिकै गयो र भन्यो-हजुरआमा तपाइलाई थाहा छ लोकतन्त्र आयो रे …गणतन्त्र पनि आयो रे । दिनरात मेलापात,घाँस-दाउरा र ढिकी जातोमा जोतीइरहने ती राजनीतिको ‘र’ नबुझ्ने सत्तरी बर्सिय बुढियालाई जो सुकै आएपनि के नै लछारपाटो लाउथे र..! अनि के थाहा त्यस्ता कुरा ?
बुढीले चनाखो भएर नातीतर्फ फर्केर आखाँ तर्दै भनिन – त्यो जाबो जड्याहा लोके आएपनि के नआए पनि के ? दिनरात जांड धोकेर दुनियाँलाई दुख दिन्छ, अघि भर्खर तल चोक बजारमा जांड खाएर मात्तिदै थ्यो रे । अनि त्यो गने विदेश गो भन्या हैन र ? किन आउन पर्यो होला झिटी झाम्टा बेचेर विदेश गको मान्छे ?
बिचरा राजु भने रल्ल परेर हजुरआमाको मुखमा एकोहोरो हेरिरहन्छ र मनमनै सोच्छ – लोकतन्त्र अनि गणतन्त्र अझै पनि शहर तिरै रैछ क्यार ! गाउँमा आएको भए त मेरी हजुरआमालाई पनि थाहा हुन्थ्यो होलानी, हैन र….?
