Skip to content


नेपाली कविताका फाँटमा तीर्थराज अधिकारी आफ्नो ‘सपनामा हराएको विपना’ कवितासङ्ग्रह लिएर देखापरेका छन् । २०३५ सालको ‘गोरखापत्र’ दैनिक पत्रिकामा ‘मेरो प्यारो देश’ शीर्षकको कविता प्रकाशित भएपछि नेपाली कविताका क्षेत्रमा सार्वजनिकरूपमा देखापरेका अधिकारीका थुप्रै कविताहरू फुटकररूपमा दैनिक तथा मासिक पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् तापनि प्रथम प्रकाशित कवितासङ्ग्रह भने ‘सपनामा हराएको बिपना’ नै हो । प्रस्तुत काव्यकृतिमा २०४० सालदेखि २०६६ सालसम्ममा रचित र विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गरी जम्मा ३७ वटा कविताहरू सङ्कलित छन् ।

मन्दाक्रान्ता, अनुष्टुप, वंशस्थ, उपजाति, वसन्ततिलका, शिखरिणी, शार्दूलविक्रीडित जस्ता सातवटा शास्त्रीय छन्दहरूको प्रयोग गरिएको प्रस्तुत कवितासङ्ग्रहमा दुई हरफे अनुष्टुप छन्दको नै बाहुल्य रहेको देखिन्छ । यसका ३७ मध्ये २३ वटा कविताहरू अनुष्टुप शार्दूलविक्रीडित र मन्दाक्रान्ता जस्ता दुईवटा छन्दहरूको प्रयोग गरिएको छ भने बाँकी सबै कवितामा एउटा एउटा छन्दको नै प्रयोग गरिएको छ । छन्द प्रयोगमा परिष्कारवादीपन वा अत्यन्त सजगता अपनाइएको देखिन्छ र सम्पूर्ण कविताहरू गेयात्मक बन्न पुगेका छन् ।

विभिन्न साहित्यिक, शैक्षिक एवम् सामाजिक सङ्घ-संस्थाहरूमा संलग्न रहेका अधिकारीको प्रस्तुत कवितासङ्ग्रहमा तिनको प्रभाव परेको देखिन्छ । यस सङ्ग्रहका कतिपय कविताहरूमा कविले राष्ट्रका श्रद्धेय अग्रज सर्जकहरू, वीरहरू तथा देशभक्तहरूप्रति श्रद्धा अर्पण गरेका छन् भने कतिपय कविताहरूमा वर्तमान राजनीतिक तथा सामाजिक सन्दर्भमा देखापरेका विकृति र विसङ्गतिको चित्रण गर्दै त्यस्ता कुराप्रति तीब्र व्यङ्ग्य गरेका छन् । त्यस्तै, कतिपय कविताहरूमा प्रकृतिको सुन्दरताको चित्रण गरिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् । देश तथा विदेशका राजनीतिक परिस्थितिहरू प्रत्यक्ष देखेका र भोगेका अधिकारीको कवि हृदयलाई यी विविध सन्दर्भहरूले निकै प्रभाव पारेको छ र त्यही प्रभावको चित्रण सङ्ग्रहका कवितामा गरिएको छ । यसमा नेपालको विगत र वर्तमानको राजनीतिक द्वन्द्व, स्वार्थी प्रवृत्ति, सत्तालिप्सा आदिले सिर्जना गरेको उतारचढाव र विसङ्गत परिस्थितिले नेपालीहरूको दैनिक जीवनमा पारेको प्रभाव, विस्थापित र दोहोरो चेपुवामा परेका व्यक्तिहरू, तिनका भोगाई र मानसिक छट्पटाहट, वर्तमानका मान्छेमा दया, माया र मानवीयता नै हराउँदै गएको देखेर र भोगेर कविको मन थामिन नसकी कविताका माध्यमबाट व्यक्त भएको देखिन्छ ।

यिनै सामाजिक, राजनीतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा देखिएको विकृति, विसङ्गति र विषम परिस्थितिका कारण कविका सपना बिपनामा परिणत हुनुको सट्टा बिपना नै सपनामा हराउन पुगेका छन् । यति हुँदाहुँदै पनि भविष्यमा विषमताको अन्त्य हुने र समतामूलक समाजको स्थापना हुने झिनो आशा भने कविले गरेका छन् ।

समसामयिक विषयवस्तुलाई सरल तथा सहज भाषाशैलीमा प्रस्तुत गरिएको यस सङ्ग्रहमा छन्द प्रयोगमा परिष्कृति तथा विविध अलङ्कार, प्रतीक आदिको प्रयोगसमेत विशिष्ट किसिमले गरिएकाले कृति परिष्कृत र विशिष्ट बन्न पुगेको छ ।

कृति ः सपनामा हराएको बिपना (कवितासङ्ग्रह)
कवि ः तीर्थराज अधिकारी
प्रकाशक ः कृष्णमनोरथ प्रतिष्ठान नेपाल, काठमाडौं
प्रकाशन ः २०६६ कात्तिक
पृष्ठ ः ३२- ६०
मूल्य ः रु. १००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *