Skip to content


के मिलेन के मिलेन !
जन्मिएदेखि नै लोकतन्त्र
सिकिस्त छ ।

कोही भन्छन् ः
भ्रूणको बीजारोपण गलत प्रक्रियाबाट भयो ।
कोही भन्छन् ः
ऊ यस देशका लागि अफापसिद्ध भयो ।
तर, मलाई लाग्छ ः
यसका जन्मदाताको मानसिकता नै रोगी छ ।

पत्रिका ओछ्याएर
पत्रिकाकै खास्टो ओढेर
रात बिताएका क्षणहरू
निदाउन नसक्दा
एक पेग घुट्क्याएर सुत्नु
र, भोलिपल्ट आँखा मिच्दै
पत्रिकाका पाना भर्नु
आन्दोलनका खबर लेख्नु
लोकतन्त्र जन्माउनकै निम्ति
हाम्रो पवित्र प्रयास थियो ।

तर, अहिले लोकतन्त्र बिरामी छ
यो बिरामी हुनुमा दोष कसको ?
कहिले दिल्ली त कहिले बेइजिङ्
अनि, कहिले अमेरिका त कहिले को
अर्काको टाउकोमा भारी बिसाएर
अर्काको थाप्लोमा दोष खन्याएर
निरन्तर लोकतन्त्रलाई अपांग पारिरहेछौँ हामी ।

हामीकहाँ जन्मिएनन् त्यस्ता हनुमान
जसले लक्ष्मण बचाउन सुमेरु बोके
फेरि जन्मेन कोही
आफ्नो देश बचाउन
आफ्नो अस्तित्व बचाउन
आफ्नो गौरव बचाउन
जन्मेनन् बलभद्र र भीमसेन थापा फेरि
पराधीन मानसिकताका भ्रूणहरू
खालि आफूलाई बचाउन
देशलाई जहिले पनि दाउमा लगाइरहे
पाण्डवहरूले द्रौपदीलाई दाउमा लगाएझैँ ।

तर, कोही कृष्ण जन्मेन
यो देशको अस्मिता बचाउन
रोगी लोकतन्त्रलाई सञ्जीवनी खुवाउन
कोही जन्मेन, कोही जन्मेन !

नेपाल साप्ताहिक ४०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *