Skip to content


तिम्रो बमभन्दा धेरै संहारक छ
मेरो कविताको शक्ति
यसको निशाना अचुक छ
यसले ताकेको गोलीले
सीधा शत्रुको छाती भेदन गर्छ
जिउँदाहरूको हड्डी
रगत, पसिना र आँसुले निर्मित
तिम्रो शोषणको महलमा
यसले धावा बोल्छ
र देख्दादेख्दै
एकैछिनमा
तिम्रा विशाल पिरामिडहरू गर्ल्याम्म ढल्छन्
बाँकी रहन्छ मात्र भग्नावशेष ।
तिम्रो तोपभन्दा धेरै दुरगामी
र द्रुतगामी छ
मेरो कविताको मारक शक्ति
तिम्रो तोपले विनष्टि सिवाय
केही दिन सक्दैन
खेतमा लहलह बाली फलाउन सक्दैन
बुभुक्षा मेटाउन सक्दैन
तृष्णा तृप्त पार्न सक्दैन
बालकहरूको ओंठको खोसिएको मुस्कान
फिर्ता दिन सक्दैन
मात्र सिउँदाहरूको सिन्दुरको अपहरण
मेरो लेखनीले दिन्छ प्रेरणा
जीवन बाँच्ने
बाल्छ उत्साह र उमङ्गको ज्योति
कहिलै ननिभ्ने ।

महालक्ष्मीस्थान, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *